जीवनमा धेरै कुरा आफैँ भइरहेको हुन्छ, त्यसलाई हामी सुरुमा आफ्नो कर्तव्य ठान्छौँ र पछि त्यहीँ समाज सेवामा जोडिन्छ । समयअनुसार मान्छेले आफ्नो कर्तव्यपथबाट च्यूत नभई कार्य गरे भने पक्कै पनि त्यो मान्छे पुजिन्छ यहीँ समाजबाट । डा. अञ्जनीकुमार शर्माको प्रसङ्ग पनि त्यस्तै लाग्छ । उहाँले कलकत्ता पुगेपछि पाइन्ट लगाउनुभएको प्रसङ्गले उहाँको पारिवारिक पृष्ठभूमि त्यसवेला कमजोरै देखिन्छ ।
उहाँको काकाले दिएको एक चड्कनले पढ्नुपर्ने रहेछ भन्ने कुराको चेत आएको प्रसङ्गले प्रभावित बनाउँछ । त्यस्तो व्यक्ति अहिले कसरी यस्तो भए होलान् भन्ने भाव पक्कै आउँछ । त्यसका लागि नकोरिएका सन्दर्भहरू पढ्नै पर्छ । डा. अञ्जनीकुमार शर्मा राजदरबारका शाही चिकित्सकदेखि जनताका सेवकसम्म आफ्नो जीवनकालमा देखिनुभयो ।
स्वास्थ क्षेत्रमा उहाँले धेरै राम्रा कार्यहरू गरेको प्रमाण नेपाल मेडिकल कलेजको स्थापना, भक्तपुर क्यान्सर अस्पतालको स्थापना, नेपालमा लायन्स क्लबको स्थापनालगायत थुप्रै शुभकार्यहरूको फेरिहस्त पुस्तकमा पढ्न सकिन्छ । अर्को कुरा छोरीले बाबुलाई गरेको मायाको चिनो हो यो नकोरिएका सन्दर्भहरू पुस्तक । आफ्नो पिता डा. अञ्जनीकुमार शर्माको निधनपछि उहाँकी छोरी अनिता ढुङ्गेलले बाबुका स्मृतिहरू जस्ताको तस्तै उतारेर पुस्तक तयार गरेको देख्दा एउटी छोरीले आफ्नो बाबुलाई दिएको मायाका अनमोल लीला अक्षर भएर पुस्तकमा तैरिरहेको छ ।
समाजसेवी कर्ण शाक्य डा. अञ्जनीकुमार शर्माका बारेमा यस्तो धारणा राख्नुहुन्छ– ‘क्यान्सर रोगप्रतिको सचेतना अभियानमा डा. अञ्जनीकुमार शर्मा र म धेरै लाग्यौँ । वास्तवमा उहाँ क्यान्सर रोगको उपचार, निदान र सेवाका लागि कमिटेड हुनुहुन्थ्यो । म दाबी गर्छु, उहाँजस्तो डेडिकेटेड डाक्टर क्यान्सरको क्षेत्रमा अरू कोही छैन । यो मैले यत्तिकै भनेको होइन । डाक्टर शर्माको काम मैले देखेको छु । यस किसिमको कार्यमा अन्तरआत्मादेखि नै लाग्नुहुन्थ्यो । उहाँको क्यान्सर उपचारप्रतिको योगदानलाई कसैले भुल्न सक्दैन । भुल्न मिल्दैन पनि ।’
रोगीलाई उपचार गर्ने अनौठो जादु उहाँमा रहेछ, यी सब कुराहरू पुस्तक पढेर हामीले थाह पाउन सक्छौँ । त्यस समयमा अत्याधुनिक औजारबिना नै रानी रत्नको शल्यक्रिया गरेका उहाँलाई दरबारले पत्याएको थियो । पछि रानी ऐश्वर्यको पनि उहाँले नै शल्यक्रिया गरेका प्रसङ्ग पनि पुस्तकमा उल्लेख गरिएका छन् । ‘धूमपान : लिन्छ ज्यान’को नारासँगै प्रत्येक खिल्ली चुरोटमा एक पैसा स्वाथ्य कर लगाउने अभियान पर्यटन व्यवसायी कर्ण शाक्यसँगको सहकार्यमा सफल भएको प्रसङ्गले उहाँको कार्य सफल भएको देखिन्छ । हरेक मान्छे यो धरामा केही न कही उद्देश्य बोकेर नै जन्मेको हुन्छ । उहाँ पनि यस्तै पुण्य कार्यका लागि यो धरामा दूत बनेर आएको हुनुपर्दछ, उहाँको समाजसेवी कर्मले यही भनिरहेको छ ।
आफ्नो डिउटी सकेर मानव सेवामा उहाँ हरदम समर्पित रहेका प्रमाण नकोरिएका सन्दर्भहरूमा कोरिएका छन् । भान्जा राजेश खनालको सहकार्यमा छोरी अनिता ढुङ्गेलका प्रस्तुुतिले हरेक मान्छेलाई प्रोत्साहन र उत्साह जगाउँछ । अर्को कुरा अहिले मान्छेहरू आफूलाई महान् बनाएर आफ्ना आत्मकथाहरू अरूलाई लेखाइरहेका छन् । तर एउटा महान् मान्छे मानव सेवामा सम्पूर्ण जीवन समर्पित गराएर यो धराबाट बिदा हुन्छ । आफ्नो पिताजीको नाम राख्न होइन, उहाँको भोगाइबाट वर्तमानका मान्छेहरूलाई प्रेरणा मिलोस् भनेर नै अनिता ढुङ्गेलले कोरेको देखिन्छ नकोरिएका सन्दर्भहरू । दुःखको कुरा जीवनभर क्यान्सर रोगको उपचार धेरैलाई गरेको तथा क्यान्सर अस्पतालको स्थापनामा महìवपूर्ण भूमिका खेलेका डा. अञ्जनीकुमार शर्माको क्यान्सरकै कारण निधन भएको प्रसङ्ग निकै दुःखद लाग्छ ।
कृति: नकोरिएका सन्दर्भहरू
विधा: जीवनी
लेखक: अनिता ढुङ्गेल
प्रकाशक: डा. अनिलकुमार शर्मा
प्रा.डा. सुनिलकुमार शर्मा ढकाल
पृष्ठ: २४०
मूल्य : रु. ५५०।–