• १० मंसिर २०८१, सोमबार

पुसमै फुल्यो स्याउ

blog

हुम्ला, पुस २८ गते ।  चैत–वैशाखमा फुल्नुपर्ने स्याउका बोट पुसमै फुल्न थालेका छन् । फुल्नुका कारण जलवायु परिवर्तन वा अरू नै यकिन भएको छैन । 

सिमकोट गाउँपालिका–७ को पालटसी गाउँका किसान कलबहादुर शाहीले आफ्नो स्याउ फार्ममा लगाएका बोटमध्ये तीनवटा ढकमक्क फुलेको बताउनुभयो । उहाँको फार्ममा डेढ सय स्याउका बोट छन् । उहाँले तीन वर्षदेखि ती बोट पुसमै फुल्ने गरेको बताउनुभयो । पहिलो वर्ष यही समयमा फुलेका बोटमा फलेका स्याउ जेठमा पाकेको जानकारी दिनुभयो । उहाँले गत वर्ष भने पुसमै फुले पनि हिमपातले सबै फूल झरेर फल नदिएको बताउनुभयो । 

पहिलो वर्षको स्याउ राम्रो उत्पादन भएको र स्वाद पनि मीठो भएको उहाँले सुनाउनुभयो । उहाँले गत वर्ष पहिले फुलेर हिमपातले फूल झारेपछि चैतमा पुन फुलेको बताउनुभयो ।  यी तीनबाहेक उहाँको बगैँचामा अन्य बोटमा टुसासमेत पलाएका छैनन् । फुलेका तीन बोटमा भने पातसमेत पलाइसकेका छन् । उक्त क्षेत्रमा अन्य किसानले पनि स्याउका बोट लगाउनुभएको छ तर कसैको पनि फुलेका छैनन् ।  

उक्त वडाका वडाध्यक्ष बलवीर शाहीले तापक्रम वृद्धि भएका कारण पुसमै स्याउ फुलेको हुन सक्ने बताउनुभयो । स्याउ फुलेपछि हिउँबाट बचाउन भने कठिन भएको उहाँले बताउनुभयो । उहाँले उक्त बगैँचामा मात्र नभएर गाउँका अन्य स्याउका बोट पनि अहिले फुलेको बताउनुभयो । 

उक्त क्षेत्र दुई हजार सात मिटर उचाइमा रहेको छ । ती स्याउका बोट रेड डेलिसियस जातका रहेका छन् । अघिल्लो वर्ष कमै फुलेको भए पनि यस पटक भने ती बोटमा धेरै फूल फुलेका छन् । 

सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले बाइमियल बियरिङ ह्याबिटका कारण बगैँचामा लगाएका कुनै बिरुवा यसरी समयअगावै फुल्ने गरेको बताउनुभयो ।

उहाँले अर्को कारण मौसममा आएको परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा पनि यसरी फूल फुलेको बताउनुभयो । 

स्याउका ठूला बगैँचामा लगाएका बोटमध्ये कुनै बिरुवा वर्षमा दुई पटक फल दिन सक्ने भएका कारण पनि हिउँदको समयमा ती बोट फुलेको बताउनुभयो । उहाँले ती बोटमा फुलेको फूल बचाउन सके आगामी जेठ÷असारमा स्याउ पाक्ने तर फूललाई बचाउन भने कठिन भएको बताउनुभयो । 

बोटमा फुलेका फूललाई हिमपातबाट बचाउन नसके साबिककै समयमा पुनः फूल फुल्ने पनि उहाँले बताउनुभयो । उहाँले तर फुलेर फलेका स्याउको गुणस्तर भने त्यति राम्रो नहुने बताउँदै अब थप अध्ययनको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले यसको अनुुसन्धानपछि यस्ता खालका बोटलाई विशेष किसिमले संरक्षण गरे फललाई गुणस्तरीय बनाउन सकिने समेत बताउनुभयो । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।