• ५ जेठ २०८१, शनिबार

लिमीको विद्यालयमा अझै पुगेन पाठ्य पुस्तक

blog

लिमीको सुनखानी आविमा पुराना पुस्तकबाट पठनपाठन हुँदै । तस्बिर: राजन रावत

हुम्ला, वैशाख २२ गते । जिल्ला भरका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेर पठनपाठन धमाधम भई रहेको भए पनि नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको विद्यालयमा भने हालसम्म पुग्न नसकेको पाइएको छ । लिमी जाने दुई वटा नाका हिमपातले बन्द भएका कारण पुस्तक लिमीको विद्यालयमा नपुगेका हुन् । 

लिमीको सुनखानी आधारभूत विद्यालयका प्रधानाध्यापकले कर्णजित बुढाले सिमकोटमा आइ पुगेका पाठ्यपुस्तक लिमी ल्याउन नसकिएको बताउनुभयो । पाठ्यपुस्तक ढुवानीको जिम्मा लिएको रोकाया पुस्तक पसलबाट पुस्तक सो विद्यालयका प्रधानाध्यापक बुढाले बुझेको भए पनि लिमी जाने चार हजार ६ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्ले न्यालु लेकमा हिउँ जमेकाले पाठ्यपुस्तक ढुवानीमा कठिनाइ भएको हो । 

लिमीको विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ३३ सेट पुस्तक प्रधानाध्यापक बुढाले बुझेर सदरमुकाम सिमकोटमा राख्नु भएको छ । यद्यपि प्रअ बुढा भने नारा लेकबाट पैदल हिँडेर लिमी पुगी सक्नु भएको छ । जिल्लाका १४५ वटा सामुदायिक विद्यालयमा पुस्तक पुगेर पठनपाठन भइरहेको छ। लिमीको सो विद्यालयमा अन्नबाली थन्क्याउने एक हप्ता र लोसार पर्वको बेला चार दिन बाहेक अन्य बेला पठनपाठन हुने गरेको छ । चैत २३ गतेबाट वार्षिक परीक्षा सुरु भएर सम्पन्न भई नयाँ शैक्षिक सत्रको पठनपाठन समेत सुरु भई सकेको छ ।

लिमीमा पुस्तक कहिलेसम्म ढुवानी गर्न सकिन्छ भन्ने कुरा अहिले नै भन्न नसकिने उहाँले बताउनुभयो । कक्षा सातसम्म पढाई हुने सो विद्यालयका विधार्थीहरुलाई पुराना पुस्तकबाट पढाई सुरु भएको उहाँले बताउनुभयो । सो विद्यालयमा १३ जना बालबालिका विद्यार्थी छन् भने कक्षा एकमा चार जना, दुईमा चार जना, तीनमा तीन जना, चारमा दुई जना, पाँचमा तीन जना, छ मा दुई जना र सातमा दुई जना विद्यार्थी अध्ययन गर्दै आएका छन् । लिमीका विद्यालयमा तोकिएको समयमा हालसम्म पुस्तक पुग्ने गरेका छैनन् ।

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।