• ८ पुस २०८१, सोमबार

गुन बिर्सियो सुन सम्झियो

blog

“राजा पनि मान्छे हुन्”

पर्रर तालीले कोठा तरङ्गित बन्यो । कविता वाचन गर्ने युवकले अझ जोसिँदै कविता टुङ्ग्याए । त्रिचन्द्र कलेजका विद्यार्थीबीच यो कविताले खुबै चर्चा कमायो । त्यो समय थियो, २०३१ सालतिर । राजा वीरेन्द्रको राज्याभिषेक भर्खरै सकिएको समय । 

एक महिनापछि कविका अघिल्तिर केही मान्छे उभिन पुगे । तिनीमध्ये केही कविका चिनारु नै थिए । एक जनाले भने, “तपाईंलाई अञ्चलाधीशले बोलाउनुभएको छ, हामीसँग हिँड्नुस् ।”

कविका लागि यी घटना नौला थिएनन् । रत्नपार्कस्थित नेपाल विद्युत् कर्पोरेसनको कार्यालयबाट कवि लुखुरलुखुर तिनकै पछि लागे । अञ्चलाशीधले कविलाई झपार्ने शैलीमा सोधे, 

“राजालाई मान्छे किन भनेको ?”

“राजालाई मान्छे भन्ने ?”

“राजा तिमीजस्तै मान्छे हुन् ? कत्रो हिम्मत ?” 

अञ्चलाधीशको आदेशमा कविलाई प्रहरी ‘कस्टडी’मा पठाइयो । तिनै कवि अर्थात् गोपाल थपलिया पाँच दशकको सक्रिय पत्रकारिताबाट विश्राम लिँदै साहित्य लेखनको रसमा रम्न थाल्नुभएको छ । 

पञ्चायती व्यवस्थाका कठोर समयमा अधिकारका लागि बोल्नु र लेख्नु प्रहरी कस्टडीको बास निम्त्याउनु थियो । यद्यपि, अपहृत प्रजातन्त्र पुनस्र्थापनाका लागि केही पत्रकारले लेख्ने हिम्मत निकाली नै रहेका थिए । तीमध्ये एक थिए– गोपाल थपलिया । त्यो समयलाई नेपालको ‘लक्ष्यमुखी पत्रकारिता’को स्वर्णयुगका रूपमा समेत लिइन्छ । 

निरङ्कुश पञ्चायत व्यवस्थाविरोधी राजनीति, शिक्षण, पत्रकारिता, प्रेस स्वतन्त्रताको आन्दोलन, नागरिक अधिकारका लागि सङ्घर्षमा थपलियाले जीवनका महŒवपूर्ण समय व्यतीत गर्नुभयो । यसले गर्दा आफ्नो साहित्यिक व्यक्तित्व ओझेलमा परेको थपलिया बताउनुहुन्छ ।

२००६ असोज १५ गते दोलखा जिल्लाको तत्कालीन सुष्पाक्षमावती गाउँ विकास समिति–४ को डाँडाथोकमा जन्मिएका थपलिया निर्भीक र स्पष्ट वक्ता हुनुहुन्छ । उहाँको त्यो शैली दैनिक जीवन व्यवहार, राजनीति, पत्रकारिता र साहित्यमा समेत पाइन्छ । व्यक्तिगत ‘घाटा–नाफा’को हरहिसाब नगरी मनमा लागेका कुरा निर्धक्क राख्ने बानी उहाँको छ । त्यही बानीकै कारण उहाँले सरकारी जागिर चटक्कै त्यागेर राजनीति र पत्रकारिताको कठोर बाटो समात्नुभएको थियो । गृह मन्त्रालयको ठाडो आदेशमा नेपाल विद्युत् कर्पोरेसनबाट जागिर निकालापछि राजनीतिमै पूर्णकालीन बन्नुभएको थियो उहाँ । 

२०३४ सालमा जागिर निकाला हुँदा गृहको बेहोरा यस्तो थियो–

“अधिकृत पास गरेको, चरीकोट निवासी, विद्यार्थी जीवनदेखि माओवादी कम्युनिस्ट समर्थक, नयाँ शिक्षा योजना र श्री ५ को समेत बखत–बखतमा आलोचना गरी विद्यार्थीहरूलाई हडताल आदि गर्न उक्साउँदै आएको २०२९ सालमा नेपाल विद्युत् कर्पोरेसनमा जागिर खाएको र त्यसरी नोकरी गरिसकेपछि पनि निजको पुरानो विचारधारा नफेरिएको ।” 

क्लर्कबाट सेवा सुरु गरेका थपलियाले अधिकृत पदमा नाम निकाल्नुभयो तर कम्युनिस्ट भएको आरोपमा गृहको खराब रिपोर्टपछि भएको जागिर नै खोसुवामा प¥यो । त्यसपछिका दिनमा विद्यालयमा पढाउँदै राजनीतिक सङ्गठकका रूपमा गाउँगाउँमा पुग्नुभयो । विद्यार्थीकालदेखि नै पत्रकारिता र साहित्यप्रतिको उहाँको हुटहुटी बाँकी नै थियो । बीसको दशकमा चर्चित वामपन्थी रुझान राख्ने पत्रिका ‘एसियाली आवाज’बाट २०२६ सालबाटै उहाँले पत्रकारिता थाल्नुभएको थियो । त्यसपछिका दिनमा ज्वाला, चर्चा, जनबल, जागृति र डेली मिररजस्ता पत्रिकामा संवाददाता, स्तम्भकारका रूपमा उहाँ सक्रिय हुनुहुन्थ्यो । उहाँ सङ्गठित तत्कालीन नेकपा (माले)को योजनाअनुसार नै पत्रकारितामा सक्रिय बन्नुभयो । तत्कालीन नेकपा (माले)को मुखपत्रका रूपमा २०३६ सालबाट प्रकाशित ‘पौरख’को सम्पादकका रूपमा थपलियाले जिम्मेवारी सम्हाल्न थाल्नुभयो । उहाँले नेकपा (एमाले)को मासिक प्रकाशन ‘नवयुग’को सम्पादकका रूपमा समेत पार्टी र सङ्गठनमा योगदान दिनुभयो । 

उहाँले २०३९ सालदेखि आफ्नै सम्पादन तथा प्रकाशनमा छलफल प्रकाशन थाल्नुभयो । यसकै सहप्रकाशनका रूपमा ‘भ्वाइस अफ नेसन’को अङ्ग्रेजी भाषामा प्रकाशन सुरु गर्नुभयो जसले थपलियालाई पत्रकारिताका एक अग्रजका रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित गरायो । दक्षिण एसियाली स्वतन्त्र पत्रकार सङ्गठनको संस्थापक अध्यक्षको जिम्मेवारीसमेत लिई २०५७ सालदेखि २०६५ सालसम्म साफ्माको नेतृत्वको भूमिका निर्वाह गर्नुभयो । यसले २०६२÷६३ को आन्दोलनलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न र अन्तर्राष्ट्रिय मिडिया मिसन नेपाल ल्याएर आन्दोलनलाई अन्तर्राष्ट्रिय समर्थन जुटाउन महŒवपूर्ण भूमिका निर्वाह गरेको थियो । यस्ता गतिविधिले उहाँलाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे), युनेस्को नेपालको आमसञ्चार समितिजस्ता अन्तर्राष्ट्रिय सञ्जालको नेतृत्व गर्ने अवसरसमेत प्रदान ग¥यो । यसरी उहाँको पत्रकारिताको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा स्थापित बन्न पुग्यो । 

नेपाल पत्रकार महासङ्घका संस्थापक, नेपाल पत्रकार सङ्घ चितवन शाखाका संस्थापक अध्यक्ष, प्रेस चौतारी नेपालका संस्थापक र प्रगतिशील पत्रकार समूहका संस्थापक अध्यक्षका रूपमा समेत नेपाली पत्रकारिता क्षेत्रको आन्दोलनकारी नेतृत्व थपलियाले लिनुभएको थियो । उहाँले रेडियो नेपालको नीतिगत सुधार कार्यदलको सदस्य र राष्ट्रिय समाचार समिति सञ्चालक समितिको सदस्यका रूपमा समेत सरकारी सञ्चारमाध्यमको नीतिगत र व्यवस्थापकीय सुधारका क्षेत्रमा योगदान दिनुभएको छ । 

शाही शासनविरुद्ध २०६२/६३ मा जनआन्दोलनको उभार सिर्जनामा पत्रकारको भूमिका महत्वपूर्ण छ । त्यसको नेतृत्व नेपाल पत्रकार महासङ्घ, साफ्मालगायतका संस्थाले गरिरहेका थिए । त्यही क्रममा २०६२ साल चैत २४ का दिन आन्दोलनमा प्रहरी दमनमा परेर थपलियाको दाहिने हातको पाता भाँचियो । त्यति बेला सामान्य ठानेर हातमा काम्रो बाँधेर आन्दोलनमै रहेका थपलियामा केही समयपछि गम्भीर स्वास्थ्य समस्या देखियो । थला परेपछि थपलियाको दाहिनेतर्फको हातखुट्टा चल्न छाड्यो । ओछ्यानमा पल्टिएर एक्लै बस्दा सामाजिक सञ्जालमा सक्रियता बढाउन थाल्नुभयो । हात नचले पनि बूढी औँलाको भरमा सामाजिक सञ्जालमा सक्रिय हुन थाल्नुभयो । राजनीतिक एवं सामाजिक बेथितिप्रति कडा टिप्पणी, विचार, कविता लेख्ने क्रममा उहाँलाई कसैले सुझाइदिए–तिनै टिप्पणी, विचार र विश्लेषणलाई लघुकथाको रूप दिँदा हुन्छ । वरिष्ठ पत्रकार थपलिया भन्नुहुन्छ, “बिरामी भएर थलिएपछि साहित्य सिर्जनामार्फत परिचयको पुनर्जीवन पाएँ ।”

यद्यपि, उहाँको साहित्यिक यात्रा २०२५ सालबाटै सुरु भएको हो । एसियाली आवाजमा ‘सइसको घोडामा मालिकको रजाइँ’ कथा प्रकाशन उति बेलै भएको थियो । उहाँका लघुकथासङ्ग्रह ‘नायकको खोजी’ र कवितासङ्ग्रह ‘सत्ताको मान्छे’ प्रकाशित छन् । दुई पुस्तक प्रेसमा छन् । उहाँ भन्नुहुन्छ, “अखबारी लेखनका ठाउँमा यति बेला साहित्यिक लेखनमा सक्रिय छु ।”

सबै नेपाली उठौँ उठौँ

मिचाहाका विरुद्ध 

सारा एक भै जुटौँ जुटौँ ।

यसबीचमा उहाँका एक दर्जन गीत रेकर्ड भइसकेका छन् । उहाँका राष्ट्रिय भावका गीतमा शिशिर योगी, जीवन शर्मा, आनन्द कार्की, मधु गुरुङलगायतका स्वर रहेका छन् । 

उहाँको मूल कार्यपरिचय पत्रकारिता नै हो । पत्रकारिताकै क्रममा पटक–पटक गरी सात वर्ष जेल जीवन बिताउनुभयो । त्यसैले त उहाँ पत्रकारिताका भीष्मपितामह, प्रेस स्वतन्त्रताका सेनानी, मिसन पत्रकारिताका नायक, ‘फ्री फ्लो अफ इन्फर्मेसन च्याम्पियन’जस्ता उपाधिबाट विभूषित हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घ, नेपाल बार एसोसिएसनलगायत दर्जनौँ संस्थाबाट सम्मान तथा कदरपत्र प्राप्त गर्नुभएका थपलियाले वरिष्ठ पत्रकार सम्मान, प्रेस चौतारी नेपाल सम्मान, प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार, हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कारजस्ता दर्जनौँ सम्मान र पुरस्कार प्राप्त गर्नुभएको छ । यद्यपि, राजनीति र पत्रकारिता नसङ्लिएकोप्रति उहाँको गुनासो छ । उहाँ भन्नुहुन्छ, “हामीले सत्य लेख्न पाइएन भनेर हिजोका दिनमा सङ्घर्ष ग¥यौँ । जेल बस्यौँ । मुद्दा खेप्यौँ । आज स्वतन्त्रताको उपभोग गर्ने बेलामा मिडियाले सत्य लेख्न छाडेर नेता, गुट, पार्टीका कुरा लेख्न थाले । आजको पत्रकारिता गुटमा विभाजित छ ।”

उहाँ भन्नुहुन्छ, “मेरो केही गुनासो छैन । मैले लिनु पनि केही छैन । जनताको मुक्ति, सुख र समृद्धिका लागि आन्दोलनमा होमिएका हौँ । लोकतन्त्रको फाइदा केही नेता, तिनका पिछलग्गुले मात्र लिए । राम्रो कामको मूल्याङ्कन भएको छैन ।” 

भुइँमान्छे भुइँमै छन् । आन्दोलन र सङ्घर्षमा होमिएका लाखौँ मानिस बेवारिस छन् । लोकतन्त्र र गणतन्त्रका लागि जीवन त्याग र बलिदानको लेखाजोखा छैन । भुइँमान्छेको कुनै खोजी छैन । त्यही आन्दोलनले जन्माएको नेता सत्तामा पुगेपछि ऊ जनताको नेता बन्दैन । ऊ सत्ताको मान्छे बन्छ । यिनै भावानुभूतिसाथ गोपाल थपलियाको हुलिया परिवर्तन भएको छ, साहित्यकार । कवितासङ्ग्रह ‘सत्ताको मान्छे’मा उहाँ वर्तमानको विम्ब यसरी पोख्नुहुन्छ–

हिसाब बिर्सियो

नाफा सम्झियो

पढाइ बिर्सियो

किताब सम्झियो

समय बिर्सियो

घडी सम्झियो

गुन बिर्सियो

सुन सम्झियो ।