राममणि दाहाल
मकवानपुर, कात्तिक १८ गते । बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी अमात्य जोन्छेको उपचारका क्रममा निधन भएको छ ।
नेपाली कांग्रेस महासमिति सदस्य समेत रहनुभएकी पूर्व राज्यमन्त्री जोन्छेको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा मङ्गलबार बिहान निधन भएको बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठका अनुसार जोन्छेको मङ्गलबार नै भक्तपुरस्थित हनुमानघाटमा अन्तिम दाहसंस्कार गरिनेभएको छ ।जोन्छे राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा २०७८ पुसमा बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बन्नुभएको थियो ।
उहाँ सहिद राधेश्याम जोन्छेकी धर्मपत्नी हुनुहुन्थ्यो । पूर्व राज्यमन्त्री जोन्छे केही समयदेखि अस्वस्थ रहँदै आउनु भएको थियो । उहाँको निधनले कांग्रेस र लोकतान्त्रिक आन्दोलन दुवै क्षेत्रमा अपूरणीय क्षति पुगेको मन्त्री श्रेष्ठले बताउनुभयो ।
नेत्री जोन्छेले लामो समयदेखि राजनीतिक, सामाजिक तथा मानवअधिकारका क्षेत्रमा सक्रिय रहँदै आउनुभएको थियो ।
स्वर्गीय जोन्छेको पार्थिव शरीर राधेश्याम स्मृति प्रतिष्ठान कार्यालय, चुनदेवी भक्तपुरमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।जोन्छेका तीन जना छोरा हुनुहुन्छ ।