• १४ वैशाख २०८१, शुक्रबार

नगर पूर्वाधार विकास बैङ्क स्थापना गरिने

blog

काठमाडौँ, पुस २५ गते । सबै नगरपालिकाको पूर्वाधार विकासमा स्रोत व्यवस्थापन गर्न नगरपालिकाको संस्थापक सेयर लगानीमा नगर पूर्वाधार विकास बैङ्क स्थापना गरिने भएको छ। सङ्घीय व्यवस्था कार्यान्वयमा आए पनि आर्थिक अभावमा नगरपालिकाको पूर्वाधार विकास हुन नसकेपछि सबै नगरपालिकाको सामूहिक सेयर लगानी गरी पूर्वाधार विकास बैङ्क स्थापना गर्न लागिएको हो। 

नेपाल नगरपालिका सङ्घको नेतृत्वमा देशभरका छवटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका र २७६ वटा नगरपालिका गरी २९३ वटै नगरपालिकाको सामूहिक लगानीमा पूर्वाधार विकास बैङ्क स्थापना गरिने भएको छ। बैङ्कबाट निश्चित प्रतिशत ब्याजमा नगरपालिकाले ऋण लिएर त्यसबाट नगरपालिकाको भौतिक पूर्वाधार निर्माणमा खर्च गरिनेछ। 

सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले नगर विकास कोषले स्रोत परिचालन गरी नगरपालिकाको पूर्वाधार विकासमा अपेक्षाकृत काम गर्न नसक्दा नगरपालिका आफैँले संस्थापक सेयर लगानीमा बैङ्क निर्माण गरी पूर्वाधार विकासका कार्य अगाडि बढाउन लागिएको बताउनुभयो। उहाँले हरेक नगरपालिकाले वार्षिक रूपमा पाँच करोड रुपियाँ बैङ्कमा रकम जम्मा गर्दा पाँच वर्षमा बैङ्कको पुँजी ७३ अर्ब २५ करोड रुपियाँ जम्मा हुने बताउनुभयो। 

अहिले अधिकांश नगरपालिकामा वार्षिक ६० देखि ७० प्रतिशतभन्दा बढी रकम खर्च नहुँदा बजेट फ्रिज हुँदै आएको छ। नगरपालिकालाई ऋण दिने संस्थाका रूपमा रहेको नगर विकास कोषमा सीमित स्रोत हुँदा अहिलेका नगरपालिकाको पूर्वाधार विकासका लागि कोषले पर्याप्त मात्रामा ऋण दिन सक्ने अवस्था छैन। 

केही वर्षअगाडिदेखि नै नगरपालिकाको पूर्वाधार विकासका लागि सबै नगरपालिका सेयर लगानीमा पूर्वाधार विकास बैङ्क स्थापना गर्ने भनिए पनि व्यावहारिक रूपमा अगाडि नबढेको भन्दै उहाँले भन्नुभयो, “नगरपालिका सङ्घको आठौँ राष्ट्रिय महाधिवेशनले नगरपालिकाको संस्थापक सेयर लगानीमा पूर्वाधार विकास बैङ्क निर्माण गर्ने निर्णय गरेकोले अब बैङ्क निर्माणको प्रक्रिया अगाडि बढ्छ।”

उक्त कोषले नगरपालिकाको फोहोरमैला, खानेपानी, ढल व्यवस्थापन, खेलकुद, प्राविधिक विद्यालय, विश्वविद्यालय, अस्पताललगायतका पूर्वाधार निर्माण गरिने सङ्घको भनाइ छ। उहाँले नगरपालिका आफैँले पूर्वाधार निर्माणका लागि बैङ्क स्थापना गरेपछि क्रमिक रूपमा सङ्घीय र प्रदेश सरकारले ससर्त अनुदान कम गर्दै जान सकिने बताउनुभयो। 

स्थानीय शासनविज्ञ बीके महर्जन (वीरकृष्ण)ले पालिकाको आन्तरिक स्रोत कमजोर भएकाले नगरपालिकाको संयुक्त सेयर लगानीमा पूर्वाधार विकास बैङ्क स्थापना गर्नु सान्दर्भिक हुने बताउनुभयो।

उहाँका अनुसार नगरपालिकाको पूर्वाधार विकासका लागि नगर विकास कोषको वैकल्पिक स्रोत आवश्यक छ। नगरपालिकाले उत्पादनमुखी काम गर्न, पालिकाको ठूला पूर्वाधार विकास गर्न, आधुनिक सहरीकरण निर्माण पूर्वाधार विकास बैङ्कले ठूलो सहयोग पुग्नेछ। उहाँले उक्त कोषले नगरपालिकाको पूर्वाधारबाहेक अन्य क्षेत्रमा खर्च गर्न नमिल्ने गरी कार्यविधि निर्माण गर्न सुझाव दिनुभयो।

अहिले कुनै पनि बैङ्कले पालिकाको पूर्वाधार विकासका लागि रकम लगानी गर्न सक्ने अवस्था छैन। उहाँले यस्तो बैङ्कमा अन्य वित्तीय संस्थालाई पनि लगानी गर्न लगाउन सकिने बताउनुभयो। 

उहाँले युरोपियन मुलुकका नगरपालिकामा अन्तरपालिका सहकार्यमा पूर्वाधार विकास बैङ्क स्थापना गरी ठूला पूर्वाधार निर्माण भएको उल्लेख गर्दै भियनामा २२ वटा पालिकाले फोहोरलाई एकै ठाउँमा ल्याएर प्रदूषणरहित रूपमा जलाउने गरेको र फोहोरबाट ८५ मेगावाटको बिजुली निकालिएको उदाहरण दिनुभयो।