• ३० असोज २०८२, बिहिबार

‘ग्रेटर’ लुम्बिनीको अवधारणा

blog

रामग्राममा आयोजित सरोकारवालासँग छलफल कार्यक्रम । तस्बिर : पुरुषोत्तम सुवेदी

परासी समाचारदाता 

परासी, असोज ३० गते । बुद्धसँग सम्बन्धित क्षेत्रको एकीकृत विकासका लागि ग्रेटर लुम्बिनीको अवधारणा अगाडि सारिएको छ । विश्व बैङ्कको सहयोगमा सहरी विकास मन्त्रालयबाट तयारीको चरणमा रहेको बृहत् लुम्बिनी क्षेत्र विकास आयोजना (ग्रेटर लुम्बिनी एरिया डेभलपमेन्ट प्रोजेक्ट) ले पश्चिम नवलपरासीमा रहेका बुद्धसँग सम्बन्धित महत्वपूर्ण पुरातात्त्विक स्थलको विकासका लागि सरोकारवालासँग छलफल तथा परामर्श गरेको छ । 

मङ्गलबार रामग्राममा आयोजित कार्यक्रममा विश्व बैङ्क तथा नेपाल सहरी शासकीय र पूर्वाधार आयोजनाका विज्ञ र पदाधिकारीको उपस्थिति रहेको थियो । परामर्शमा पश्चिम नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा पहिचान भएका  बुद्धकालीन स्थललाई ग्रेटर लुम्बिनी आयोजनामा समेटेर एकीकृत विकास गर्ने विषयमा जोड दिइएको छ । परामर्शका क्रममा रामग्राम स्तूप केन्द्रविन्दु मानेर कोलीय गणराज्यका स्थलको विकास, ऐतिहासिक महत्वका अन्य स्थानको  विकास, संस्कृति अनुरूपको पूर्वाधार  पर्यटन विस्तारबारे आयोजनामा प्राथमिकता दिइने छ । 

रामग्राम स्तूप केन्द्रविन्दु भगवान् गौतम बुद्धको अष्टधातु रहेको रामग्राम–७ स्थित रामग्राम स्तूपको संरक्षण, प्रवर्धन र यसलाई अन्य बौद्ध स्थलसँग जोडेर बौद्ध परिपथ निर्माण गर्ने विषयमा विशेष ध्यान दिइने छ । कोलीय गणराज्यका स्थलको विकासका लागि बुद्धको मावली कोलीय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर), रामग्रामलगायतका स्थानको पुरातात्त्विक उत्खनन र सांस्कृतिक पुनरुत्थान गर्ने विषयमा छलफल भएको छ । सुनवल–७ मा रहेको उत्तरक नगर, सरावलमा रहेका प्राचीन ककरपत्त र सायुगा नगर, बर्दघाट–१२ मा रहेको बुद्धमङ्गल ताल, सुस्ता–५ मा रहेको महाभिनिष्क्रमण स्थल (अनोमा घाट), तथा प्रतापपुर–२ को बाउन्नगढी क्षेत्रको संरक्षण र पूर्वाधार विकास गर्ने विषयलाई आयोजनामा प्राथमिकता दिइने छ ।

संस्कृति अनुरूपको पूर्वाधार विषयक छलफलमा सहभागीले ठाउँ अनुसारको बुद्ध संस्कृतिको पुनरुत्थान गरिनुपर्ने र सोही संस्कृतिलाई झल्काउने किसिमको पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । पर्यटन विस्तारका लागि यी सबै स्थानलाई ग्रेटर लुम्बिनी आयोजनाले समेटेर विकास गरेमा लुम्बिनी भ्रमणमा आउने बौद्ध धर्मावलम्बी पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिने र यसबाट स्थानीयस्तरमा रोजगारी तथा आर्थिक गतिविधि बढ्ने निष्कर्ष निकालिएको छ । रामग्राम नगरपालिकाका अनुसार यस परामर्शबाट प्राप्त स्थानीय सरोकारवालाको सुझावलाई आयोजनाको विस्तृत तयारी प्रतिवेदनमा समावेश गरी नवलपरासी क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्वलाई उजागर गरिने छ ।