भाइबहिनीलाई कसरी धेरै मानिसका अगाडि बोल्न सकिएला भन्ने कौतुहलता हुन सक्छ । कतिपय बालबालिका दुई चार जना व्यक्ति देख्नासाथ अगाडि बोल्न परे डराउने र आएका कुरा पनि बिर्सेर हडबडाउने समस्या हुन सक्छ । अरू बेला मजाले बोल्न सक्ने तर मान्छेको अगाडि भने बोल्न डर लाग्नु धेरै बालबालिका तथा ठूला मान्छेहरूको पनि समस्या हो । बालबालिकाले कसरी आत्मविश्वास बढाएर धेरै मान्छेको अगाडि तथा स्टेजमा बोल्ने त ?
भाइबहिनीहरू हामी डराउनु हुँदैन । त्यस्तो समस्या भए पनि डर मान्न पर्दैन है । यसको लागि हामीले आफ्नो बानी व्यवहारहरू सबैमा परिवर्तन गर्नुपर्छ तर कसरी ? आज म हाम्रा स–साना भाइबहिनीहरूलाई केही आफ्ना अनुभवसहितका टिप्सहरू दिने छु है त । यो लेख पढेपछि आशा छ भाइबहिनीहरूले धेरै कुरा बुझ्ने छौ ।
बालबालिकालाई हरेक अभिभावकले नजिकबाट पढ्नुपर्छ । बालबालिकाको असल पक्षको प्रशंसा गर्नुपर्छ । धेरै मानिसबीच प्रशंसा गर्दा उनीहरूलाई झन् हौसला मिल्छ । उत्प्रेरणा जगाउँदै उनीहरूलाई असल कार्यमा लागिरहन निरन्तर खबरदारी गरिरहनुपर्छ । बालबालिकालाई अभिभावकहरूले नै सबैभन्दा पहिले घरबाट नै बोल्न सिकाउने प्रयास गर्नुपर्छ । घरमा बालबालिकाहरूलाई एक्लै नराखी परिवारका सबै सदस्यमाझ राख्ने, अनि गफ गर्ने, उनीहरूका कुरा सुन्ने, अनि उनीहरूलाई यो सही यो गलत हो भनी सम्झाउँदै त्यसरी नै बोल्न सिकाउनु पर्छ । त्यसै गरी बालबालिकालाई घरमा भुलाउने बहानामा टेलिभिजन र युट्युबहरूमा पनि राम्रा ज्ञानगुनका कुरा लगाइरहने ताकि बालबालिकाको मनस्थितिमा पनि त्यसको राम्रो छाप परोस् ।
घर नै बालबालिकाको पहिलो स्कुल हो । त्यो सँगसँगै जब बालबालिकाहरू स्कुल जाने बेलाका हुन्छन् । उनीहरूलाई शिक्षकहरूले नै गाइड गर्नुपर्छ । स्कुलका कोहीसँग पनि बोल्न मन नपराउने बालबालिकाहरू छन् भने उनीहरूलाई शिक्षकले विशेष निगरानी राख्नु पर्ने हुन्छ । अधिकांश अभिभावकले घरमा आफ्ना छोराछोरालाई पढ पढ मात्रै भन्ने गर्दा उनीहरूको मानसिकता नपढी ठूलो मानिस बनिन्न कि भन्ने डर उत्पन्न हुन सक्छ तर बालबालिकालाई पढाइसँगैका अन्य क्रियाकलापले उनीहरूमा अझै बढी आत्मविश्वास बढाएको हुन्छ । बालचिकित्सकविज्ञ डा. राजु काफ्ले भन्छन्, “बालबालिकालाई जेमा रुचि छ त्यही गर्न दिउँ । जसले उनीहरूले आफ्नो रुचिसँगै पढाइमा पनि ध्यान दिन सक्छन् ।”
बालबालिकाहरूलाई मासमा बोल्न सिकाउनका लागि स्कुलहरूमा नै विभिन्न खेल क्रियाकलापहरूमा अभिभावकहरूले सहभागी हुन प्रेरित गर्नुपर्ने हुन्छ । स्कुलमा हुने हाजिरीजवाफ प्रतियोगिता, वादविवाद प्रतियोगिता, निबन्ध लेखनजस्ता प्रतियोगिताका साथै गीत गाउने,
नाच्नेजस्ता गतिविधिमा सहभागी गराउनुपर्छ । ताकि बालबालिकाहरू अरूको अगाडि खुलेर बोल्न सक्ने हुन् । अनि त्यस्ता बालबालिकालाई अभिभावक र शिक्षकहरूले पनि उत्साहित बनाई अझ राम्रो गर भनेर तारिफ गर्नुपर्छ ताकि बालबालिकामा हौसला अझै बढोस् ।
यी त भने घर र स्कुलमा हुने क्रियाकलाप । यो सगँसँगै उनीहरूलाई बोल्न सिकाउन र हिचकिचाहट कम गर्न अभिभावकहरूले विभिन्न नाटक महोत्सवमा लैजाने, मानिसको जमातमा बोल्न र घुलमिल हुन सिकाउने गर्नुपर्छ । त्यसका साथमा हिजोआज आयोजना हुने बालबालिकाका रियालिटी सो र विभिन्न टाइटलका इभेन्टमा सहभागी गराउनुपर्छ ।
हामीले हाम्रा बालबालिकालाई जसरी गाइड गरेका हुन्छौँ उनीहरू त्यसरी नै आफूलाई अरूमाझ प्रस्तुत गराउन सक्छन् । अनि मात्र उनीहरू निर्धक्क भएर धेरै मानिसका अगाडि बोल्न र विभिन्न मास कार्यक्रममा सहभागी हुन सक्छन् । नेपालमा पछिल्लो समय टेलिभिजन रियालिटी सो पनि फस्टाएको छ । जसले लुकेर रहेका क्षमतालाई बाहिर मात्र ल्याइरहेको छैनन् क्षमतावान् व्यक्तिलाई स्थापित गर्न मलजल गरेको छ । बालबालिकाकेन्द्रित यस्ता रियालिटी सोलाई प्रतिस्पर्धात्मक कार्यक्रमभन्दा पनि क्षमता अभिवृद्धि गर्ने प्लाटफर्मका रूपमा अभिभावकले बुझ्नुपर्छ । यस्ता स्टेज कार्यक्रमले बालबालिकालाई अनुभवसँगै भविष्यमा मेहनत गर्न थप मलजल हुन्छ ।
बालापनमा भएका यस्ता हौसलाले गर्दा नै हो धेरै मानिस जो रेडियो टेलिभिजनमा बोल्न सक्ने, रिपोर्टिङ गर्न सक्ने भएका । सायद बालापनमा यस्ता अवसर नपाएकाले ठूलो भएपछि पनि आफ्ना रहर पूरा गर्न सक्दैनन् । त्यसैले बालबालिकाको इच्छा र चाहना बुझेर अभिभावकहरूले उनीहरूलाई सही बाटो देखाउन सहयोग गरौँ र हौसला दिउँ ।