• १५ चैत २०८०, बिहिबार

पाँच महिनापछिको वर्षाले दियो राहत

blog

काठमाडौँ उपत्यकामा आइतबार पाँच महिनापछि वर्षा भयो । पश्चिमी वायुको प्रभावका कारण उपत्यकालगायत पहाडी भेगमा मौसम बदली भई हिउँदे वर्षा भएको हो । तस्बिर:केशब गुरुङ

काठमाडौँ, फागुन १५ गते । हिउँदे याम सकिनु एक दिनअघि काठमाडौँमा वर्षा भएको छ । असोजमा दशैँलगत्तै बाहिरिएको मनसुनपछि यहाँ वर्षा भएको थिएन । झन्डै पाँच महिनापछि काठमाडौँ उपत्यकामा मेघ गर्जनसहित असिनापानी पारेको हो । तर ठूलो वर्षा नभई खाल्डोमा हल्का र डाँडातिर मध्यम स्तरको वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उपत्यकासँगै बागमती प्रदेशका अन्य जिल्ला र गण्डकी प्रदेशका भूभागमा आइतबार वर्षा भएको छ । पूर्वी हिमाली जिल्लामा पनि वर्षासहित हिमपात भएको छ । वर्षा भएसँगै प्रदूषित वातावरणबाट उपत्यकावासीले केही राहत पाएका छन् । शनिबारदेखि नै बदली सुरु भए पनि आइतबार अपराह्न मात्र वर्षा भयो । असिनासहितको वर्षाले खाली रहेका किसानका खेतबारी सिञ्चित भए । खुला स्थानमा लगाइएका हिउँदे खेतीमा भने असिनाले असर पारेको छ । 

अपराह्न केहीबेर भएको वर्षाको क्रम रातभर भने रहेन । सोमबार बागमती प्रदेशका पहाडी भेगमा फेरि बदली भई हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “रातमा खासै वर्षाको सम्भावना देखिएन तर सोमबार पहाडी भेगमा वर्षा हुँदा फेरि उपत्यका छुन सक्छ ।”

आइतबार उपत्यकामा देखिएको बदली विस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेको छ । पूर्वसम्म पुगेपछि फेरि देशव्यापी बदली भएर विभिन्न स्थानमा हल्कादेखि सामान्य वर्षा हुने सम्भावना रहेको उहाँले बताउनुभयो । केही स्थानमा मेघ गर्जनसहित वर्षा पनि हुनेछ । उच्च पहाडी र हिमाली भेगमा अझै केही दिन हल्का हिमपातले निरन्तरता पाउने छ ।  पाँच महिनासम्म वर्षा नहुँदा खारिएको जमिन सुक्खा हुँदा आगलागी र वन डढेलोका घटना बढ्दो थियो ।  

आन्तरिक र बाह्य प्रदूषणले उपत्यकाको खाल्डो भरिँदै गर्दा यहाँको दैनिकी प्रभावित बनेको थियो । वायु प्रदूषणसँगै यहाँका ठूलासाना नदीमा बहाव कम हुँदा ढलमय बन्न पुगेको थियो । जसका कारण नदी आसपासका बस्तीमा दुर्गन्ध फैलिएको थियो । ढिला वर्षा त भयो र कम वर्षा भएकाले यसले हिउँदे वर्षाको सबै परिपूरण नगर्ने मौसमविद् बताउनुहुन्छ । यो वर्षा मात्र मनसुनपूर्वलाई निम्ता दिन मात्र आएको जस्तो भएको टिप्पणी मौसमविद्हरू गर्नुहुन्छ । हिउँदमा हुने अनुमान गरिएभन्दा निकै कम वर्षा भएको जानकारी जलवायु विश्लेषक इन्दिरा पौडेलले दिनुभयो । उहाँका अनुसार हिउँद केही न्यानो हुने अनुमान गरिए पनि वर्षा नभएरै जाने अनुमान गरिएको थिएन । 

नेपालमा मङ्सिर १५ पछि सुरु भएको हिउँद र त्यसअघिको मनसुनपछि दुई महिनाको समयमा कुनै वर्षा नहुनु मौसमी याममा नै बदलाव आएको अनुमान गरिएको छ । फागुन १५ सम्म हिउँदेयाम मानिए पनि वर्षाको क्रम भङ्गताले त्यो याम बिस्तारै पछाडि सर्दै गएको हो कि भन्ने अनुमान गर्न सकिने मौसमविद् मञ्जु बासी बताउनुहुन्छ । 

वर्षायाम पनि पछाडि सर्दै सेप्टेम्बरको अन्तिम साताबाट अक्टोबरको पहिलो सातामा सरेको छ । मनसुन सुरु हुने मिति पनि जुन ५ बाट पहिलेभन्दा पछाडि सर्दै जुन १० पछि पुगिसकेको छ । हिउँदे वर्षा यसरी ढिलो हुँदा आगामी मनसुन अझ पछाडि सर्ने सम्भावना बलियो बनेको छ । 

पोखरामा असिनापानी

पोखराबाट गोरखापत्रका रमेश पौडेलका अनुसार गण्डकी प्रदेशको पोखरालगायत विभिन्न स्थानमा असिनापानी परेको छ । यो हिउँदे वर्षाका कारण किसानलाई केही राहत पुगेको छ । असिनापानीले अन्नबाली तथा तथा फलफूल खेतीलाई भने क्षति पुगेको छ । 

केही समय धुवाँधुलोसँगै गर्मी बढ्न थालेकाले आइतबार परेको पानीले मौसम चिसो भएको छ । लामो समयपछि पानी परेका कारण धुमिल मौसम खुल्ने र सफा हुने अपेक्षा गरिएको छ ।