शिवशंकर मिश्रा
बारा, कात्तिक ६ गते । आज बिहीबारको दिन तराईमा भाइटीकाको झल्को र उल्लासले बेग्लै वातावरणलाई रमाइलो र उत्साह मय भएको छ । तराईका गाउँबस्तीदेखि शहरसम्म, दिदीबहिनीहरुले बिहानैदेखि नुहाएर शुद्ध व्रत बसेर सूर्य भगवानको पूजा अर्चना गर्दै आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै टीका र माला लगाई, मिठाइसहित फलफूल दिएका छन् ।
भाइटिका हिन्दूहरुको महत्त्वपूर्ण पर्वमध्येको एउटा ठुलो पर्व हो, जसले दाजुभाइ र दिदीबहिनीबिचको गहिरो प्रेम र आत्मीयतालाई अझ बलियो बनाएको छ । पुराण अनुसार, यस दिन यमराजले आफ्नी बहिनी यमी (यमुनादेवी) को घरमा गएर टीका ग्रहण गरेका किम्बदन्ती भेटिन्छ । सोही दिनदेखि सुरु भएको परम्पराले आजसम्म दिदीबहिनीहरुले दाजुभाइलाई टीका, अक्षता, मिठाइ र फलफूल अर्पण गरी जीवनभरको सुख, समृद्धि तथा सुरक्षाको कामना गर्छन । सोही अवसरमा दाजुभाइहरुले पनि उनीहरुको सम्मान र माया स्वरुप नगदसहित कपडा उपहार दिने गर्ने चलन रहेको छ ।
यो परम्परा तराईमा आजको दिनदेखि कात्तिक पूर्णीमासम्म मनाउने र (केराउको सानो दाना जसलाई बजरी) भनिन्छ, सो खुवाएर बज्र जस्तो जिउ, शरीर हुने बिश्वास रहेको कलैया उपमहानगर पालिका–३२ का पुरोहित पण्डित रामअयोध्या मिश्राले जानकारी दिनुभयो ।
यसरी बारा जिल्लाका विभिन्न स्थानहरुमा बिहानैदेखि मुख्य सडक र चोकमा महिलाहरुको भीड देखिएको छ । उनीहरुले सडकमा लाम लागेर सूर्य भगवानको पूजा गरी दाजुभाइको दीर्घ जीवन र स्वास्थ्यको लागि प्रार्थना गरेका छन् ।
प्रेम र सद्भाव झल्किने हिन्दुहरुको सम्पूर्ण समाजमा माया, एकता र पारिवारिक सम्बन्धलाई बलियो बनाउने यस पर्वले आजको दिन सबैको मुहारमा खुसी र उल्लास छाएको छ ।
भाइटीका केवल धार्मिक परम्परा मात्र होइन, यसले सामाजिक म्यासेज पनि फैलाउँछ, रगतको सम्बन्ध मात्र होइन, माया र कर्तव्यले पनि परिवार तथा समाजलाई एकतामा बाँध्ने पर्व पनि रहेको महिला अधिकारकर्मी शिला जैसवालले बताउनुभयो ।