• ३० असोज २०८२, बिहिबार

फेरि त्रसित बन्दै भूकम्पपीडित

blog

भूकम्पले चर्किएकाबडिमालिका नगरपालिका ४ रिलाका देवबहादुर धामीको घर ।

शेरबहादुर सार्की
बाजुरा, असोज ३० गते ।
बाजुराका भूकम्प तथा बाढीपहिरोपीडित यति बेला फेरि त्रसित बन्दै गएका छन् । विगत दुई वर्षदेखि पटक–पटक जाने गरेको भूकम्पका कारण घर चर्किएर त्रसित बन्दै गरेका यहाँका स्थानीय बुधबार राति गएको भूकम्पले घर हल्लिएपछि उनीहरु फेरि त्रसित बनेका हुन् ।

विसं. २०८० वैशाख ५ गते  र २०८१ को पुसम ६ गते बाजुराको जुगाडा र गोत्रीमा केन्द्र बिन्दु भएर गएको भूकम्पबाट यहाँ धेरै स्थानीय प्रभावित भएका थिए ।

यसरी पटक पटक जाने आउने गरेको साना–ठुला भूकम्पले यहाँका सयौभन्दा बढी घर चिराचिरा पर्नुका साथै दर्जनौ घर पूर्णरुपमा भत्किएका थिए ।

हिउँदको महिना यसरी भूकम्प जाने र बर्खाको समय बाढीपहिरोले बस्ती बगाउने गरेकाले यती बेला यहाँका स्थानीय कहाँ गएर बास बस्ने भन्ने चिन्ता छन् । घरमा बसौ भूकम्पले घर भत्काउछ की भन्ने डर बाहिर बसौ चिसोको डर हुने गरेको स्थानीयको बताउँछन् ।

बर्खाको समय बाढीपहिरो र हिउँद लागेसँगै भूकम्पले घर हल्लाउन थालेपछि अहिले कहाँ गएर बास बस्ने भन्ने निकै चिन्ता लागेको बडिमालिका नगरपालिका – ४ रिलाका  देवबहादुर धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला पनि भूकम्प आएको थियो । त्यति बेला घर हल्याएको मात्र थियो, चर्केको थिएन । गए राति फेरि गएको भूकम्पका कारण अहिले पूरै घर चर्किएको छ ।’’

चर्किएको घरमा बसौ भने फेरि भूकम्प आएर घर भत्किने हो की भन्ने डर । बाहिर बसौ चिलोले बिरामी हुन्छौ की भन्ने डर लाग्न थालेको धामीले बताउनुभयो ।

दुई वर्ष पहिला भूकम्पले घर भत्किएर त्रिपालमा बास गरेका हुनेहरुका लागि समेत घरबासको व्यवस्था भएको छैन । उनीहरु अहिले पनि त्रिपालको साहारामा बसोबास गर्दै आएका छन् ।  विगतका दुःख बिर्सिन नपाउँदै यती बेला फेरि भूकम्प आउन थालेपछि यहाँका स्थानीय निकै चिन्ति बनेका हुन् ।

गएरातिको भूकम्पले बडिमालिका नगरपालिकाको रिलामा मानवीय क्षति नभए पनि यहाँ चार घर चर्किएको बडिमालिका नगरपालिका –४ रिलाका अध्यक्ष अर्जुन नाथले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले हामीले गाउँमा प्राविधिक पठाएका छौँ । उहाँले त्यहाँ पुगेर के कस्तो रिपोर्ट ल्याउनु हुन्छ, त्यसैको आधारमा यहाँ कति घरमा क्षति भएको भन्ने यकिन तथ्याङ्क उपलब्ध हुन्छ । त्यसैको आधारमा भूकम्पले यती घर भत्किएको भन्ने जानकारी गर्छौ ।”

बुधबार रातिको भूकम्पले चर्किएका घर सबै माटो र ढुङ्गाले बनेका थिए । भूकम्पले ती घरमा नै ठुलो क्षति गरेको अध्यक्ष नाथले बताउनुभयो ।

२०८१ पुस ६ गते बाजुराको जगनाथ गाउँपालिका वडा नम्बर –५ को गोत्रीमा केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसबेला झण्डै १६ घर चर्किएका थिए ।

२०८० वैशाख १५ गते गएको भूकम्पले गौमुल हिमाली बडिमालिका बूढीगङ्गा खप्तड छेडेदह लगायतका गाउँपालिका गत माघ १० गते गएको भूकम्पका कारण १०४ पूर्ण ५०९ आंशिक र ४६३ वटा घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यहाँ गए राति गएको भूकम्पले भने अहिलेसम्म घर भत्किए भन्ने कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुखमा इकबाल हवारीले बताउनुभयो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार राति १ः०८ बजे चार दशमलव नौ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ ।