• १५ वैशाख २०८१, शनिबार

मायाको प्रतीक महाशिवरात्रि

blog

काठमाडौं, फागुन ६ गते । हिन्दु धर्ममा महाशिवरात्रि पर्वको विशेष महत्त्व छ । आराध्यदेव भगवान् महादेव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा वर्णन गरिएको छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दुःखी र कष्टपूर्ण अवस्थामा रहेकाहरूको हृदयमा धर्मको उदय गराउने भगवान् शिवको मनपर्ने दिनका रूपमा पनि लिइने चलन छ । 

आजको दिन भक्तजनहरूले सफा र शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको नाममा दूध, धतुरो र बेलपत्र चढाउने परम्परा छ । यस पर्वका दिन उपवास गरी “ऊँ नमः शिवाय” मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभसहित यमलोक जानु नपर्ने धार्मिक मान्यता छ । 

निर्जल व्रत, रात्रि जागरण, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पूजामा व्रतकालमा भगवान् शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरणकालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । 

संस्कृतिविद् हरिराम जोशी भन्नुहुन्छ, “शिव र रात्रि मिलेर शिवरात्रि बनेको छ । शिवको अर्थ कल्याण हुन्छ । भगवान् शिव सबैको कल्याण गर्ने भगवान् शङ्कर हुन् । शङ्करबाहेक शिवका अनेक नाम छन् । भोलेनाथ, रुद्र, महेश्वर, आशुतोष, आत्रेय, उमापति, कपालपाणि, कलाधर, कल्पवृक्ष, कालकंठ, कामेश्वर, गंगाधर, कैलाशनाथ, गणनाथ, गिरीश, गिरिजापति, चन्द्रेश्वर, ज्योतिर्मय, तपस्वी, तारकेश्वर, त्रिचक्षु, निरञ्जन, नागभूषण, प्रभाकर, बैजनाथ, महादेव, सर्वेश्वर, सोम, सुरेश, शशाङ्क, नीलकण्ठ, भष्मागर, बाघम्वर त्र्यैम्बकम्, जटाधारी, रुद्र आदि नाम पनि भगवान् शिवकै हुन् ।” 

जोशीका अनुसार महाशिवरात्रिलाई नेपाल भाषामा सिलाचह्ने भन्ने चलन छ । यसै दिन भगवान् शिवको उत्पत्ति भएको कारण आजको दिनको ठूलो महत्त्व रहेको उहाँको भनाइ छ । 

त्यसैले आजको दिन व्रत बस्ने, भगवान् शिवको आराधना गर्ने, व्रत बसी रातभर जाग्राम बस्दा शिवलोक प्राप्त हुने धार्मिक विश्वास छ । हिन्दु धर्ममा भगवान् शिवप्रति ठूलो आस्था र श्रद्धा राखिन्छ । तिनै भगवान् शिवको आराधना गर्ने विशेष रातको रूपमा महाशिवरात्रि पर्वलाई लिइने जोशी बताउनुहुन्छ । पुराणहरूमा शिवरात्रिको ठूलो महिमा रहनुका साथै पशुपतिनाथलगायत अन्यत्र क्षेत्रमा शिवरात्रि आस्था र भावका साथ मनाउने चलन छ । 

संस्कृतिविद् जोशी भन्नुहुन्छ, “आजको दिन पनौतीमा पनि भगवान् शिवको जात्रा धूमधमाले मनाइने चलन छ । आज पनौतीका सर्वसाधारणहरू भगवान् शिवको व्रत बस्ने, पूजापाठ गर्ने तथा साँझमा शिवालय अगाडि धुनी जगाउने गर्छन् ।”

साँझमा आगो बाल्नका लागि टोल–टोलमा बालबालिकाहरू दाउरा किन्न पैसा माग्दै हिँड्ने गर्छन् । त्यसरी दिनमा मागेको पैसाले साँझमा आगो बाल्ने तथा आगो बाल्न नजिकैको गोरखनाथ वन, सतीवनबाट रुखका हाँगा छिचोलेर ल्याउने पनि चलन रहेको जोशी बताउनुहुन्छ ।

त्यसरी ल्याएका दाउरा रातभर बाल्ने चलन छ । यसबाहेक पनौतीमा इन्द्रेश्वर महादेव मन्दिर परिसरमा त्यो दिन ठूलो मेला लाग्ने गर्छ । इन्द्रेश्वर महादेव मन्दिरको उत्तर–पूर्वी भागमा सत्यनारायण मन्दिरको ठीक अगाडि पश्चिमतर्फ शिवरात्रिमा धुनी जगाउन धुनिकुण्ड नै बनाइएको छ । 

शिवरात्रिमा इन्द्रेश्वर मन्दिरमा बालिएको आगो ताप्नका लागि मानिसहरूको ठूलो भीड लाग्ने गर्छ । त्यो रात आगो तापेपछि नौ महिना न्यानो हुने र शरीरका अनेकौँ दुःखकष्ट रोग नाश हुने जन विश्वास रहेको जोशी बताउनुहुन्छ ।

संस्कृतिविद् पुरुषोत्तम श्रेष्ठका अनुसार शिवरात्रिलाई भगवान् शिव र माता पार्वतीको मायाको प्रतीकको रूपमा लिन सकिन्छ । महाशिवरात्रिको दिन शिव–पार्वतीको विवाह हुनाले यसको महत्त्व धेरै रहेको र यो दिन भगवान् शिवको पूजा आराधना गर्नाले भगवान् शिव छिट्टै प्रसन्न हुने मान्यता रहेको उहाँ बताउनुहुन्छ । महाशिवरात्रिको व्रत बस्नाले यदि कसैको विवाहमा समस्या आएको छ भने कम हुँदै जाने र छिट्टै विवाह हुनेसमेत धार्मिक आस्था रहेको उहाँको भनाइ छ । 

उहाँ भन्नुहुन्छ, “शिवरात्रिको रातमा मन्दिर अगाडि आगो बालेर ताप्ने तथा आगोमा मकै, भटमास, फलफूल चढाउने र आगो घुम्ने चलन छ । यसो गर्दा रोग नष्ट भई मन शान्त हुने र रोग मुक्त भइने धार्मिक मान्यता छ ।” 

आजको रात टोल–टोलका मानिसहरू जम्मा भएर आफ्नो टोलमा आगो बाली भजनकीर्तन गर्ने गर्छन् । आगोमा चढाइएपछि बाँकी मकै, भटमास र फलफूल त्यहाँ रहेका सबै भक्तजनलाई प्रसादको रूपमा बाँड्ने चलन छ ।

श्रेष्ठ भन्नुहुन्छ, “भगवान् शिवले समुद्र मन्थनबाट निस्किएको विष पिएर यो सृष्टिलाई सङ्कटबाट बचाउनुभएको थियो । महाशिवरात्रि मनाउने यो पनि अर्को प्रमुख कारण हो ।” महाशिवरात्रि भगवान् शिवका लागि पावन दिन रहनुका साथै आजको दिन शिवको जप, ध्यान तथा आराधना गर्दा आसुरी प्रवृत्तिको नाश हुने, अन्जानमा गरेको पापबाट मोक्ष मिल्ने धार्मिक विश्वास रहेको उहाँ बताउनुहुन्छ ।