हुम्ला, भदौ ५ गते । सडक सञ्जालमा जोडिएपछि हुम्लावासीको जीवन सहज बन्दै छ । सडक सञ्जालकै कारण खाद्यान्न, निर्माण सामग्री र इन्धनको सहज उपलब्धताले यहाँको विकासनिर्माणको सम्भावना पनि विस्तार भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा २०५६ सालमा शिलान्यास भएको कर्णाली कोरिडोर अन्तर्गत खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा बेलिब्रिज निर्माण भएर गत असार २२ गते सञ्चालन भएसँगै हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । यससँगै सबै गाउँपालिका औपचारिक रूपमा सडक सञ्जालमा जोडिएका हुन् ।
२६ वर्षदेखि काम भइरहेको भए पनि हुम्लाको सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको थिएन । उक्त बेलिब्रिज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेर हुम्लावासीलाई बाँकी नेपालसँग सडक सञ्जालमार्फत जोड्नुभएको थियो । दक्षिणतर्फ नेपाल–भारत सीमाको नेपालगन्ज–जमुनाहादेखि उत्तरतर्फ हिल्सा हुँदै चीनतर्फको नाका जोड्ने यो कोरिडोर ६८२ किलोमिटर लामो छ ।
सडक सञ्जाल जोडिएपछि सिमकोटमा यात्रुवाहक बस र ट्रकले सुविधा र सामान पु¥याएका छन् । फलतः हुम्लामा मूल्य सस्तिएको छ । विशेष गरी खाद्यान्न, निर्माण सामग्री र इन्धनको मूल्यमा कमी आउनुका साथै आपूर्ति व्यवस्थामा सुधार भएको छ । निर्माण व्यवसायी सरोज रावतले हवाई ढुवानी गर्दाभन्दा सडकमार्गबाट आउने सबैखाले सामग्रीको मूल्य निकै घटेको बताउँदै हरेक कुरा सडक यातायातमा भरपर्ने अनुभूति भएको बताउनुभयो ।
उहाँका अनुसार विकासनिर्माणका सामानमा प्रतिकेजी डेढ सय रुपियाँसम्म मूल्य सस्तिएको छ । पहिले सिमेन्ट प्रतिबोरा साढे आठ हजार रुपियाँ पर्ने सिमेन्ट अहिले प्रतिबोरा दुई हजार रुपियाँमा झरेको छ । त्यसै गरी पहिले प्रतिकेजी २८० रुपियाँ पर्ने फलामे डन्डी हाल १२२ रुपियाँ, पहिले एक बन्डलको २२ हजार रुपियाँ पर्ने जस्तापाता हाल १३ हजार पाँच सय रुपियाँ, पहिले प्रतिकेजी ३५० पर्ने किलाकाँटी हाल किलोको १७० रुपियाँ र पहिले प्रतिकेजी तीन सय रुपियाँ पर्ने ग्याबिन जाली हाल प्रतिकेजी १४० रुपियाँमा पाइने उहाँले बताउनुभयो । यसले विकासनिर्माण योजनाको समग्र लागत घटाउने छ ।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीका अनुसार दैनिक उपभोग्य सामान पनि पहिलेको भन्दा १८० रुपियाँसम्म सस्तिएको छ । खाने तलेको मूल्य प्रतिलिटर साठी रुपियाँसम्म सस्तो भएको छ ।
यो ढुवानी दरमा आएको परिवर्तनका कारण हो । पहिले हवाईमार्गबाट ढुवानी हुँदा ढुवानी भाडा बढी पर्ने गरेकामा पैदलमार्गबाट आउन थालेपछि ढुवानी दर सस्तिएको उहाँले बताउनुभयो ।
सिमकोटस्थित टी सप्लायर्सका सञ्चालक तीर्थ बुढाले खाना पकाउने ग्यासको मूल्य सस्तिएर नयाँ सिलिन्डर चार हजार पाँच सय र भरेको ग्यासको सिलिन्डर साट्दा प्रतिसिलिन्डर दुई हजार सात सय रुपियाँ पर्ने बताउनुभयो । एक वर्षअघि नयाँ सिलिन्डरको सात हजार र भरेको पाँच हजार रुपियाँ पर्ने गर्दथ्यो ।
अन्य पेट्रोलियम पदार्थको मूल्य पनि प्रतिलिटर ५० रुपियाँसम्म घटेको छ । इन्धन व्यापारी रामकृष्ण बुढाथापाका अनुसार डिजेल प्रतिलिटर चार सय रुपियाँ पर्ने गरेकोमा हाल प्रतिलिटर १६५ रुपियाँ पर्छ । त्यस्तै पेट्रोल प्रतिलिटर पहिले पाँच सय पर्ने गरेकोमा हाल प्रतिलिटर २५० रुपियाँ पर्ने गरेको छ ।
सार्वजनिक यातायात चल्न थालेपछि हवाई टिकटको समस्या पनि हटेको छ । हिल्सासम्म सडक जोडिएपछि हवाई टिकट नपाउनेबित्तिकै यात्रुहरू पैदलमार्गको विकल्पमा लाग्ने गरेका छन् । दैनिक उपभोग्य सामान मात्र नभएर लत्ताकपडाको समेत मूल्य घटेको स्थानीय सुनकला रोकायाले बताउनुभयो ।
खाद्यान्न समस्या हट्यो
हुम्लावासी सधैँ भिडभाड र लामो लाइनमा बसेर खाद्यान्न खरिद गर्नुपर्ने बाध्यता हटेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हुम्लामा उपलब्ध गराउने कोटाको खाद्यान्न पैदलमार्गबाट ढुवानी हुँदा पर्याप्त रूपमा आउन थालेपछि खाद्यान्न समस्या हट्दै गएको छ ।
बिहान ५ बजेदेखि लाइनमा बसेर दिउँसो ३ बजे पाँच केजी खाद्यान्न पाउने अवस्थामा सुधार भएको छ । एक त कोटाको भर त्यसमाथि आवश्यक परेको समयमा सिमकोटमा खाद्यान्न नपुग्ने अवस्थामा सुधार भएको छ । चार वर्षअघिसम्म त दसैँमा दुई केजी चामल लिएर अक्षता बनाउने समस्या हुम्लावासी त्यो लिन पनि नेताका चिट, भनसुन र प्रमुख जिल्ला अधिकारीको कार्यालयमा धाउनुपर्ने बाध्यता थियो ।
सडक सञ्जाल जोडिएकै कारण खाद्यान्न आपूर्ति सहज हुँदा हुम्लावासीले खाद्यान्न लिन घन्टौँ लाइन बस्नुपर्ने बाध्यता हटेको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले बाउनुभयो । हवाईमार्गबाट खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यताले कहिल्यै निर्धारित कोटाको खाद्यान्न आइपुग्न नसकेको कारण खाद्यान्न कमी हुन्थ्यो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार हुम्ला जिल्लाको जनसङ्ख्या ५५ हजार ३९४ छ । यो जनसङ्ख्याका लागि लिमिटेडले जिल्लाकै माग अनुसार निर्धारण गर्ने खद्यान्न कोटा पर्याप्त भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताउनुभयो ।
अर्को कुरा जिल्लामा भएको जनसङ्ख्यामध्ये केही जिल्लाबाहिर बस्ने भएकाले पनि खाद्यान्न सहज रूपमा उपलब्ध हुने गरेको उहाँले बताउनुभयो । बजार मूल्यभन्दा लिमिटेडको खाद्यान्न सस्तो पनि पर्ने बताउँदै निर्धारित कोटाको खाद्यान्न पर्याप्त रहेको जानकारी दिनुभयो । नयाँ आवको खाद्यान्न ढुवानीको व्यवस्था नभए पनि हाल शाखाको गोदाममा खाद्यान्न मौज्दात राम्रो रहेको उहाँले बतााउनुभयो । अघिल्लो आवकै खाद्यान्न कोटामध्ये हाल डिपो र शाखामा गरी सात हजार १०१.६७ क्विन्टल खाद्यान्न मौज्दात रहेको उहाँको भनाइ छ ।
गत आव २०८२/८३ मा १३ करोड १९ लाख पाँच हजार ७५.४१ रुपियाँको खाद्यान्न बिक्री गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णबहादुर पुनमगरले बताउनुभयो । यो शाखा, डिपो र बिक्री केन्द्रमा बिक्री भएको १४ हजार ९३८.७८ क्विन्टल खाद्यान्न बिक्रीबाट प्राप्त भएको नगद हो । जिल्लाका लागि शाखा, डिपो र बिक्री केन्द्रका लागि २३ हजार २२७.१० क्विन्टल खाद्यान्न प्राप्त भएको थियो । हुम्लामा बासमती, जिरा मसिनो, अरुवा सोना मन्सुली, अरुवा मोटालगायत सात प्रकारका चामल उपलब्ध गराइएको छ ।