• ४ जेठ २०८१, शुक्रबार

नङ सजाउने कला

blog

काठमाडौँ, फागुन १२ गते । सुन्दर नङले मानिसको सौन्दर्य वृद्धिका लागि ठूलो भूमिका खेलेको हुन्छ । हिजोआज नङकै सौन्दर्यलाई ध्यानमा राखेर विभिन्न उपाय अपनाउन थालिएको छ । त्यसकै उपज हो– नेल आर्ट । नेल आर्ट अर्थात् हातगोडाका नङ सजाउने कलाले नारीको सौन्दर्यलाई आकर्षक बनाउँछ । पछिल्ला वर्षमा नेल आर्ट गर्ने चलन नेपालमा निकै लोकप्रिय भइरहेको छ । 

नङलाई विभिन्न रूप दिएर लामो, चेप्टो, यु–सेपजस्ता कृत्रिम नङ जोड्ने चलन पनि फेसनका रूपमा भित्रिसकेको छ । आर्ट सेन्टरमै पुगेर नेल आर्ट गर्ने नेपाली युवतीको सङ्ख्या पनि निरन्तर बढिरहेको छ । नेल आर्टका २५ भन्दा बढी शैली रहेका र तीमध्ये पाँच प्रकारका शैली नेपालमा चल्तीमा रहेको सौन्दर्यविज्ञ सुषमा महराले बताउनुभयो । उहाँका अनुसार जेल आर्ट, जेल नेल एक्सटेन्सन, मार्बल नेल आर्ट, थ्रीडी, फ्रेन्स जेल नेल एक्सटेन्सन गर्न धेरै युवती लालायित हुन्छन् । विवाहको मौसममा नेल आर्ट गर्नेहरू धेरै हुन्छन् । घरमै बसेर पनि नङलाई सुन्दर बनाउन सकिन्छ । बजारमा उपलब्ध क्युटिकल क्रिम तथा ओयल, नेल पोलिस रिमुभ आदि प्रयोग गरी नङ सुन्दर बनाउन सकिने महराको अनुभव छ । 

केही वर्षयता नेपालमा पनि नेल आर्ट गर्ने चलन लोकप्रिय भएको छ  । विशेष पार्टी एवं अवसरहरूमा महिलाले नेल आर्ट गरी आफूलाई अरूभन्दा भिन्न बनाउन थालेका छन् । आफ्नो विवाहका लागि नङ नभएर चिन्तित सुमित्रा ढकालले कृत्रिम नङ टाँस्नुभयो । नङ पाल्न निकै गाह्रो हुने आफ्नो अनुभव सुनाउँदै उहाँले हतारमा कृत्रिम नङ टाँसेर पछि जेल नेल एक्सटेन्सन गरेको जानकारी दिनुभयो । “जेल नेल एक्सटेन्सन भनेको नेलको पर्मानेन्ट सोलुसनजस्तो लाग्छ,” उहाँले भन्नुभयो, “कसैको नङ नराम्रो छ, भाँचिइरहने समस्या छ वा नङको स्याहार गर्ने समय छैन भने जेल नेल एउटा समाधान हो ।” यसबाट जस्तै लामो नङ पनि राख्न सकिन्छ । यसका लागि नङ पालिरहनुपर्छ भन्ने छैन । तुरुन्तै आफूले चाहेको आकारमा नङ बनाउन सकिन्छ । 

सौन्दर्यविज्ञ महरा भन्नुहुन्छ, “महिलाको प्रिय अङ्गमा नङ पनि पर्छ यद्यपि विभिन्न कारणले नङलाई आफूले चाहेजस्तो लामो बनाउन सकिँदैन ।” जेल नेलले यो समस्या समाधान गर्छ । यस प्रकारको नङले आत्मविश्वास बढाउनुका साथै राम्रो देखाउँछ । उहाँले नङ बढ्दै गएपछि अलि–अलि मिलाउनुपर्ने जानकारी दिँदै एक महिनामा एक पटक ‘टचअप’ गरेपछि तीन महिनासम्म रहन्छ । जेल नेलकै कारण कुनै इन्फेक्सन नहुने र आफ्नो नङभन्दा बलियो हुने भनाइ उहाँको छ । 

जेल नेल आर्टद्वारा नङलाई विभिन्न रङले रङ्ग्याएर विविध आकृति निकाल्न सकिन्छ । यसलाई पनि फ्रेन्स, कलरफुल, पेपर आर्ट, वाटरप्रुफ मार्बलर, डट सेप, एल सेप, स्टाम प्रिन्ट, क्य्राक सेप आदि स्टाइल दिएर नङमा फरकपन ल्याउन सकिन्छ । नेल आर्टका प्रकारमा नङलाई सुहाउँदो आकार दिएर रङ्ग्याउने विधिलाई जेल नेल एक्सटेन्सन भनिन्छ । त्यसैगरी थ्रीडी नेट आर्टमा नङलाई विभिन्न आकार दिएर नङमा फूल राखिन्छ । यसमा औँला वा नङको सेप हेरेर त्यसैसँग सुहाउँदो फूल वा बुट्टा बनाएर नङ सजाइन्छ । कृत्रिम नङ टाँस्ने प्रचलन पनि बढ्दो छ । आफूलाई जस्तो मन लाग्यो त्यस्तै नङ गमले आफ्नो नङमा टाँस्न सकिन्छ । आफूलाई मन नपरेको समयमा सजिलै निकाल्न पनि सकिन्छ ।