• ९ मंसिर २०८१, आइतबार

भाषा : सरल बाँच्छ, जटिल भन्न सकिन्न

blog

भाषा संरक्षण तथा प्रवद्र्धन गर्नु हरेक देश तथा नागरिको कर्तव्य हो । भाषा मौलिक हक हो, राष्ट्रियता हो र पहिचान पनि पनि । देश भन्नु भूगोल, जनता, भाषा, पहिचान र संस्कृतिको समुच्च रूप हो । करिब १० हजार वर्ष पहिले, जतिखेर भाषा प्रयोगमा थिएन र पनि मानिसका विचार विनियम भएकै थिए भनेर अहिले भाषाबिनाको मानव र उसको समाज परिकल्पना गर्न सकिँदैन । 

नेपालमा नेपालीलगायत सबै राष्ट्रभाषाको प्रवद्र्धन तथा प्रचलनका लागि राष्ट्रिय दृष्टिकोण बनाइँदै आएको छ । संविधानतः नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् र देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हो तर सरकारी कार्यालयका पत्र, तिनका भाषा, व्याकरण, शैली हेर्ने हो भने यस्तो वादी उदाङ्गै हुन्छ । 

भाषामा नियमन कसले गर्ने, कसरी गर्ने ? जटिल अवस्था छ । कम्तीमा पनि सरकारी भाषामा एकरूपता हुनुपर्छ । नेपालले औपचारिक शिक्षामा नेपाली भाषा पनि पढाइदै आएको छ । शिशु कक्षादेखि स्नातकोत्तर तहसम्म पढाइए पनि नेपाली भाषाको प्रयोग, लिखत, वक्तामा विभिन्न चुनौती आएका छन् । 

एउटा चुनौती नेपालले नेपाली भाषा पढाउने कि नेपाली भाषा विज्ञान पढाउनेमा स्पष्ट हुनुपर्छ । अर्को चुनौती सञ्चारका लागि नेपाली भाषा पढाउने कि प्राज्ञिक प्रयोजनार्थ पढाउने भनेर योजना बनाउनु पर्छ । जुन विद्यार्थीको मातृमाषा नेपाली होइन, नेपाली भाषाको प्राज्ञिक क्षेत्रमा काम गर्नु पनि छैन, सामान्य नेपाली बोलेर/लेखेर उसको व्यवहार चल्छ भने उसलाई जटिल पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्यसामग्रीको भारी किन बोकाउने ? पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्यसामग्री तयार गर्नेहरू यहाँ स्पष्ट हुनुपर्छ । यदि नेपाली भाषालाई सामान्य प्रारम्भिक, र प्राज्ञिक गरी अध्ययन, अध्यापन गराउने हो भने एउटा सामान्य वक्ताले ‘क’ नेपाली भाषाको अक्षर हो भन्ने जाने हुन्छ । कलम लेख्न ‘क’ चाहिन्छ भन्ने बुझे पुग्छ तर हाम्रा पाठ्यसामग्री सोध्छन्– उच्चारण स्थान र प्राणत्वका आधारमा ‘क’ चिनाउनुहोस् । वर्णको उच्चारण स्थान र प्राणत्व नबुझेर सामान्य नेपाली भाषाको विद्यार्थी अनुत्तीर्ण हुन्छ भने, विद्यार्थी होइन नेपाली भाषा नीति र यसका पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्यसामग्री तयार गर्नेहरू असक्षम भएका हुन् भन्नुपर्छ । समाचार लेखनको एउटा आममान्यताले भन्छ– ‘कसैले लेखेको समाचार पाठकले बुझ्दैन भने पत्रकार कमजोर छ तर पाठकले साहित्य बुझ्दैन भने साहित्यकार होइन पाठक कमजोर छ ।’ देवकोटाको साहित्य बुझिँदैन वा एक हातका औँला बराबरले मात्र बुझ्छन् भने देवकोटा होइनन्, पाठक कमजोर छन् भनेर जान्नुपर्छ । 

‘आहा’को अर्थ जान्ने विद्यार्थीलाई यसको ‘पदवर्ग’ र ‘शब्दवर्ग’ सोधेर आजित पार्ने हो भने नेपाली विषय पढ्ने धेरै विद्यार्थी अनुत्तीर्ण मात्र हुने छैनन्, धेरैले नेपाली विषय पढ्न चाहँदैनन् । नेपालीको पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्यसामग्री तयार गर्नेहरू स्पष्ट हुनुपर्छ भाषा पढाउने कि भाषा विज्ञान ? आमप्रयोगकर्ताले मोबाइलको विज्ञान तथा प्रविधि जान्नु आवश्यक छैन, यहाँ थिच्दा बोल्न सकिन्छ भन्ने जाने पुग्छ तर नेपालमा भाषाको नाममा मोबाइलको विधि, विज्ञान र प्रविधि पढाइएको छ । नेपाली भाषा पढाइप्रति वितृष्णा आउनुमा प्रारम्भिक, सामान्य कि प्राज्ञिक पढाइ भनेर राज्य स्पष्ट हुननसक्नु हो तर यस्ता विषयमा ध्यान दिइएको छैन । सामान्य वक्ताले शब्दको अर्थ पढे, बुझे हुन्छ । प्रयोग गर्न जाने हुन्छ । ‘प्राकृतिक’ शब्द बुझ्ने र प्रयोग गर्न सक्ने वक्तालाई शब्दको अक्षर संरचना जान्नु वा शब्दमा रहेका अक्षरको सङ्ख्या गन्नु किन आवश्यक छ ? मोबाइलमा कतिवटा पेची हुन्छन् भनेर सामान्य प्रयोगकर्ताले जान्नुपर्दैन । तर मोबाइल मेकानिक्स हुने हो भने मात्र जान्नुपर्छ । भाषा वैज्ञानिक हुने रहर छ वा भाषा विज्ञान पढ्ने चाहना छ अथवा ‘प्राज्ञिक नेपाली भाषा’ पढ्ने हो भने शब्दको अक्षर संरचनाजस्ता प्राविधिक विषयमा जानकारी हुनु आवश्यक हुन्छ । 

जपेर भाषाको संरक्षण हुने हो भने, नेपालीले धेरै जप्ने मन्त्रको भाषाले वर्तमान हविगत भोग्नुपर्ने थिएन । भाषाको अर्थशास्त्रलाई उपेक्षा गरेर विश्वग्रामको यात्रामा बाँच्न र भाषा बचाउन सकिँदैन । कुनै पनि भाषाका लागि उसको देशले कति लगानी गरेको छ अथवा त्यो भाषा आर्थिक रूपमा कति सबल छ भनेर नहेरिएसम्म भाषाको प्रसार वा वक्ताको सङ्ख्या बढ्दैन । कुनै दिन हिब्रु भाषालाई मृतभाषा भनिन्थ्यो तर जब इजरायलले आर्थिक उन्नति ग¥यो, हिब्रु भाषा जानेपछि त्यहाँ रोजगारी पाइने आशामा नेपाली युवाले हिबु्र सिक्नुपर्ने भयो । यहाँ भाषालाई गरिने भावनात्मक माया होइन, उपभोक्ताको राष्ट्रियता हुँदैन भन्ने मान्यता पुष्टि हुन्छ । 

भाषाको विस्तारवाद भनेर सनातनी विरोधले मात्र पनि साना अर्थतन्त्र भएका मुलुकका भाषाको संरक्षण हुँदैन तर नेपालमा पनि भाषिक विस्तारवादविरुद्ध ‘माइक’बाट ठूलै नारा घन्काएको सुनिन्थ्यो । सुनिँदैछ । यसरी बोलेको बोलीलाई ठूलो स्वर बनाएर घन्काउने यन्त्र नेपालीले बनाएका भए त्यससँग जोडिएर आउने माइक, स्पिकर, ट्रान्जिस्टर, एम्प्लिफायरजस्ता ‘विस्तारवादी’ शब्द नेपाल भित्रने थिएनन्, जस्तो कि हामीले हलो बनायौँ, सँगसँगै अनौँ, जोतारा, हरिस पनि बनायौँ । भाषालाई प्रविधिले विस्तार गर्छ भन्ने विज्ञान नबुझेर वा बुझ्न नचाहेर भाषा विस्तारवादको रोइलो मात्र गरेर राष्ट्रिय भाषाको संरक्षण हुँदैन । 

नेपाली भाषामा तत्सम, तद्भव र आगन्तुक शब्दहरू प्रचलित छन् । कतिपय यिनै शब्द पारिभाषिक शब्दका रूपमा प्रयोगमा छन् । पहिलो कुरा त सामान्य वक्ताले आफ्ना विचार, अनुभव, सन्देश भाषाका माध्यमबाट व्यक्त गरे पुग्छ । उसलाई ‘कोट’ अङ्ग्रेजी आगान्तुक शब्द हो भनेर जान्नुपर्दैन । मात्र कोट भनेको कमिज होइन भनेर जाने पुग्छ । 

कोटको स्वरूप उसको मस्तिष्कमा पसे हुन्छ । बसे हुन्छ । यस्तै कतिपय पारिभाषिक शब्दलाई नेपालीमा सरलीकृत गर्न सकिन्छ भने यिनलाई किन जटिल बनाउने ? शब्द वा भाषालाई सरलीकृत गरिएन भने यस्ता भाषा, शब्द तत्तत् क्षेत्रमा सीमित हुन्छन् । वक्ताको पहुँचबाट टाढा रहन्छन् । निवारक नजरबन्द, अर्जी, पैरवी, पेसीजस्ता शब्दलाई जनसामान्य वक्तामैत्री बनाइएन भने यस्ता शब्द शब्दकोश र कुनै एक सङ्कायमा सीमित हुनेछन् । 

नेपाली भाषाप्रति नैराश्य हुनमा साँढेको जुधाइ बाछाको मिचाइ प्रवृत्ति पनि अर्को कारण हो । विद्वान्हरू शहीद कि सहिदमा जुँगाको लडाइँ गर्छन् भने सामान्य लेखक÷वक्तालाई यस्तो लडाइँको औचित्य हुँदैन । तर विद्यार्थीलाई यस्ता विवादले अनाहकमा निकै सास्ती दिने गरेको छ । शहीदजस्ता शब्द कसरी बने, यसको नेपाली र संस्कृतरूप के हो भनेर विवाद गर्नु आवश्यक छैन । सामान्य नेपाली भाषाका विद्यार्थीलाई यस्ता शब्द यसरी लेख्ने भनिदिए पुग्छ । विवादमा पार्नु हुँदैन तर विद्वान्हरूको लडाइँको बाछिटा कलिला विद्यार्थीमा पर्ने गरेका छ । जसले गर्दा ‘शहीद वा सहिद’ जसरी लेखे पनि हुन्छ भन्ने स्वच्छन्दता आएको छ अथवा ‘शहीद वा सहिद’ लेख्नै नपरे हुन्थ्यो जस्तो भएको छ । यसरी, त्यसरी जसरी लेख्दा पनि हुन्छ भन्ने स्वच्छन्दता बढ्दै जाने हो भने व्याकरणका ठेली पुस्तकालयमा सजाइदिए हुन्छ । व्याकरण पढाउने शिक्षकको पो के काम ? सामान्य वक्ताका लागि शहीद र सहिदले कुनै भिन्नता राख्दैन । तर शहीद र सहिद लेख्न नियम चाहिन्छ भने कम्तीमा पनि यस्ता शब्द लेखनमा एक रूपता हुनुपर्छ । 

भाषालाई उदार पनि बनाउनुपर्छ । छोराले कमाएको पैसो ‘डलर’लाई ‘आफ्नै’ सम्पत्ति ठान्ने तर उसले कमाएको ‘भाषा’ डलरलाई आगान्तुक भनेर अङ्कीकृत हैसियतामा राख्नुको औचित्य मेटिनु पर्छ । यस्ता शब्दको नेपालीकरण हुनुपर्छ । माटोघटा चिल्लापिरा, सत्ता तथा राजधानी वरिपरिकालाई ‘शाह’ र दुब्लापातला, राज्यशक्तिबाट टाढा रहेकालाई ‘साह’ भन्ने जुन नश्लीय छनक भाषामा दिन खोजिएको छ, यस्तो छनक सामान्य नेपाली भाषाका विद्यार्थीले किन जान्नुप-यो ? भाषामा लादिएका सत्ता र शक्ति सूचक मनोविज्ञान हाम्रा विद्यार्थीले पढिदिनुपर्ने ?

पछिल्ला वर्ष नेपाली विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने, सकभर नेपाली पढ्न नखोज्ने जस्ता प्रवृत्ति बढेको छ । चाहे भाषा भन्नुस् वा प्रविधि जटिलभन्दा सरललाई नै आमउपभोक्ताले मन पराउँछन् । आमउपभोक्ताले जुन वस्तु वा सेवा मन पराउँछन् त्यसैको बजार विस्तार हुन्छ । प्रचार र प्रसार हुन्छ । यो त बजार विज्ञानको विधि हो । नेपाली भाषा शिक्षणमा पनि सरल र जटिलताको विज्ञान बिर्सनु हुँदैन । भाषा सरल भए बाँच्छ, जटिल भए भन्न सकिन्न । नेपाली भाषालाई सरल बनाएर व्यापक बनाउने कि जटिज बनाएर सीमित गर्ने सरोकारीले ध्यान दिनुपर्छ ।