धनगढी समाचारदाता
धनगढी, असोज ३० गते । केही महिला, बालबालिका र पुरुषको बिहानैदेखि हुलाकी राजमार्ग किनारमा जमघट थियो । दुध राखिएको भाँडा साथमा लिएका उनीहरू कसैको पर्खाइमा थिए । टिरिङ टिरिङ साइकलको घन्टी बजाउँदै जब एक वयस्क व्यक्ति उनीहरू कहाँ पुगे । सबैले आआफूले बोकेर ल्याएको दुध पालैपालो उहाँको भाँडोमा खन्याउँदै विवरण टिपाए । बुधबार बिहान कैलालीको धनगढी उपमहानगरपालिका–७, कनरीमा देखिएको यो दृश्य स्थानीय गाईभैँसीपालक कृषकको थियो । साइकलको घन्टी बजाउँदै आउने व्यक्ति हुनुहुन्थ्यो, धनगढी उपमहानगरपालिका–१४, ‘डी’ गाउँका युवराज पाण्डेय ।
उक्त स्थानमा हरेक बिहानी यसरी नै किसानको जमघट हुने गर्छ । उनीहरू दुध सङ्कलक पाण्डेयलाई कुरेर बसेका हुन्छन् । पाको उमेरका देखिने पाण्डेयले किसानको दुध सङ्कलन गरी साइकलमै बोकेर धनगढीसम्म पु¥याउने कार्य गर्दै आउनुभएको छ । “यसरी मैले दुध बोक्दै गरेको २० वर्ष भइसक्यो,” उहाँले भन्नुभयो, “मैले दुध सङ्कलन गरेर बजारसम्म पु¥याउँदा उनीहरू (किसान) र मेरो दुवै पक्षको रोजीरोटी चलेको छ ।” दैनिक एक सय लिटर दुध साइकलमा बोकेर धनगढी बजारमा पु¥याउने गरेको पाण्डेयले बताउनुभयो । उहाँले किसानबाट आफूले गाईको दुध प्रतिलिटर ५५ र भैँसीको दुध प्रतिलिटर ६०/६५ का दरले सङ्कलन गरेर धनगढी बजारमा बिक्री गर्दै आउनुभएको छ । “धनगढीमा मैले प्रतिलिटर ८० रुपियाँमा दुध बिक्री गर्दै आएको छु,” उहाँले भन्नुभयो ।
पाण्डेयलाई दुध उपलब्ध गराउने व्यावसायिक गाईभैँसीपालक किसान होइनन् । आफैँले दुध खानका लागि पालेका गाईभैँसीको दुध उहाँलाई दिने गरेको उनीहरूको भनाइ छ ।
एउटा जर्सी गाई पालेका कनरीका नारदप्रसाद जोशीले बिहानको दुध पाण्डेयलाई बिक्री गर्ने र साँझको दुध आफ्ना बालबालिकालाई खुवाउने गरेको बताउनुभयो । दुध सङ्कलक पाण्डेय आफैँले एउटा भैँसी पाल्नुभएको छ । आफ्नो भैँसीको सहित अरू किसानका दुध सङ्कलन गरेर बजारसम्म पु¥याउने गरेको उहाँले बताउनुभयो । पाण्डेयले दुध सङ्कलन गरेर बजारसम्म पु¥याउने गरेपछि घर गुजाराका लागि गाईभैँसी पालेका किसानलाई सहज भएको छ । आफैँले दुध खानका लागि पालेको एउटा भैँसीको दुध उहाँलाई दिने गरेको धनगढी उपमहानगरपालिका–१२ का सन्तोष आग्रीले बताउनुभयो । “हामी व्यावसायिक रूपमा गाईभैँसी पालेका किसान होइनौँ,” उहाँले भन्नुभयो, “भएको बेलामात्रै उहाँ (पाण्डेय) लाई दुध उपलब्ध गराउने गरेका छौँ । उहाँले बोकेपछि दुई/चार लिटर दुध बिक्रीका लागि हामीलाई बजारै पुग्नु परेको छैन ।”