• ३० असोज २०८२, बिहिबार

हुम्लामा बढ्दै मौसमी फ्लुका बिरामी

blog

विद्यालयमा पुगेर मौसमी फ्लुका बिरामीहरुको उपचार गर्दै स्थास्थ्यकर्मीहरु । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, असोज ३० गते ।
दक्षिणी क्षेत्रको ताँजकोट गाउँपालिकाका ग्रामीण वस्तीमा मौसमी फ्लुका बिरामी बढेपछि स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर उपचार गर्न सुरु गरेका छन् ।

बस्तीमा मौसमी फ्लुका बिरामी बढेको खबर आउन थालेपछि गाउँपालिका स्वास्थ्य शाखाबाट स्वास्थ्यकर्मीको टोली औषधीसहित गाउँ पुगेका हुन् ।

ताँजाकोट गाउँपालिका–४ को सिरुपाटामा स्वास्थ्यकर्मीको टोलीले बिरामीको उपचार सुरु गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताउनुभयो । सो वस्तीमा धेरै बिरामी भएको जानकारी आएपछि शाखाबाट स्वास्थ्यकर्मीहरुको टोली औषधीसहित मङ्गलबार सिरुपाटा पुगेका हुन् ।

बिरामीहरुलाई ज्वरो आउने, रुघाखोकी लाग्ने, जीउ र टाउको दुःख्ने, श्वासप्रश्वासमा समस्या आउने गरेको थियो । बिरामीहरुको उपचारपछि औषधी वितरण गर्ने कार्य गरिएको उहाँले बताउनुभयो । दुई दिनमा ३० जना महिला र ३५ जना पुरुष गरी ६५ जना मौसमी फ्लुका बिरामीको उपचार गरिएको हो ।

त्यसैगरी, वडा नम्बर ५ को साँत्ती र ३ को रामा नैकलामा पनि फैलिएको र त्यहाँ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी परिचालन गरिएको पनि जानकारी उहाँले दिनुभयो । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक र महिलाहरुमा मौसमी फ्लु देखिएको छ । दसैाँन चिल्लो, पिरो, धुँवा धुलो पनि बढी भएका र चिसो मौसम पनि सुरु भएको कारण बिरामी बढी रहेको उहाँले बताउनुभयो । शाखाले मौसमी फ्लुका बिरामीहरु कुनै पनि वस्तीमा देखिएमा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था र शाखालाई जानकारी गराउन पनि सबैलाई आग्रह गरेको छ ।

मौसम परिवर्तन भएका कारण बिरामी बढ्ने हुँदा यसबाट जोगिन पनि शाखाले आग्रह गरेको छ । जिल्ला अस्पतालमा उपचारका लागि आउने मौसमी फ्लुका बिरामीहरु धेरै रहेको अस्पतलाकी बरिष्ठ अनमी सरिता बोहराले बताउनुभयो ।