• ६ जेठ २०८१, आइतबार

कोरोना संक्रमणको जोखिम कायमै

blog

काठमाडौं, पुस २२ गते। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले नेपालमा कोरोना सङ्क्रमणदर कम हुँदै गए पनि संक्रमणको जोखिम कम भइनसकेको बताउनुभएको छ। छिमेकी राष्ट्र चीन र भारतमा ओमिक्रोनको उपप्रजाति ‘बिएफ ७’ तीव्र गतिमा फैलिएसँगै नेपालमा पुन: कोरोना संक्रमणको जोखिम बढ्दै गएको उहाँको भनाइ छ।

मन्त्रालयका अनुसार पछिल्लो एक महिनामा देशभरबाट ४८ वटा नमूनाको जीन सिक्वासिङ गर्दा ओमिक्रोनका १७ वटा उपप्रजाति (भेरियन्ट) पुष्टि भएको हो। नेपालमा ओमिक्रोनको उपप्रजाति ‘बिएफ ७’ पुष्टि भइनसकेको डा. ठाकुरले जानकारी दिनुभयो। खुला सिमानाबाट मानिसको आवतजावतका कारणले नेपालमा पनि संक्रमणको जोखिम बढेको छ। यसको रोकथाम र नियन्त्रणका लागि सजक र सचेत रहन सबैलाई उहाँले आग्रह गर्नुभएको छ। 

‘बिएफ ७’ कस्तो ‘भेरिएन्ट’ हो ?

पछिल्लो समय छिमेकी राष्ट्रमा फैलिरहेको ओमिक्रोको उपप्रजाति ‘बिएफ ७’ अन्य भेरिएन्ट भन्दा संक्रमक रहेको विभिन्न अध्ययनले देखाएको छ। सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार अनुसार कोरोना भाइरसले आफ्नो स्वरुप बदलिरहने भएकाले यो भेरिएन्ट कस्तो रुपमा आएको छ भन्ने सबैको चासो छ। 

धेरै नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेकोले यो भेरिएन्ट फैलिहाले पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको डा.पुनको तर्क छ। सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका यो भेरियन्ट आउछ भनेर आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुहुन्छ।  उहाँ भन्नुहुन्छ, “यो भेरियन्ट फैलिन्छ कि भनेर आत्तिहाल्नु पर्दैन। तर सचेत भने हुनुपर्छ।” डा. बास्तोलाले तीन वर्षको अनुभवले महामारीको सामना गर्ने पाठ सिकाएको बताउनुभएको छ। 

नेपालमा भित्रिन नदिन कस्तो छ तयारी ?

कोभिड–१९ को पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि सीमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने यात्रुको ज्वरो नाप गर्ने, शंकास्पद व्यक्तिको एन्टिजेन टेष्ट र जिन सिक्वेन्सिङ गर्ने कार्य भएको डा.अधिकारी बताउनुहुन्छ। त्यसका साथै यो भेरिएन्टलाई नजिकबाट अनुगमन गरेको डा. अधिकारीले जानकारी दिनुभयो। 

अब महामारी फैलिए पनि महामारीको समयमा व्यवस्थापन गरेका अस्पतालका पूर्वधार, स्वास्थ्यकर्मी सबैलाई व्यवस्थापन गर्दै अगाडि बढ्न गाह्रो नभएको डा. अधिकारीको भनाइ छ। खोप कार्यक्रम सबैको पहुँचमा पुर्‍याउन सरकारले थप खोप ल्याएर खोप लगाउने काम अगाडि बढाएको र बुस्टर डोज पनि प्राथमिकताका साथ लगाइरहकाले सबैलाई खोप लगाउन उहाँले आग्रह गर्नुभयो। 

नेपालमा शुक्रबार ७८३ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ। अहिले नेपालमा २१ जना संक्रिय संक्रमित रहेका छन् ।  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।