• १० मंसिर २०८१, सोमबार

लिटल फ्लावर प्रिमियर लिग–७ को ट्रफी सार्वजनिक, तयारी पूरा

blog

काठमाडौं, माघ २० गते । धनगढीमा शनिबारबाट सञ्चालन हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को तयारी पूरा भएको छ ।

आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले आज फाप्ला क्रिकेट मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । सोही अवसरमा प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रीय सदस्य तथा कैलाली अध्यक्ष विक्रम विष्टले ट्रफी सार्वजनिक गर्नुभएको हो । 

प्रतियोगिताको प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नुहुनेछ । यो संस्करणमा १० टिमको सहभागिता छ । फाप्ला क्रिकेट मैदानमा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई दुई लाख ५१ हजार एक सय ११ र उपविजेतालाई एक लाख २५ हजार पाँच सय २५ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद पाँच हजार र प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’लाई दुई हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक विद्यालयले आफ्नो टिममा चार जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् । विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाइ छ ।