घाम पोखिएर
आकाशको झ्यालबाट
बजिरहेका छन्
बिहानीका प्रभाती बाँसुरीहरू,
छर्लङ्ग देखिन थाल्यो उज्यालो
प्रेमको गहिराइहरूमा नीलो भएका
पानीका धारिला अनुहारहरूमा,
धेरैले नाचिसकेको
नृत्यमुद्राको सरगम चुँडाल्न
उक्लिरहेका छन् आरोहीहरू
जिउँदो हिमालको चिसो थाप्लोहरूमा,
आफ्नै आँखाजस्तो
फराकिलो रङ्गमञ्चमा
गाउन थाल्यो– युग गायकले
उर्लिरहेको नदीको धार टेकेर
शताब्दीकै सबैभन्दा बाक्लो
अन्धकार पखाल्ने गीतहरूको बान्की,
छेवैमा
गीतले मातिएझैँ देखिएकी
किशोरी नर्तकी
धानिरहन्छे बूढीऔँलाले
पाठेघरभित्रको माया लाग्दो पृथ्वी,
मान्छेसँग मान्छे फुटाउने रहरले
एक हुल मन्दिर गइरहेका छन्
अर्को हुल मस्जित
अर्काे हुल चर्च
फेरि अर्काे अर्काे हुल
गुम्बा ससाना चैत्य घुमिरहेका छन्,
खेत बाँझो भएर
मान्छेको ओठहरू पट्पटी फुटिरहेको बेला
जन्मने बित्तिकै
भोकको खरानीले प्रौढ हुने सक्ने डरले
मानिसका आकारहरू
उज्यालोमै थुतुनो लुकाइरहन्छन्,
सर्कसको पीङको लट्ठाजस्तै भएर
चुँडिन सक्ने देशको भविष्य देखेर
कामिरहेको छ
हामीले हाम्रै हो भनेर काँधमा बोकेको समय,
प्रिय देश !
भोको पेटको आगोमा
नदीमा डुबेर बालुवा निकालिरहेकाहरूलाई
थाहा थियो
जीवनको अर्थ–
अन्तिममा उज्यालो नै हो भनेर !
परिपक्व उज्यालोले नै
आफूजस्तै बनाउन
अन्धकारलाई प्रेम गर्छ,
हिसाब गर्न छाडेरै प्रेम गर्छ,
कविताका शिल्पीहरूले–
अक्षरलाई प्रेम गरेझैँ प्रेम गर्छ ।