• १५ चैत २०८०, बिहिबार

हिमाली जिल्लामा हिमपात : जनजीवन प्रभावित, हिउँदे बालीलाई राहत

blog

कर्णाली प्रदेश ब्युरो

सुर्खेत, माघ ११ गते । यस वर्षको हिउँदे हिमपात सुरु भएको छ। मङ्गलबार बिहानदेखि कर्णालीका हिमाली जिल्लामा हिमपात सुरु भएको छ। पहाडी जिल्लामा हिउँदे वर्षा भएको छ। हिमपातसँगैको बर्सातले जनजीवन प्रभावित भए पनि हिउँदे बाली लगाएका किसानलाई राहत भएको छ। 

यसपालि हिमपात र हिउँदे वर्षा हुँदैन कि भन्ने किसानलाई चिन्ता थियो तर मङ्गलबारदेखिको हिमपात र वर्षाले यो चिन्ता हटेको छ। हिमपातपछि चिसो पनि अत्यधिक बढेको छ।

जुम्ला समाचारदाताका अनुसार जुम्लामा मङ्गलबार दिनभर हिउँ परेको छ। यसपालिको हिउँदमा पहिलो पटक हिउँ परेको हो। जुम्ला सदरमुकामसहित जिल्लाभरि हिउँ परेको छ। यस क्षेत्रमा करिब आधा फिट हिउँ परेको छ।

दिनभर लगातारको हिमपातपछि यहाँको जनजीवन प्रभावित भएको छ। दिनभर हिउँ परेपछि जुम्लावासी घरभित्रै आगो बालेर बसेका छन्। भारी हिमपातले जुम्लामा हवाई तथा स्थानीय यातायात सेवासमेत बन्द भएको छ।

जुम्ला विमानस्थलमा हिउँ जमेको तथा निरन्तर हिउँ परेका कारण जहाज जुम्ला आउन सकेको छैन। हिमपातले बजार क्षेत्र प्रायः बन्द छन्। सडकमा मानिस देखिएका छैनन्। हिमपातमा बालबालिका र ज्येष्ठ नागरिकलाई बढी असहज भएको छ। हिमपातले हिउँदे सिजनमा सञ्चालन भइरहेका शैक्षिक संस्था बन्द भएका छन्।

हिउँ परेपछि जुम्लाका किसान खुसी छन्। हिउँदे सिजनमा तापक्रम माइनसमा जाने भएकाले हिँउदे बालीमा पानीको सट्टा हिउँ पर्दछ। हिउँदे सिजनमा हिउँ उत्तम सिँचाइको एक मात्र माध्यम हो। हिउँ नपर्दा विशेष गरी जौ, गहुँलगायतका बाली सुक्न थालेका थिए । चन्दननाथ नगरपालिका–८ का किसान धनराशी भण्डारीले हिउँ परेपछि हिउँदे बालीको उत्पादन बढ्ने बताउनुभयो। उहाँले भन्नुभयो, “अब भने हिउँ परेपछि राहत हुने भएको छ। हिउँको प्रतीक्षामा हामीहरू थियौँ। अब सहज हुने भएको छ।”

मङ्सिर महिनापछि निरन्तर माइनस डिग्रीमा रहेको तापक्रम अहिले पनि माइनसमै छ। जसले गर्दा चिसो बढिरहेको छ। हावाहुरी चल्ने, बादल लाग्ने तर हिउँनपरेकाले सकस भइरहेको थियो। जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जुम्लाका अनुसार तापक्रम माइनस १.४ डिग्री रहेको छ।  हिउँ नपर्दा भने तापक्रम झन् चिसो थियो। तीन दिनअघि जुम्लाको तापक्रम माइनस ७ डिग्रीसमेत पुगेको कार्यालयले जनाएको छ। 

कालीकोट समाचारदाताका अनुसार मङ्गलबारदेखि जिल्लामा हिमपात भएको छ। बिहान ४ बजेबाट लगातार पानीसँगै परेको हिमपातले जिल्लाका उच्च भूभागका बस्ती सेताम्मे भएका छन्। तिलागुफा नगरपालिकाभित्रका प्रायः सबै बस्ती हिमपातले पुरिएका छन्। तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले लामो समयको खडेरीपछि हिमपात हुँदा कृषक खुसी भएको बताउनुभयो। हिमपातले चरिचरन पूरै पुरिएको छ। गाईबस्तुभन्दा भेडाबाख्रालाई हिमपातले समस्या पारेको बताइन्छ।

उपप्रमुख शाहीले एकातिर कृषकलाई राहत भएको छ भने अर्काेतर्फ बस्तुभाउ र मानिसको जनजीवन कष्टकर बनेको बताउनुभयो। जिल्लाको सबैभन्दा उच्च क्षेत्र तिलागुफा भएकाले सो क्षेत्रमा बाक्लो हिउँ जमेको छ। जिल्लाको रास्कोट नगरपालिका, सान्नीत्रिवेणाी गाउँपालिका, नरहरिनाथ गाउँपालिकालगायत सबै नौवटै स्थानीय तहमा हिमपात भएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले तिलागुफाको नाग्म, नगरपालिका केन्द्र गाल्जे, चिल्खाया, छाप्रे, शुभकालिका गाउँपालिका हाउडीका प्रहरी चौकी पनि हिमपातले छोपिएको बताउनुभयो। उच्च ठाउँमा भएकाले प्रहरी चौकी हिमपातले प्रभावित भएका हुन्। चार महिनापछि परेको वर्षाले ग्रामीण क्षेत्रका कृषक भने निकै खुसी भएका छन्। 

मुगु समाचारदाताका अनुसार अत्यधिक हिमपातका कारण मुगुको जनजीवन कष्टकर भएको छ। मुगुमा सोमबार रातिदेखि लगातार हिमपात भइरहेको छ। लगातारको हिमपातले मुगुको पूर्वी करान भेगका वडा, खत्याड गाउँपालिकाको खमाले, सेरी, कवा, चाकपाडे, लमेरा, कोटिलाला, गायत, सोरु गाउँपालिकाको, सोरुकोट, धैना, कालै, रुम र छायाँनाथ रारा नगरपालिकाको रारा, ताल्चा विमानस्थल, बाम शोभा, लिउडी मुन्दु, कोटिला, झ्यारी, रोवालगायतका क्षेत्रको जनजीवन कष्टकर बनेको छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावतले जानकारी दिनुभयो।

उहाँका अनुसार हिमपातका कारणले जिल्लाको सिमाना घुच्चीलेकमा नेपालगञ्ज र सुर्खेतबाट मुगु आउने सवारीसाधन रोकिएका छन्। उहाँले भन्नुभयो, “रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक पनि निकै समस्यामा परेका छन्।”

अघिल्लो हिउँदमा पुस पहिलो साताबाट हिमपात भए पनि यो वर्ष एक महिनापछि हिमपात सुरु भएको छ। हिमपातसँगै बढेको चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन्। चिसोले गर्दा भेडाबाख्रा र अन्य पशुचौपाया प्रभावित बनेको मुगमकार्मारोङ  गाउँपालिकाका–९ का कुशलाल रोकायाले  जानकारी दिनुभयो। 

जिल्लामा बाक्लो हिमपातका कारणले शैक्षिक संस्था र सरकारी कार्यालयको कामकाज प्रभावित भएको छ। हिमपातका कारणले  ताल्चा विमानस्थल पनि बन्द गरिएको छ।

छायाँनाथ रारा नगरपालिका–८ का  रामदत्त शाहीले भन्नुभयो, “यो वर्ष एक महिनाअगावै हिमपात भएकाले हिउँदे बालीको उत्पादन राम्रो हुनेमा सबै कृषक आशावादी छन्। उनीहरू खुसी भएका छन्।” उहाँका अनुसार अहिले खेत बारीमा लगाएका जौ र गहुँ बाली उम्रिने समय भएको र यही बेला हिमपात र पानी पनि परेकाले खेतीपातीका लागि राम्रो भएको हो।

हुम्ला समाचारदाताका अनुसार कर्णाली प्रदेशको उच्च हिमाली जिल्ला हुम्लामा यस वर्षको दोस्रो पटक हिमपात भएको छ। सोमबार रातिबाट बादल लागेको भए पनि मङ्गलबार बिहानबाट हिमपात सुरु भएको हो। निमित्त प्रमुख जिल्ला अधिकारी अमृतकुमार सुवेदीले बिहानैबाट अत्यधिक हिमपात भइरहेको जानकारी दिनुभयो।

बेलुकासम्म एक फिटभन्दा बढी हिमपात भएको र हिउँ अहिलेसम्म परिरहेको बताइन्छ। हिउँ जिल्लाका सातवटै गाउँपालिकाभरि परेको छ। सिमकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिमपात भएका कारण चिसो पनि अत्यधिक बढेको छ। उहाँले मङ्गलबार दिनभरि हिमपात भइरहेका कारण कार्यालयमा एक/दुई जनाबाहेक सेवाग्राहीसमेत नआएको बताउनुभयो। दिउँसोको तापक्रम माइनस ११ डिग्री सेल्सियससम्म पुगेको बताइन्छ। चिसो बढी भएपछि कर्मचारीले आगो बालेर कार्यालयमा सेवा प्रदान गरेका थिए।

हिमपातले चिसो बढेका कारण स्थानीयले पशुचौपायासमेत गोठमै बन्द गर्नु परेको छ। माघ ५ गते हुम्लामा पहिलो हिमपात भएको थियो। उक्त समयमा जमिनमा आधा फिट हिउँ जमेको थियो। सो हिउँ राम्रोसंग नबिलाएकै समयमा दोस्रो हिमपात भएको हो। 

हिमपात जारी रहेका कारण हवाई सेवासमेत अवरुद्ध  भएको छ। हिमपातले हवाई सेवा अवरुद्ध हुँदा यात्रुहरू रोकिएका छन्। जडीबुटीसमेत ढुवानी हुन सकेको छैन। स्थानीयलाई एक ठाउँबाट अर्को ठाउँ जानसमेत कठिन भएको बताइन्छ।