• ९ मंसिर २०८१, आइतबार

झर्रो नेपालीका साक्षी

blog

आउँदो चैतदेखि ८७ मा टेक्दैछु । स्वास्थ्यले त्यति साथ नदिएकाले लेख्ने, गोष्ठी कार्यक्रममा जाने काम गरेको छैन । घरमै बस्छु, अलिअलि लेख्ने काम गर्छु, आएकासँग बसेर कुराकानी गर्छु, फोनमा पनि कुरा भइरहन्छ । उमेरले ८४ लागिसकेकी श्रीमती वेदकुमारी रेग्मी अहिले गम्भीर बिरामी परेकाले उसैको उपचारमा लागिपरेको छु । यस्तै छ अहिलेको जीवन । केटाकेटी उमेरमै बिहे भएको हाम्रो उसले कुन बेला संसार छाड्ने हो टुङ्गो छैन भन्दै भावुक बन्नुहुन्छ उहाँ ।

अहिलेको जीवन त्यति सुखद छैन, अस्वस्थ जहानतिर फर्केर उहाँ आफ्ना कुरा थाल्नुहुन्छ ।  साहित्य र पत्रकारिताका, भाषा र व्याकरणका मात्र होइन व्यक्ति विशेषका गुण सम्झेर तिनको प्रशंसा गर्न समय पु-याउन पनि हम्मे छ उहाँलाई । जीवन सङ्घर्षमा धेरैलाई गुन लगाउनुभयो, आफूलाई बैगुन गर्नेहरूप्रति पनि गुनासो छैन उहाँको । चूडामणि रेग्मीको बदख्वाइँ पनि भए, लेखनको स्तरमा प्रश्न पनि उब्जे, स्वभावबारे असन्तुष्टि गर्नेहरू पनि देखिए । पहिले यी सबै सहेर बस्नुभयो, अहिले यी सबैका प्रति पनि सम्मान छ उहाँको । गुनासो अरूसँग होइन आफैँसँग गर्न सक्नुपर्छ भन्ने उहाँको मान्यता हो । उमेर र अनुभवले साँचेका कैयौँ अव्यक्त कुराहरू, चित्त दुखाइका कुराहरू अत्यासलाग्दो मात्र होइन विगत पल्टाएर भएका कमीकमजोरी सच्याउन पनि पछि पर्नुहुन्न । त्यसैले पनि होला यो उमेरसम्म आइपुग्दा पनि कसैप्रति गुनासो छैन, असन्तुष्टिको आवाज छैन । 

यसै प्रसङ्गमा उहाँले भन्नु पनि भएको छ– म विद्वान् होइन, म त सामान्य मान्छे । किसान सामान्य हुन्छ, किसानजस्तो सामान्य । म घरमा सामान्य शिक्षकमा, सामान्य सह–प्राध्यापकमै पुगेँ, साहित्यमा सामान्य । सामान्य भएर काम गर्दा मलाई आनन्द लाग्छ । भाषाका कुरामा टुक्का, अकरणजस्ता कैयौँ विषयमा र र वर्णविन्यास विषयमा पनि पुनः छरिएँ म । आफ्ना अध्ययन चिन्तनलाई सामान्य नै भई अक्षरमा उतारेँ । 

अब यो उमेरमा आएर अरूको कुरा के गर्नु ? अर्कालाई दोष दिनुभन्दा आफैँतिर फर्कंदा सन्तुष्टि मिल्दो रहेछ, मैले आफैँ गर्न नसकेको हुँ, अरूले किन मेराबारे सोच्ने भनेर सोच्दा हो रहेछ त जस्तो लाग्छ । 

उहाँको यही भनाइले उहाँको स्वभाव झल्कन्छ । 

झर्रो नेपाली आन्दोलनका कान्छा सदस्य भएर पनि यसलाई निरन्तरता दिने, आफैँ बसेको घरलाई झर्रो नेपाली घर नाम दिएर अभियानप्रति सम्मान दर्साउने उहाँ अघिल्ला पुस्तालाई त सम्मान गर्नुहुन्छ नै पछिल्लालाई पनि सम्मान र स्नेह गर्नुहुन्छ । देशका विभिन्न जिल्ला पुगेर, अनेकौँ विशेषाङ्क प्रकाशन गरेर साहित्यकारलाई सम्मान गर्नेमा पर्नुहुन्छ उहाँ । अहिलेको जीवनसम्म आइपुग्दा उहाँको पहिलेको जीवनलाई पनि जोड्नुपर्ने हुन्छ । कैयौँं पाटा छन् जोडनुपर्ने । गनिसाध्य छैनन्, भनिसाध्य छैनन् र पनि एउटै वाक्यमा भन्नुप¥यो भने यति चाहिँ भन्न सकिन्छ नेपाली भाषा र साहित्यका लागि जीवन अर्पेका साधक । 

पूर्वी नेपालको चैनपुरमा जन्मिएर विराटनगर हुँदै झापाको चन्द्रगढीलाई आफ्नो गढ बनाएर बितेको ६० वर्ष उहाँको जीवन यत्रतत्र सर्वत्र छरियो र त ठडियो चूडामणि रेग्मीको व्यक्तित्व । नामबाटै धेरैले बुझिहाल्ने, चिनिहाल्ने । कतिले साहित्यिक पत्रकारका रूपमा जाने होलान् जुही, मोतीका सम्पादकका रूपमा पनि । गुरुका रूपमा पनि श्रद्धा गर्छन् होला कतिले ३५ वर्षसम्म पढाएको विगत सम्झेर । झर्रोवादीका अभियन्ता त उहाँको विशेष चिनारी, हास्यव्यङ्ग्यका, कथाका, कविताका, समालोचनाका, व्याकरणका, निबन्धका कृतिका स्रष्टा चूडामणि रेग्मी ।

जीवनमा धेरै चिजमा छरिएर बाँचेको सक्रिय जीवनमा उहाँले अक्षरमै समर्पण गरिदिनुभयो आफ्नो जीवन । लेखेर, सम्पादन गरेर, अध्यापन गरेर बितेको जीवन यतिखेर अलि सुस्ताएको छ चन्द्रगढी, लेखनाथ चोकमा रहेको झर्रो नेपाली घरमा । यही घरमा पहिलो पटक भेटमै झर्रोवादी आन्दोलनबाट संवाद थालेका हौँ हामीले । 

जनसांस्कृतिक सभा, चैनपुरको प्रकाशन नौलो पाइलोबाट झर्रो नेपाली आन्दोलन चल्दा यसको साक्षी बन्नुभएका चूडामणि रेग्मी एक दशकपछि मात्र मात्र यसमा सक्रिय भएर लाग्नुभयो । झर्रोका अनुयायी बनेर आजसम्म पनि क्रयाशील हुनुहुन्छ । त्यही विगत उधिन्दा पनि एक किसिमको सन्तुष्टि देखिन्छ उहाँमा– २०१३ सालदेखि झर्रो नेपाली आन्दोलन चल्यो । यसमा प्रमुख थिए डा. बालकृष्ण पोखरेल र डा. तारानाथ शर्मा अनि सहभागीहरूमा पनि निकै नाम थिए । यस आन्दोलनले ठूलाबडा लेखकबाट समेत प्रोत्साहन पायो र संस्कृत, हिन्दी र अङ्ग्रेजीको थिचोमिचोबाट नेपाली भाषालाई मुक्त गराउने हौसला बढायो । झर्रो–टर्रो भनेर खिसिट्यौली गरिएर पनि यसका खुबीले लेखकवर्ग तानिए । पछि राल्फा आयाम जस्ता पन्थीहरूले यसलाई मानेनन् । यता जीवनवादी कविवर्ग पनि झर्रोप्रति विश्वस्त छन् । केवलपुरे किसान, अली मियाँजस्ता कवि झर्रोपन्थी नै छन् । कमल दीक्षित लगायत थुप्रै गद्य लेखक पनि झर्रोपन्थी नै छन् र पनि यता झर्रो विरोधी प्रवृत्ति पुनः बढेको छ । हाम्रो यसतर्फ सोच बढ्नुपर्छ र नेपाली भाषाको प्रकृति विरोधी लेखनले प्रोत्साहन पाउनु हुँदैन । (साहित्यकार परिचय र अभिव्यक्ति, २०४५। ११ । १३ बाट)

 जीवनको सात दशकसम्म निरन्तर लेखेर बितेको समय यतिखेर कागज र कम्प्युटरमा औँला नचले पनि हातेफोनका कीमा औँला चलाएर फेसबुकमा बित्ने गरेको छ । उमेर र स्वास्थ्यले साहित्यका अन्य गतिविधि शून्यप्रायः भए पनि फेसबुकबाट सिर्जना र साहित्यमा अभिव्यक्त भइरहनुभएको छ । भेट्न आउने भेटे उनीहरूसँग नभए फोन संवादबाट साहित्यसँग जोडिनुभएको छ । उहिलेदेखि अहिलेसम्मका साहित्यिक गतिविधिमा जानकार उहाँ साहित्यलाई माया गर्ने साहित्यकारलाई सम्मान गर्ने स्रष्टामा पर्नुहुन्छ, यसमा उमेरको छेकवार छैन ।

वि.सं  १९९३ सालको चैत महिनामा सङ्खुवासभाको वानामा जन्मिनुभएका चूडामणि रेग्मीको आरम्भिक शिक्षा तत्कालीन समयअनुसार घरमै भयो, ११ वर्षको कलिलो उमेरमै दिङ्ला पाठशालामा हुँदै वनारस, विराटनगरसम्म पुग्छ वहाँको शैक्षिक यात्रा । २००३ सालमै मोहन शमशेरको पालामा काठमाडौँ टेकेको पाइला  वि.सं २००९ सालमा फेरि काठमाडौँ टेक्दा चूडामणि रेग्मीको उमेर १६ वर्ष टेक्दैथियो । त्यही उमेरमा महाकवि देवकोटाको साहित्यिक सम्मेलनबाट प्रभावित भएर साहित्यमा पाइला टेकेको । कालीदास आदिजस्ता मात्र कवि हुन्छन् भन्ने सोचेर बसेको उहाँलाई देवकोटा भेटेपछि भने हाम्रो देशमा पनि यस्ता कवि हुँदा रहेछन् भन्ने ज्ञान मात्र प्राप्त भएन लेख्ने उत्साह पनि जाग्यो । २०१२ सालमा त पहिलो कृतिको रूपमा पहिलो यात्रा कथा सङ्ग्रह नै प्रकाशनमा आयो उहाँको । यसपछि सहलेखनमा नेपाली कथा साहित्य, भुमरी, चाबी पनि छापिए । कथापछि निबन्धमा केन्द्रित बन्नुभएका चूडामणि रेग्मी विविध विधामा छरिए पनि आफूलाई मूलतः निबन्धकार नै भन्न रुचाउनुहुन्छ । उहाँका साधना, धुनमा धुन, घुमेका कुरा, गफडीका गफ, आँखा र मनका पाइलाहरू, बितेकाहरूको सम्झना, एउटा छाता दिनुहोस है, मनभित्र र बाहिर, चूडामणिका कलममा कमलमणिलगायत सम्पादनका तीनवटा निबन्धका कृति छन् । कविता र काव्यका चारवटा, समालोचनाका छवटा कृति छन् । चूडामणि रेग्मीको व्यक्तित्वको उल्लेख्य पाटो उहाँको पत्रकारिता क्षेत्र हो । साहित्यिक पत्रकारितामा पनि उत्तिकै सक्रिय । वि.सं २०१३ सालमै छात्रदूत (वार्षिक मुखपत्र)बाट थालिएको पत्रकारिता जीवनमा छहारी द्वैमासिक, जनवार्ता (समाचारपत्र), मोती सामयिक सङ्कलन, धारा (मुखपत्र), कस्तूरी सामयिक सङ्कलन, युगज्ञान, जुही त्रैमासिक आदि जोडिन पुग्छन् ।  

 बितेको जीवनमा  कैयौँलाई गुन लगाएको छ । वि.सं २०२१ देखि २०५५ सम्म ३५ वर्ष घामपानी कलेजमा प्राध्यापन गरेरै बिते । केही वर्ष विराटनगर बस्दा जनता माविमा पढाएको वर्ष पनि जोड्दा हुन्छ अध्यापनको कुरा गर्दा । मणि पिन्टिङ प्रेस चलाएर व्यवसायी बनेको, प्रकाशक बनेको पनि हो उहाँ । 

साहित्य र पत्रकारिताको यो लामो जीवनमा चूडामणि रेग्मी नाम नै सम्मानित नाम बनिसकेको छ । पुरस्कार र सम्मान गन्ने हो भने सङ्ख्या नाघिसके, वरिष्ठ साहित्यकार चूडामणि रेग्मी अभिनन्दन ग्रन्थ, जनमत मासिकको, ज्ञानगुनका कुराको अभिनन्दन ग्रन्थ, पूर्वाञ्चलका मोतीराम भनेर सम्बोधित चूडामणि रेग्मीले कमाउनुभएको मान, नाम सम्मान यही नै हो । सन्तुष्टि पनि यसैबाट प्राप्त भएको छ ।