इमान सिं राना
रामपुर (पाल्पा), मंसिर ३ गते । जनकल्याण माध्यमिक विद्यालय रामपुर नगरपालिका –१०, रामटारमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । रम्भा –१ हुँगी घर भई हाल अस्ट्रेलियामा रहनु भएका विनोद कडरियाले न्यून आर्थिक अवस्थाका परिवारका ४५ जना विद्यार्थीलाई स्विटर प्रदान गरिएको हो ।
विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले आफ्नो ठाउँको आवश्यकतालाई महसुश गरेर प्रदान गर्नुभएको सहयोगले निम्न परिवारका विद्यार्थीलाई राहत पुगेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले विद्यालयको आवश्यकतालाई मध्यनजर गदै न्यानो कपडा सहयोग गर्नु भएकोमा सहयोगी दाता कडरियालाई धन्यवाद ज्ञापन गर्नुभयो । प्रधानाध्यापक आनन्दप्रसाद भण्डारीले न्यून आयस्तर भएका विद्यार्थीलाई आवश्यकताको आधारमा न्यानो कपडा वितरण गरिएको जानकारी दिनुभयो ।
जगतेआँप शहरी स्वास्थ्य केन्द्रका प्रमुख जगन्नाथ भण्डारीले जाडोको समयमा विद्यार्थीहरु न्यानो कपडा नलगाई हिँडेको देखेपछि सहयोगका लागि विनोद कडरियालाई आग्रह गरेर कपडा वितरण गर्न सम्भव भएको बताउनुभयो । जाडोको समयमा न्यानो कपडा पाएपछि विद्यार्थी खुशी भएका छन् ।