• ३ मंसिर २०८२, बुधबार

वैदेशिक सहायता परिचालन : विषयगत प्रश्नोत्तर

blog

वैदेशिक सहायता परिचालन 

१. वैदेशिक सहायतालाई नेपालको राष्ट्रिय प्रणालीसँग तादात्म्यता कायम गरी परिचालन गर्न के गर्नु पर्ला ? लेख्नुहोस् ।

नेपालको संविधानले वैदेशिक सहायता लिँदा राष्ट्रिय आवश्यकता र प्राथमिकतालाई आधार बनाउँदै यसलाई पारदर्शी बनाउने र वैदेशिक सहायताबाट प्राप्त रकम राष्ट्रिय बजेटमा समाहित गर्ने नीति लिएको छ । वैदेशिक सहायता परिचालन नीति, २०८२ ले राष्ट्रिय आवश्यकता र प्राथमिकता प्राप्त क्षेत्रमा वैदेशिक सहायता परिचालन गर्न जोड दिएको छ । वैदेशिक सहायतालाई राष्ट्रिय प्रणालीसँग तादात्म्यता कायम गरी परिचालन गर्न देहायबमोजिमका कार्य गर्नु पर्छ :

आवधिक योजनाले पहिचान गरेका विषय क्षेत्रगत नीति तथा प्राथमिकता अनुरूप कार्यक्रम कार्यान्वयन गर्ने,

सङ्घ, प्रदेश र स्थानीय तहका विषय क्षेत्रगत नीति, वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत घोषणा भएका कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्ने,

सरकारले अन्तराष्ट्रिय तहमा व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न तय गरिएका कार्यक्रम कार्यान्वयन गर्ने,

विकास साझेदारका साझेदारी खाका/रणनीति र राष्ट्रिय प्राथमिकताबिच तादात्म्यता कायम हुने गरी वैदेशिक सहायता परिचालन गर्न प्राथमिकता दिने,

सार्वजनिक खरिद, लेखाङ्कन, प्रतिवेदन, लेखापरीक्षण, सामाजिक तथा लैङ्गिक मुद्दा, वातावरणीय प्रभावलगायतका विषय सम्बोधन गर्दा राष्ट्रिय कानुन र प्रणालीसँग सामञ्जस्य हुने गरी सहायता परिचालन गर्ने,

सहायतालाई सङ्घ, प्रदेश र स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रममा समावेश गरी सरकारी कोषमार्फत परिचालन गर्ने,

वैदेशिक सहायतामा सञ्चालित आयोजना तथा कार्यक्रम सम्भव भएसम्म सरकारको विद्यमान संरचना र जनशक्तिबाटै कार्यान्वयन गर्ने,

विपत् व्यवस्थापन, वातावरण संरक्षण र जलवायु परिवर्तनका असरलाई अनुकूलन र न्यूनीकरण गर्न बनाइएका योजना तथा खाका कार्यान्वयन गर्न सहायता परिचालन गर्ने,

व्यापारसम्बन्धी पूर्वाधार विकास, व्यापार सहजीकरण, व्यापार क्षमतामा अभिवृद्धि र निकासीसम्बन्धी उद्योगको स्थापना गर्न व्यापारका लागि प्राप्त हुने वैदेशिक सहायता परिचालन गर्ने ।

अन्त्यमा वैदेशिक सहायताको प्रभावकारिता सम्बन्धमा राष्ट्रिय स्वामित्वलाई महत्वपूर्ण सिद्धान्तको रूपमा लिइन्छ । विकासको राष्ट्रिय मार्गचित्र अनुसार वैदेशिक सहायता परिचालन गर्न सकिएमा सहायताको प्रभावकारिता बढेर जान्छ । यसले सहायताको दोहोरोपना र दुरुपयोगलाई नियन्त्रण गर्छ । विकासका राष्ट्रिय मुद्दासमेत दातृ निकायका स्वार्थ र सर्तबाट प्रभावित हुन पाउँदैनन् । त्यसैले, राष्ट्रिय प्राथमिकता, प्रणाली र प्रव्रिmया अनुसार वैदेशिक सहायता परिचालन हुनुपर्ने कुरामा जोड दिनु पर्छ । साथसाथै राष्ट्रिय प्रणालीको क्षमता, दक्षता र प्रभावकारिता वृद्धिमा पनि उत्तिकै ध्यान दिनु पर्छ । 


२. नागरिक एपमा के कस्ता सेवा आबद्ध गर्न सकिन्छ ? चर्चा गर्दै नागरिक एप सञ्चालन तथा व्यवस्थापन गरी सेवा प्रदान गर्ने सम्बन्धमा सेवा प्रवाह गर्ने निकायको जिम्मेवारी उल्लेख गर्नुहोस् । 

विभिन्न सरकारी निकायले अनलाइन माध्यमबाट नागरिकलाई प्रदान गर्दै आएका सबै प्रकारका सेवा एकीकृत रूपमा एउटै प्लेटफर्मबाट उपलब्ध गराउन नेपाल सरकारले नागरिक एप विकास गरी सञ्चालनमा ल्याएको छ । सबै सरकारी सेवालाई एउटै सफ्टवेयर प्रणालीमा आबद्ध गरी सार्वजनिक सेवामा नागरिकको सहज र सरल पहुँच स्थापित गर्न नागरिक एप सहयोगीसिद्ध हुने विश्वास लिइएको छ । 

नागरिक एपमा आबद्ध हुने सेवा :

नागरिक एपमा देहायका सार्वजनिक निकायबाट प्रदान हुने सेवालाई आबद्ध गरी प्रवाह गर्न सकिन्छ :

नेपाल सरकारका मन्त्रालय, विभाग, निकाय तथा कार्यालय,

अदालत, संवैधानिक निकाय, आयोग तथा सचिवालय,

प्रदेश सरकार र सो अन्तर्गतका निकाय,

स्थानीय तह,

विश्वविद्यालय, महाविद्यालय तथा विद्यालय,

नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेका प्रतिष्ठान, बोर्ड, समिति, प्राधिकरण, कम्पनी, आयोग, नियोग वा यस्तै किसिमका निकाय ।

उल्लिखित निकायबाट सेवा प्रवाह गर्दा निजी क्षेत्रका निकायको समेत आबद्धता गर्नुपर्ने भएमा तोकिएको प्रक्रिया पु¥याइ नागरिक एपमा अन्तर आबद्धता कायम गर्न सकिन्छ ।

सेवा प्रदायकको जिम्मेवारी :

नागरिक एप सञ्चालन तथा व्यवस्थापन गरी सेवाग्राहीलाई सेवा प्रदान गर्ने सम्बन्धमा सेवा प्रदायकको जिम्मेवारी यस प्रकार रहन्छ :

सेवाग्राही कानुनबमोजिम आफैँ उपस्थित भई सेवा लिनुपर्ने अवस्था भएकोमा बाहेक नागरिक एपमार्फत सेवा प्रवाह गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने,

विद्युतीय प्रणालीबाट प्रवाह हुने सेवालाई नागरिक एप प्रयोगकर्ताले चौबिसै घण्टा प्रयोग गर्न सक्ने व्यवस्था मिलाउने, आफ्नो विद्युतीय सूचना प्रणालीलाई दुरुस्त राखी नागरिक एपमार्फत प्राप्त आवेदन रुजु तथा जाँचबुझ गर्ने,

रुजु तथा जाँचबुझ गर्दा थप विवरण आवश्यक पर्ने देखिएमा सोको जानकारी एप प्रयोगकर्तालाई दिने,

नागरिक एपमा आबद्ध हुने प्रणालीको नियमित रूपमा प्राविधिक परीक्षण गरी देखिएका समस्या समाधान गर्ने,

नागरिक एपमार्फत प्रवाह हुने सेवा नियमित, भरपर्दो, गुणस्तरीय र पहुँचयोग्य बनाई सेवा प्रवाह गर्ने,

नागरिक एपमार्फत आवेदन प्राप्त भएको विषयको प्रगति विवरणको विषयमा सोही एपमार्फत आवेदकलाई सूचना दिने,

नागरिक एपमा आबद्धता तथा सञ्चालनको विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले दिएको निर्देशनबमोजिमका कार्य गर्ने ।

अन्त्यमा नागरिकलाई एउटै एपको माध्यमबाट सबै प्रकारका सरकारी सेवामा पहुँच दिलाउन सरकारले नागरिक एप सञ्चालनमा ल्याएको छ । नागरिक एप प्रयोगकर्ताको सङ्ख्या बढाउन तथा यसलाई थप प्रभावकारी बनाउँदै लैजान सेवाप्रदायक निकाय जिम्मेवार बन्नु पर्छ । 

३. अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ ले उल्लेख गरेका अपाङ्गता भएका व्यक्तिका अधिकारसम्बन्धी सामान्य सिद्धान्त जानकारी गराउँदै नेपालमा अपाङ्गताको वर्गीकरणसम्बन्धी प्रचलित कानुनी व्यवस्था उल्लेख गर्नुहोस् । साथै अपाङ्गता भएका व्यक्तिका अधिकारको सूची तयार गर्नुहोस् ।

नेपाल पक्ष भएका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमध्ये अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि पनि एक हो । यस महासन्धिले अपाङ्गता भएका व्यक्तिहरूका राजनीतिक, नागरिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार संरक्षण, संवर्धन तथा प्रवर्धन गर्न पक्ष राष्ट्रलाई बाध्य बनाएको छ । नेपालले पनि महासन्धिबाट सिर्जित दायित्व पूरा गर्न काम गर्दै आएको छ । नेपालको राष्ट्रिय कानुनले अपाङ्गताको वर्गीकरण गरी अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र उपलब्ध गराई अधिकार उपभोग गर्न सहज बनाएको छ । अपाङ्गता भएका महिला र बालबालिकाका लागि थप अधिकारको व्यवस्था गरिएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विशेष कानुनले गरेको व्यवस्थाका अतिरिक्त अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्ति सरह समान आधारमा प्रचलित कानुनबमोजिम प्रदत्त अधिकारको उपभोगको गर्न सक्ने प्रबन्ध गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि सामान्य सिद्धान्त :

व्यक्तिमा अन्तरनिहित मर्यादाको सम्मान,

आफ्ना लागि आफैँ छनोट गर्न पाउने स्वतन्त्रतालगायत वैयक्तिक स्वायत्तता तथा व्यक्तिको स्वतन्त्रताको सम्मान,

गैरभेदभाव,

समाजमा पूर्ण र प्रभावकारी सहभागिता तथा समावेशीकरण,

मानव विविधता एवं मानवीयताको अङ्गको रूपमा अपाङ्गता भएको व्यक्तिको स्वीकार्यता र भिन्नताको सम्मान,

अवसरमा समानता,

पहुँचयोग्यता,

पुरुष र महिलाबिच समानता,

अपाङ्गता भएका बालबालिकाको विकासोन्मुख क्षमताको सम्मान,

अपाङ्गता भएका बालबालिकाको आफ्नो पहिचानको संरक्षण गर्न पाउने अधिकारको सम्मान ।

अपाङ्गताको वर्गीकरण :

क) शारीरिक अङ्ग वा प्रणालीमा भएको समस्या वा कठिनाइका आधारमा ः

शारीरिक अपाङ्गता,

दृष्टिसम्बन्धी अपाङ्गता,

सुनाइसम्बन्धी अपाङ्गता,

श्रवण दृष्टिविहीन अपाङ्गता,

स्वर र बोलाइसम्बन्धी अपाङ्गता,

मानसिक वा मनोसामाजिक अपाङ्गता,

बौद्धिक अपाङ्गता,

अनुवंशीय रक्तश्राव –होमोफिलिया) सम्बन्धी अपाङ्गता,

अटिज्मसम्बन्धी अपाङ्गता,

बहुअपाङ्गता ।

ख) अशक्ततताको गम्भीरताको आधारमा :

अ) पूर्ण अशक्त अपाङ्गता : आफ्नो दैनिक क्रियाकलाप सम्पादन गर्न निरन्तर रूपमा अरूको सहयोग लिँदा पनि कठिनाइ हुने अवस्थाको व्यक्ति ।

आ) अति अशक्त अपाङ्गता : वैयक्तिक क्रियाकलाप सम्पादन गर्न तथा सामाजिक क्रियाकलापमा संलग्न हुन निरन्तर रूपमा अरूको सहयोग लिनुपर्ने अवस्थाको व्यक्ति ।

इ) मध्यम अपाङ्गता : भौतिक सुविधा, वातावरणीय अवरोधको अन्त्य, शिक्षा वा तालिम भएमा अरूको सहयोग लिई वा नलिई नियमित रूपमा दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने व्यक्ति ।

ई) सामान्य अपाङ्गता : सामाजिक तथा वातावरणीय अवरोध नभएमा नियमित रूपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने व्यक्ति ।

अपाङ्गता भएका व्यक्तिका अधिकार : 

भेदभावविरुद्धको अधिकार,

सामुदायिक जीवनको अधिकार,

संरक्षणको अधिकार,

राजनीतिक सहभागिताको अधिकार,

नीति निर्माणमा सहभागिताको अधिकार,

संस्था खोल्ने अधिकार,

सांस्कृतिक जीवनमा सहभागी हुने अधिकार,

सेवा, सुविधा तथा न्यायमा पहुँचको अधिकार,

सामाजिक सुरक्षाको अधिकार, सूचना तथा जानकारीको अधिकार,आवतजावतको अधिकार,

अन्य व्यक्तिसरह समान आधारमा प्रचलित कानुनबमोजिम प्रदत्त अधिकारको उपभोग गर्न पाउने अधिकार ।

अपाङ्गता एक अवरोधजन्य अवस्था हो । यसले व्यक्तिलाई मानव अधिकारको उपभोग गर्नमा बाधा सिर्जना गर्छ । अपाङ्गताका कारण राजनीतिक, नागरिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्न अपाङ्गता भएका व्यक्तिका लागि विशेष व्यवस्था आवश्यक पर्छ । 

अन्त्यमा अपाङ्गता भएका व्यक्तिका अधिकार सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले गरेका व्यवस्थाको इमानदारिताका साथ कार्यान्वयन गर्न तिनै तहका सरकार जिम्मेवार र जवाफदेही बन्नु पर्छ ।


४. सार्वजनिक खरिदका विधि उल्लेख गर्दै परामर्श सेवा खरिदका सम्बन्धमा प्रचलित खरिद कानुनमा व्यवस्था गरिएका विविध पक्ष प्रस्तुत गर्नुहोस् । 

सार्वजनिक निकायले सार्वजनिक प्रयोजनको लागि मालसामान, निर्माण कार्य, परामर्श सेवा वा अन्य सेवा खरिद गर्ने कार्यलाई सार्वजनिक खरिद भनिन्छ । सार्वजनिक खरिद ऐन, २०६३ ले सार्वजनिक खरिदका लागि देहायका विधि प्रयोग गर्न सकिने भनी उल्लेख गरेको छ ।

क) मालसामान, निर्माण कार्य वा अन्य सेवा खरिद गर्दा :

अन्तराष्ट्रियस्तरमा खुला बोलपत्र आह्वान,

राष्ट्रियस्तरमा खुला बोलपत्र आह्वान,

सिलबन्दी दरभाउपत्र आह्वान,

सोझै खरिद,

उपभोक्ता समिति वा लाभग्राही समूहलाई सहभागी गराई हुने खरिद, अमानत विधि,

एकमुष्ट दर विधि,

उत्पादक वा अधिकृत बिक्रेताद्वारा निर्धारित दरमा –क्याटलग सपिङ विधि) खरिद गर्ने विधि,

सीमित बोलपत्रदाताले भाग लिने –लिमिटेड टेन्डरिङ) खरिद विधि,

नयाँ लिने पुरानो दिने –बाई ब्याक मेथड) खरिद विधि,

ख) परामर्श सेवा खरिद गर्दा :

प्रतिस्पर्धात्मक प्रस्ताव माग गरी खरिद गर्ने विधि,

सोझै वार्ताबाट खरिद गर्ने विधि,

परामर्श सेवा खरिदका विविध पक्ष :

कुनै सङ्गठनले आफ्नो आन्तरिक जनशक्तिबाट सम्पादन हुन नसक्ने विशिष्ट प्रकृतिका कार्य सम्पादन गर्न बाह्य विज्ञ वा परामर्शदाताबाट सेवा लिन सक्ने कानुनी व्यवस्था गरिएको छ । यस्तो कार्यलाई परामर्श सेवा खरिद भनिन्छ । यस अन्तर्गत व्यावसायिक सल्लाह, अध्ययन, अनुसन्धान, मूल्याङ्कन, व्यवस्थापन तथा तालिमसम्बन्धी सेवा खरिद पर्छन् । सार्वजनिक खरिद कानुनमा परामर्श सेवा खरिदका सम्बन्धमा उल्लेख गरिएका विविध पक्ष यस प्रकार छन् :

क) लागत अनुमान तयार गर्दा देहायका विषयमा विचार पु¥याउनुपर्ने,

खरिदसम्बन्धी सम्पूर्ण काम एउटै खरिद सम्झौताबाट हुन सक्ने वा काम पिच्छे छुट्टै खरिद सम्झौता गर्नुपर्ने, खरिद सम्झौता नवीकरण गर्न पर्ने वा नपर्ने,

खरिदको अन्य कुनै विकल्प भए त्यस्तो विकल्प,

खरिद सम्झौताबमोजिमको काम सम्पन्न गर्नका लागि लाग्न सक्ने अधिकतम रकम तथा समय, र

सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्धारण गरेका अन्य कुरा ।

ख) लागत अनुमान तयार गर्दा देहायका आधारहरू लिनुपर्ने,

सम्बन्धित मन्त्रालयले परामर्श सेवाको लागत अनुमानसम्बन्धी नम्र्स तयार गरेको भए त्यस्तो नम्र्स,

सम्बन्धित परामर्श सेवाको कार्य क्षेत्रगत सर्त,

सम्बन्धित सार्वजनिक निकाय वा अन्य सार्वजनिक निकायले चालु वा अघिल्ला वर्षमा सोही प्रकृतिको खरिद गर्दा लागेको वास्तविक लागत,

लागत अनुमान तयार गर्दा अघिल्ला वर्षको दरमा मूल्य समायोजन गरी तयार गर्नुपर्ने,

ग) लागत अनुमान तयार गर्दा देहायका खर्चहरू खुलाउनुपर्ने,

मुख्य जनशक्ति वा अन्य जनशक्तिको पारिश्रमिक,

पारिश्रमिकबाहेका अन्य खर्च जस्तैः भ्रमण खर्च, जनशक्तिको बसोबास खर्च, कार्यालय खर्च, मालसामान उपकरण र सेवा खर्च, प्रतिवेदन र अन्य कागजातको अनुवाद, छपाइ खर्च, परामर्शदाताले तालिम, गोष्ठी वा भ्रमणको व्यवस्था गर्नुपर्ने भए त्यस्तो कार्यका लागि लाग्ने खर्च र 

अन्य खर्च ।

घ) लागत अनुमान स्वीकृति देहायबमोजिम हुने,

२० लाख रुपियाँसम्मको लागत अनुमान राजपत्राङ्कित तृतीय श्रेणीको कार्यालय प्रमुखबाट,

५० लाख रुपियाँसम्मको लागत अनुमान राजपत्राङ्कित द्वितीय श्रेणीको कार्यालय प्रमुखबाट,

एक करोड रुपियाँसम्मको लागत अनुमान राजपत्राङ्कित प्रथम श्रेणीको कार्यालय प्रमुखबाट, र

एक करोड रुपियाँभन्दा बढी रकमको लागत अनुमान विभागीय प्रमुखबाट । 

ङ) परामर्श सेवा खरिद सम्झौता : 

सार्वजनिक निकायले परामर्श सेवा खरिद गर्नका लागि देहायका सम्झौतामध्ये कुनै एक सम्झौता गरी खरिद गर्न सक्छ :

एकमुष्ठ रकम सम्झौता, समयबद्ध सम्झौता,

कार्य सम्पन्नताको आधारमा शुल्क दिइने सम्झौता,

प्रतिशतमा आधारित सम्झौता,

सेवा समय निश्चित नभएको सम्झौता ।

अन्त्यमा खरिद मूल्य र अवस्था अनुसार उपयुक्त खरिद विधि छनोट गरी सार्वजनिक खरिद कार्य गरिन्छ । जटिल एवं विशिष्ट प्रकृतिको कार्य सम्पादन गर्नका लागि पेसागत विज्ञबाट सेवा प्राप्त गरी सरल र सहज रूपमा कार्यसम्पादन गर्न परामर्श सेवा खरिद गरिन्छ । कानुनले व्यवस्था गरेबमोजिम आफ्नो निकायमा उपलब्ध जनशक्तिबाट कार्य सम्पादन गर्न नसकिने कार्यका लागि मात्र परामर्श सेवा खरिद गरी उपयोग गर्न जोड दिनु पर्छ ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा