चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक २९ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ताप्लेजुङले विघटित संसद् पुनस्थापनाको माग गर्दै प्रदर्शन गरेको छ । विघटित संसद् पुनस्थापना तथा जेनजी आन्दोलनका क्रममा विध्वंस मच्चाउनेलाई कारबाहीको माग गर्दै एमाले ताप्लेजुङले शनिबार प्रदर्शन गरेको हो ।
एमालेले बृहत् जागरण सभा नाम दिएर सदरमुकाम फुङ्लिङ बजारमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा विघटित संसद पुनस्र्थापना गर्नुपर्ने, जेनजी आन्दोलनका क्रममा भएको बिध्वंसमा संलग्नलाई कारबाही गर्नुपर्नेजस्ता नारा लगाइएको छ । त्यस्तै लोकतन्त्र र संविधानको रक्षा गर, प्रतिगामी षड्यन्त्र मुर्दावादजस्ता नारा लगाइएको थियो ।
सदरमुकाम फुङ्लिङस्थित एमाले पार्टी कार्यालयबाट सुरु गरिएको प्रदर्शन बजार परिक्रमापछि कोणसभा गरिएको थियो । च्याब्रुङ (केः), नौमति बाजाजस्ता सांस्कृतिक प्रस्तुति पनि प्रदर्शनमा समावेश गरिएको थियो । यता कोणसभालाई एमाले पोलिटब्युरो सदस्य तथा ताप्लेजुङका इन्चार्ज तिलकुमार मेन्याङ्बो, कार्यबाहक जिल्ला अध्यक्ष दीपेन्द्र पोमु लगायतले सम्बोधन गर्नुभएको छ ।
विघटित संसद पुनस्थापना लगायतका माग राखेर गरिएको प्रदर्शन तथा जागरण सभामा जिल्लाका नौ वटै स्थानीयबाट पार्टीका अगुवा कार्यकर्ताहरू सहभागी भएका एमालेले जनाएको छ । पार्टीसँगै युवा, विद्यार्थी, महिलालगायत भातृ तथा जनवर्गीय सङ्गठनका पालिका, वडा कमिटीमा आबद्ध कार्यकर्ताहरू जागरण सभामा सहभागी हुनुभएको एमाले जिल्ला सचिव सन्तोषकुमार चाम्लिङ राईले जानकारी दिनुभयो ।