भरतपुर समाचारदाता
चितवन, फागुन २ गते । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले वर्तमान सरकार माओवादीका लागि चुनौती र अवसर दुवै भएको बताउनुभएको छ।
पार्टी निकट बुद्धिजीवी सङ्गठन चितवनले जनयुद्ध दिवसको अवसरमा सोमबार यहाँ आयोजना गरेको ‘जनयुद्ध दिवस र उपलब्धिको समीक्षा’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले यस्तो कुरा बताउनुभएको हो। उहाँले जनयुद्ध सुरु गर्दा र अहिलेको अवस्थामा चुनौती फरक फरक भएको बताउनुभयो।
जनयुद्ध दिवसमा बिदा घोषणाको विषयमा थुप्रै टीकाटिप्पणी भएको समेत उहाँले उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “बिदा घोषणामा धेरै ठूलो कुरा छ। यसमा बहस र पैरवी हुनुपर्छ।”
नेपाल बुद्धिजीवी सङ्गठन चितवनका अध्यक्ष प्राडा ईश्वरीप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा विनोदखण्ड तिमिल्सिनाले जनयुद्ध दिवस र उपलब्धिहरूको समीक्षाका बारेमा अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले प्रस्तुत गरेको अवधारणापत्रका विषयमा डा. भोजराज अधिकारी, प्राडा भीमराज अधिकारी, पूर्णप्रसाद दवाडी, टेकबहादुर थापा, राजु पौडेल, केदार बराल, खगराज कँडेललगायतले टिप्पणी गर्नुभएको थियो।