बबई समाचारदाता
बबई (बर्दिया), असोज ३० गते । स्थानीय तहमा रहेका आधारभूत स्वास्थ्य केन्द्रहरू किशोरकिशोरीमैत्री बन्नुपर्ने परिकल्पना अनुरूप बर्दिया जिल्लामा पनि यस्तो सेवा घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ ।
गुलरिया नगरपालिकाले आफ्ना आधारभूत स्वास्थ्य केन्द्रलाई किशोरकिशोरीमैत्री बनाउन स्कुलमा अध्ययनरत किशोरकिशोरीलाई नै मूल्याङ्कनकर्ताका रूपमा प्रयोग गर्ने नयाँ अभ्यास सुरु गरेको छ । स्वास्थ्य संस्थाले दिने सेवाको वस्तुगत मूल्याङ्कनपछि मात्र ती केन्द्रलाई ‘किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था’ घोषणा गरिने छ ।
हालसालै गुलरिया नगरपालिका–७ मा रहेको हिमाली आधारभूत विद्यालय र वडा नं. ३ स्थित कृष्णसार आधारभूत विद्यालयका पाँच जना किशोरकिशोरीले वडा नं. ७ मा रहेको स्वास्थ्य केन्द्रको मूल्याङ्कन गरेका छन् । मूल्याङ्कनको पहिलो चरणमा देखिएका कमजोरी सुधार गर्दै दोस्रो चरणमा संस्था ‘अब्बल’ बनाउने लक्ष्यसहित किशोरकिशोरीलाई मूल्याङ्कनको जिम्मेवारी दिइएको हो ।
गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिवकुमार चौधरीका अनुसार आधारभूत आवश्यकता पूरा गरेरै स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री घोषणा गर्ने तयारी भइरहेको छ । कुल ४५ वटा मूल्याङ्कन मापदण्डमध्ये कम्तीमा १२ वटामा अनिवार्य रूपमा संस्था योग्य हुनुपर्ने छ ।
घोषणाका लागि स्वास्थ्य संस्थामा पानी, बिजुली, प्रतीक्षालय, हरियाली वातावरण, किशोरकिशोरीसँग अन्तक्रिया हुने स्थान र सेवा प्रदान गर्दा गोपनीयता कायम हुने व्यवस्था जस्ता पक्षलाई विशेष ध्यान दिइने छ । कृष्णसार विद्यालयकी छात्रा कृति निषादले विद्यालयमै अध्ययनरत किशोरकिशोरीलाई यति महत्वपूर्ण जिम्मेवारी दिइनु गर्वको कुरा भएको प्रतिक्रिया दिनुभयो । यसैबिच वडा नं. ७ का वडाध्यक्ष मनोजकुमार यादवले सङ्घीय सरकारको लक्ष्य अनुसार नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री बनाउन थुप्रै मापदण्ड पूरा गर्दै अघि बढिएको जानकारी दिनुभयो ।
कार्यक्रममा सहजीकरण गरिरहेको राधाकृष्ण थारू जनसेवा केन्द्रका सुपरभाइजर खिमा खत्रीले कोइका र प्लान नेपालको सहयोगमा बर्दियाका विभिन्न आधारभूत स्वास्थ्य केन्द्रलाई किशोरकिशोरीमैत्री बनाउन संस्थागत सुधारको काम भइरहेको बताउनुभयो ।