• २१ माघ २०७९, शनिबार

मिटरब्याजमा नयाँ शैली अपनाइँदै

blog

मिटरब्याजीको नाममा पारित भएको शिवराजकी डिल्ली बुढामगरको दुई कट्ठा जग्गासँगै रहेको एकतले घर ।

जानु पाण्डे

कपिलवस्तु, माघ १२ गते । मिटरब्याजीले तमसुकको साटो सादा खाली चेकमा हस्ताक्षर गराएर बैङ्कको कारोबार गर्ने र सम्पत्ति हत्याउने गरेको खुलेको छ । कपिलवस्तु शिवराज नगरपालिका–५ की डिल्ली बुढामगर पतिको मृत्युपछि जग्गा नामसारीका लागि मालपोत कार्यालय गएपछि त्यस्तो घटना भएको अनुसन्धानबाट देखिएको छ । 

चारकोठे पक्की घरसहित दुई कट्ठा क्षेत्रफलको जग्गा नामसारी गर्न जाँदा अपरिचित व्यक्तिको नाममा आफ्नो घरजग्गा देखिएपछि उहाँ झसङ्ग हुनुभएको थियो । मालपोत कार्यालय चन्द्रौटाले सो जग्गा रुपिन्द्रप्रसाद आचार्यका नाममा रहेको बताएपछि उहाँले आचार्यको खोजी सुरु गर्नुभयो । नगरपालिकाको वडा नं. ५, खैरीमा हरियाली आचार्य होटेल सञ्चालक रहेका आचार्यसँग भेट भएपछि मात्र उहाँले पति देउमन बुढाले पैसा लिएको र त्यही पैसाका आधारमा आफ्नो उठिबास भएको पाउनुभयो ।

रुपिन्द्रले देउमनको नाममा रहेको शिवपुर ९(ख) कित्ता नं. १६ (एक कट्ठा चार घुर) र कित्ता नम्बर १०९६ (१६ धुर) जग्गा दुई लाख ५० हजार रुपियाँमा २०७६ मङ्सिर ९ गते घरखर्चबापत बिक्री गरिएको राजीनामा पत्रले देखाएको छ । सो क्षेत्रमा प्रतिकट्ठा ३० लाख रुपियाँका दरले कारोबार हुँदै आएको छ । डिल्लीले देउमनका साथी प्रकाश रोक्कामगरसँग सोधपुछ गर्दा सो रकम रुपिन्द्रसँग लिएको थाहा पाउनुभएको थियो । जग्गा नामसारी गराएका रुपिन्द्रसँग देउमनको नाममा रहेको गरिमा विकास बैङ्कको सादा चेकसमेत रहेको डिल्लीले बताउनुभयो ।

प्रकाशले दुई लाख ५० हजार कर्जा लिएको बताए पनि रुपिन्द्रले कर्जा लिएको रकम बैङ्क खाता हेरेपछि थाहा हुने बताइएको थियो । देउमनको गरिमा विकास बैङ्कमा रहेको खातामा २०७७ मङ्सिर २० गते रुपिन्द्रको नामबाट छ लाख ५० हजार रुपियाँ जम्मा भएको देखिन्छ । खाताबाट पाँच दिनपछि छ लाख रुपियाँ चेकमार्फत निकालिएको छ । देउमनको हस्ताक्षर रहेको सादा चेक रुपिन्द्रसँग भएको हुँदा सो रकम निकालिएको समेत शङ्कास्पद देखिन्छ । 

गत साउनमा प्रकाशको मृत्यु भएपछि रुपिन्द्रले १२ लाख रुपियाँको चेक देखाउँदै असारसम्म भाका रहेकाले २० लाख दिए जग्गा पारित गर्ने बताएको डिल्लीले बताउनुभयो । बाख्रा पालेर जीविकोपार्जन गर्दै आउनुभएकी डिल्लीको आर्थिक अवस्था कमजोर भएका कारण रकम तिर्न नसक्ने अवस्था छ । सामान्य लेखपढ गर्न जानेका देउमनलाई दृष्टिबन्धक गराउने भनी रुपिन्द्रले लगेको मृत्युअघि प्रकाशले बताएका थिए । 

हस्ताक्षर गरिएको खाली चेकमार्फत कारोबार 

चन्द्रौटा बजार आसपास क्षेत्रमा ५० भन्दा धेरै जनासँग मिटरब्याजीबाट कारोबार भएको स्थानीय रहिस शाहले बताउनुभयो । बैङ्कले ऋण दिन नसकेपछि व्यवसायी र स्थानीय बासिन्दाले धेरै ब्याजदरमा कर्जा लिने गरेको चर्चा छ । रुपिन्द्रले कारोबार गर्दा तमसुक नबनाई हस्ताक्षर गरिएका सादा चेक माग्ने गरेको खुलेको छ । केही व्यक्तिको जग्गा नामसारी गरी लगानी गरेको देखिएको छ । शिवराज नगरपालिका–२ का पूर्ववडा सदस्यले समेत रुपिन्द्रबाट रकम लिन जग्गा पारित गराएको स्वीकार गर्नुभयो । उहाँले थप कुरा खोल्न चाहनुभएन । सो वडाका दुई जना वडा सदस्यले पनि रुपिन्द्रबाट मिटरब्याजीमा पैसा लिएका थिए ।

चन्द्रौटामा इलेक्ट्रिक पसल सञ्चालन गरेका हसनले १४ महिनाअघि साथीका लागि रुपिन्द्रसँग चार लाख रुपियाँ लगेकोमा त्यसमा पनि तमसुक गराइएन । सादा चेकमा नै हस्ताक्षर गराइएको थियो । तमसुक नबनाई रुपिन्द्रले छ लाखको चेक र थप दुई थान हस्ताक्षर गरेको सादा चेक लगेका थिए । ब्याज तिर्न नसकेपछि हसनका साथी भागेर भारतमा लुक्दै आएका छन् । साथी भागेपछि ब्याजचाहिँ हसनले तिर्दै आउनुभएको छ । उहाँले ब्याजबापत १४ महिनामा चार लाख छ हजार रुपियाँ रुपिन्द्रलाई नगदै बुझाएको बताउनुभयो । उहाँले ब्याज कम गरिदिन आग्रह गरे पनि रुपिन्द्रले तत्काल पैसा दिर्न दबाब दिएको फोन कलको रेकर्ड रहेको छ । 

आधा दर्जनभन्दा बढी मिटरब्याजी

नगरपालिकाभित्र मिटरब्याजीको जालो रहेको स्थानीय व्यापारी बताउँछन् । बैङ्कबाट मिलाएर ऋण लिने अनि त्यही रकम मिटरब्याजमा लगाउनेको गिरोह रहेको दाबी गरिएको छ । स्थानीयवासीका अनुसार चन्द्रौटा बजारमा हार्डवेयर पसल गर्ने तीन, खाद्यान्न पसल गर्ने एक, लक्ष्मी टोलमा मदिरा पसल गर्ने एक, खरेन्द्रपुरमा हार्डवेयर पसल गर्ने एक जनाले मिटरब्याजमा कारोबार गर्दै आएका छन् । पीडितहरूको जग्गा पारित गराउने र हस्ताक्षर गरिएका खाली चेक उनीहरूसँग हुने हुँदा प्रशासनमा जाँदा धम्की दिने एक पीडितले बताउनुभयो । 

रुपिन्द्रको विषय जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ठगी मुद्दा दायर भएपछि स्थानीय नेताहरू घटना मिलाउन चलखेल सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो तर घटनालाई मिलाउन स्थानीय नेताहरूले पीडित पक्षलाई पटक–पटक दबाब दिएका छन् ।