• ८ मंसिर २०८१, शनिबार

दौलतविक्रम विष्ट विशेष/समालोचना

‘आँसु त्यसै त्यसै छचल्किन्छ’भित्रका दौलत

blog

वि.सं. २००५ मा शारदा पत्रिकामा ‘ऊ गयो’ नामक कथा प्रकाशित गराएर कथायात्रा आरम्भ गरेका दौलतविक्रम विष्टले कथा र उपन्यास लेखनमा नयाँ मोड ल्याएबापत वि.सं. २०३२ मा महेन्द्र प्रज्ञा पुरस्कार प्राप्त गर्दछन् । उनको छैटौँ कथा सङ्ग्रह आँसु त्यसै त्यसै छचल्किन्छ (२०४८) ले पनि साझा पुरस्कार प्राप्त गरेको देखिन्छ । यस पुरस्कृत सङ्ग्रहमा विभिन्न पत्रिकामा पहिले नै प्रकाशित १४ वटा र यसै सङ्ग्रहमा रहेका दुईवटा गरी १६ वटा कथा सङ्कलित छन् । तीमध्ये २००६ मा लेखिएको र स्वास्नीमान्छे पत्रिकामा २०१५ प्रकाशित पिपासा कथा एउटा हो । यसमा जुद्धशमशेरले साधु हुने निर्णय गरी प्राइमिनिस्टरको जिम्मेवारी पद्मशमशेरलाई सुम्पी घरका कैयौँ धाई, सुसारे, तालिमे नानीलाई बक्सिस दिएर बिदा गरिएमध्येकी एक तालिमे नानीको कथा छ । ऊ दरबारबाट निस्केर डेरामा बस्दछे । घरभेटीले मायाको बहाना गरेर उसको यौनशोषण गरी सबै सम्पत्ति कुम्ल्याएर भाग्दछ । घरभेटीका पत्नी उसलाई डेराबाट निकालिदिन्छन् । उसका नारीजन्य अभिलाषा चकनाचुर हुन्छन् । ऊ विवश भएर यौन व्यवसाय गरी जीविकोपार्जन गर्न थाल्छे । यस्तैमा दलालद्वारा बेचिएकी एक विवश युवती आउँछे । उसलाई यस पेसामा नलाग्न तालिमे नानी अनेक सम्झाउँछे, प्रेमीको रुमाल बोकेका देखेर खोसिदिन्छे र कोठामा बन्द गरिदिन्छे । केही यौनपिपासु युवक आएर युवतीलाई रातभर बलात्कार गर्छन् र ऊ मर्दछे । युवती मरेको थाहा पाएर तालिमे नानी पनि मर्दछे । यो घटनाप्रधान, यथार्थवादी र स्वच्छन्दतावादी कथा लाग्दछ । यो कारुणिक र नारीसमस्यामूलक पनि छ ।  

अर्को गोरखापत्रमा २०२१ मा प्रकाशित कथा एक चित्र : अनेक चरित्र हो । यस कथामा नगरपञ्चायतको प्रधानपञ्च, जो देखावटी रूपमा समाजसेवी, महिला हकअधिकारको पक्षपाती, समाजसेवी हुन्छ र भित्री विचारले भने महिला विरोधी, स्वार्थी र पितृसत्ताको समर्थक छ, त्यस्तो द्वैध चरित्र भएको ढोँगी पतिबाट पीडित, निरीह र दयनीय पत्नीको मनोभावनाको चित्रण गरिएको छ । यसरी यो कथा पनि यथार्थवादी र महिला समस्यामूलक देखिन्छ । नौली पत्रिकामा २०२८ मा प्रकाशित उराँठको एक दिन कथामा अफिसका काम गर्दा गर्दा र अनेक झन्झट बेहोर्दा लखतरान परेर उराँठिलो दिन बिताएको जागिरे पति घरमा आएपछि पत्नीको माया पाएर प्रफुल्ल भएको अवस्थाको चित्रण गरिएको छ । यो पनि यथार्थवादी शिल्पमा लेखिएको दाम्पत्य जीवनको चित्रण गर्ने कथा हो । अर्को कथा सिपाही पत्रिकामा २०३० मा प्रकाशित तृष्णा भरिएको रात हो । यसमा बेरसिलो दाम्पत्य जीवन बिताइरहेका दम्पतीको कथा छ । ती दम्पती सन्तानलाई हजुरआमा र हजुरबाका जिम्मा लगाएर छिमेकीको बिहामा जान्छन् र वैवाहिक उत्सवले उनीहरूबीचको नीरसता, दूरता, कटुता हराउँछ एवम् मधुरता, निकटता, प्रणयपरकता जगाउँछ । पति पत्नीलाई नजिकैको होटलमा लगी आनन्दमय क्षण उपभोग गरेर घर फर्कन्छ । यसरी यस कथामा यथार्थवादी शैलीमा दाम्पत्य जीवनका बेरसिला र रसिला अवस्थाको चित्रण गरिएको छ । 

२०३५ मा विदेह पत्रिकामा प्रकाशित कालो पट्टी कथामा यस्तो व्यक्तिको मनोदशाको चित्रण गरिएको छ जसलाई घरका सबै देखावटी रूपमा माया र आदर गर्छन् तर थाहा नपाउने गरी भने उसकी नोकर्नी बगैँचेको प्रेममा परेर उसको सम्पत्ति चोरेर भाग्न चाहन्छे तथा उसकी कान्छी श्रीमती ड्राइभरसँग लहसिएर पतिलाई हेला गर्छे, अनि छोरो बाबु बौलायो भनेर घृणा गर्छ । यसरी यो विसङ्गत जीवन बाँच्न बाध्य व्यक्तिको निरर्थक जीवनको चित्रण गर्ने विसङ्गतिवादी शैलीमा लेखिएको कथा बनेको छ । २०३५ मा उत्साह पत्रिकामा प्रकाशित बैसाखी कथामा शान्तिसेनामा जाँदा खुट्टा गुमाएर बैसाखीको सहारामा बाँच्न बाध्य सैनिकको विसङ्गत, व्यर्थ र उद्देश्यहीन जीवनको चित्रण गरिएको छ । यसरी नै २०३५ मा पसिना पत्रिकामा प्रकाशित अस्तित्व जो मैलिँदो छ कथामा शान्तिसेनामा गएर अपाङ्ग भएर फर्केको सैनिकको विसङ्गत जीवनको चित्रण गरिएको छ । सैनिक सधँै रित्तो झोला बोकेर होटलमा जान्छ । त्यहाँ काम गर्ने र अन्य आगन्तुक झोलामा सम्पत्ति होला भनेर चोर्न चाहन्छन् तर ऊ अरूका एकाकीपनका कुरा सुनेर अनि आफ्नो एकाकीपनबाट मुक्त हुन दिनैपिच्छे रक्सी पिउँछ । यी दुवै विसङ्गतिवादी कथा नै हुन् । २०३५ मा अभिव्यक्ति पत्रिकामा प्रकाशित एउटा थोते मुस्कान कथामा आमा मरेपछि कान्छी आमा ल्याउने बूढो बाबु शøयादान गरेर मर्न चाहन्छु भनेर छोरालाई सधैँ करकर गरिहन्छ भने छोराको व्रतबन्ध नगरी मरियो भने पिण्डपानी दिने व्यक्ति कोही हुँदैनन् भनेर कान्छीआमा सधैँ कराइरहन्छे । छोरो भने जग्गा बेचेर बाबुआमाका इच्छा पूरा गर्दा भोकले मरिन्छ भनेर पीर गरिरहन्छ । यसरी पूरा परिवार विसङ्गत जीवन भोग्न बाध्य भएको अवस्थाको चित्रण यस कथाले मार्मिक ढङ्गले गरेको छ ।  

२०३७ मा मधुपर्कमा प्रकाशित आसक्ति : एक मिथक कथामा दुदुइटा युद्ध लडेर फर्केको, बयासी वर्षको, विधुर सैनिक जसका सात भाइ छोरा छन्, ती सबै उसको सम्पत्ति हात पार्न चाहन्छन्, उसले बाकसमा सातैवटा ताल्चा लगाएर राखेको छ । ऊ छोराहरूको आवाज सुन्न चाहँदैन, उनीहरूका कोठामा जान पनि चाहँदैन । ऊ अनिच्छित जीवन बाँच्न बाध्य छ । यसरी यस कथामा सैनिक र उसका सन्तानको विसङ्गत जीवनको चित्रण गरिएको देखिन्छ । २०३९ मा गरिमा पत्रिकामा प्रकाशित स्वाङ कथामा नीरस दाम्पत्य जीवनको चित्रण गरिएको छ । पत्नी टाउको दुख्ने रोगले पीडित छ भने जागिरे पति पत्नीको प्रेमपूर्ण व्यवहार नपाएर खिन्न छ । दुवैका लागि दाम्पत्य जीवन स्वाङ भएको छ, वास्तविक हुन सकेको छैन । पत्नी पतिप्रेमलाई स्वाङ ठान्दछे । यसरी यस कथाले विडम्बनापूर्ण दाम्पत्य जीवन देखाएको छ ।

  २०४० मा गरिमा पत्रिकामा प्रकाशित आँसु त्यसैत्यसै छचल्किन्छ कथामा बूढीकन्याको विसङ्गत र कारुणिक जीवनको चित्रण गरिएको छ । बूढीकन्याका बाबु ऊ बाह्र वर्षकी हुँदा खसेका थिए । बाबु खस्नुभन्दा एक वर्षअघि आमा हराएकी थिइन् । ऊ घरकी अभिभावक हुन बाध्य भई । आफू पढ्नु, भाइबहिनी पढाउनु, उनीहरूको बिहेव्रतबन्ध गरिदिनु, भदाभदै हुर्काउनु, घरव्यवहार चलाउनुमै उसको सम्पूर्ण यौवन बित्यो । उसका बारेमा सोचिदिने कोही भएनन् । उमेर बितिसके पनि उसको बिहाको बन्दोबस्त ऊ आफैँले गर्नुपरेको छ । उसको बिहाबाट कोही खुसी छैनन् । आफन्त प्रायः आएनन्, जो आए तिनले पनि आमा पोइल गएकी छोरी, वेश्या नभई कसरी भाइबहिनीको लालनपालन गर्नसक्थी भनेर कुरा काटे । उसका लागि रुने आफन्त नभए पनि उसकी साथी छ । बेहुलीलाई सिँगार्दा, जग्गेमा लाँदा, अन्भाएर मोटरसम्म पु¥याउँदा त्यही साथी अघि सर्छे, उसका आँखा छचल्किरहन्छन् । यसरी यो यथार्थवादी शैलीमा लेखिएको नारीसमस्यामूलक शीर्ष कथा भएको छ । यही कथाका आधारमा सङ्ग्रहको शीर्षक राखिएको देखिन्छ । २०४० मा जूही पत्रिकामा प्रकाशित निऋति कथा अमूर्त छ । यो दुर्बोध छ । यो प्रतीकात्मक जस्तो पनि देखिन्छ । कुनै अजङ्गको, डरलाग्दो तर्साउने खालको अँध्यारो गुफाभित्रको बलिवेदीबाट आएको चीत्कार सुनेर पति मूच्र्छा पर्छ, मूच्र्छित पतिलाई ब्युँझाउन पत्नी पानी खोज्दै हिँड्छे, पुरुषहरू गुफाभित्र पसिरहेका छन्, पानी कतै देखिँदैन, एउटा व्यक्तिले पानी खोज्न हिँडेकी पत्नीलाई पतिपत्नीले एकअर्कालाई बुझेको भए पानी चाहिँदैनथ्यो तर पानी चाहिने भए तिमीले आफ्नो नैतिकतालाई बलि दिनुपर्छ भनेर भन्छ, ऊ नैतिकता बलिदान गर्न तयार हुन्छे र बलिवेदीतिर लाग्दछे तर नैतिकता बलिदान गर्न हजारौँ व्यक्ति लाइनमा लागेकाले उसले पर्खिनुपर्दछ । त्यसैले ऊ लाइन लागेर पालो पर्खिरहेकी छ । यसरी बलिवेदी, पानी, गुफा मूच्र्छा आदि प्रतीकवस्तुका रूपमा आएजस्ता लाग्छन् तर ती केका लागि प्रयुक्त छन्, त्यो कथाले सङ्केत गर्न सकेको छैन । कथाको शीर्षक निऋतिको अर्थका आधारमा अनुमान गर्दा नैतिकताको सङ्कटले गर्दा वा पतिपत्नी एकले अर्कालाई राम्ररी नबुझ्दा वैवाहिक जीवन सङ्कटमा छ भन्ने सङ्केत गरेजस्तो लाग्छ ।     

२०४५ मा समष्टि पत्रिकामा प्रकाशित विकट हाँसो कथामा अनमेल दाम्पत्य जीवनको चित्रण गरिएको छ । सम्पन्न परिवारको पति नाटकमा अभिनय गर्ने कलाकार हो । अभिनयका लागि ऊ विकट हाँसो हास्ने पूर्वाभ्यास गर्दछ तर उसका सहयोगीले कहिल्यै उसको हँसाइलाई स्वाभाविक ठान्दैनन् तर त्यही हाँसो वर्ष दिनपहिले असाद्धै मन पराएर बिहा गरेर ल्याएकी प्रिय पत्नीले भने स्वाभाविक ठानी । त्यही हँसाइले गर्दा पत्नीका मनमा शङ्का भयो । पत्नीलाई ऊ मैले अभिनय गरेको हँसाइ वास्तविक होइन भनेर सम्झाउँछ तर पत्नी अवश्य पनि मेरो विवाहपूर्वको प्रेमप्रसङ्ग पतिले थाहा पाएछन्, त्यसैले यस्तो विकट हाँसो हाँस्छन् भनेर विश्वास गर्छे । ऊ पतिलाई मेरो पूर्वप्रेमीले मलाई लेखेको चिठी फेला पारेर तपाईं हाँस्नु भएको हो, त्यसैले अब सँगै बस्न सकिँदैन, हामी अलग होऔँ भन्छे र पतिलाई छोडेर हिँड्छे । यो यथार्थवादी कथा हो । २०४७ मा गरिमा पत्रिकामा प्रकाशित माकुरो प्रतीकात्मक कथा हो । यस कथामा माकुरो, गैँडाछाप मुहार, बिखालु घाँस, बिखालु घाँस उखेल्ने मान्छे छन् । अन्त्यमा बिखालु घाँस उखेलेर, त्यसमा आगो लगाएर नष्ट गरेपछि माकुरो खान नपाएर मरेको कुरा कथामा व्यक्त गरिएको छ । माकुरो जालमा पारेर सिकार गर्ने जुनसुकै कुराको पनि प्रतीक हुन सक्छ । त्यसैले माकुरो धन, शोषण, शासन आदि अनेक कुराको प्रतीक हो ऊ विषाक्त घाँस वा विचार वा वस्तु खाएर जाल बनाउँछ र त्यही जालमा सोझा, सीधा, गरिब, निमुखा, शोषित, पीडित आदिलाई पारेर सिकार गर्दछ । त्यस्ता सिकारी अहिले समाजमा व्याप्त छन्, तिनलाई नाश गर्नुपर्छ भन्ने सङ्केत कथाले गरेको जस्तो लाग्छ ।

यही सङ्ग्रहमा रहेका कथामध्ये मुर्कुट्टा प्रतीकात्मक कथा हो । यसमा स्वैरकल्पनाको प्रयोग गरिएको छ । पतिले ऐना हेर्दा टाउको नदेख्नु, टाउकाका आँखा कुममा सरेका र मुख छातीमा सरेको देख्नु, पत्नी, इतिहासकार, राजनीतिज्ञ, व्यापारी, वैज्ञानिक आदिलाई पनि मुर्कुट्टै देख्नु, सबैका टाउका प्रयोगशालामा थुपारेको देखेर चकित हुनु, व्यापारीले आफ्नो टाउको स्यालको, राजनीतिज्ञको टाउको ब्वाँसो र गिद्धको देखिनु, टाउको, बन्दुक, तोप, एटमबम भएको देख्नु, सबै व्यक्ति टाउकासँग डराएर प्रयोगशालाबाट बाहिर निक्लनु, शिशु ब्युँझेर मेरोजस्तै ऐना बनाउनुहोस् सद्दे टाउको देखिन्छ भन्नु आदि कुरा स्वैरकाल्पनिक रूपमा आएका छन् । यसरी यस कथाले औद्योगिक युगले मान्छेका हातखुट्टा लग्यो, त्यसपछिको युगले मान्छेको चिन्तन गर्ने शक्ति अर्थात् टाउको लग्यो भन्ने विचार प्रतीकात्मक रूपमा व्यक्त गरेको देखिन्छ । यही सङ्ग्रहमा सङ्कलित अर्काे कथा हो बिचरी मीरा । यसमा गरिबीको चित्रण गरिएको छ । पाँच वर्षकी मीरा हाँसको मासु खान खोज्छे, मासु पाक्दै गर्दा निदाउँछे, उठेर खान खोज्दा मासु अरूले खाइसकेका हुन्छन्, ऊ खान नपाएर रोइरहन्छे । यो यथार्थवादी कारुणिक कथा हो । 

 यसरी यस कथासङ्ग्रहका कथाको अध्ययन गर्दा दौलतविक्रम विष्ट स्वच्छन्दतावादी, यथार्थवादी, विसङ्गतिवादी, प्रतीकवादी, प्रयोगवादी कथाकारका रूपमा देखिन्छन् । यस सङ्ग्रहका कथाले तत्कालीन समयको चित्र उतारेका छन् । यी कथाले नारी वर्गका, परिवारका, दाम्पत्य जीवनका, सैनिक जीवनका समस्या देखाएका छन् । उनका स्वच्छन्दतावादी यथार्थवादी कथामा नारी समस्या, विडम्बनापूर्ण दाम्पत्य जीवनको यथार्थ, गरिबी आदि प्रतिविम्बित भएको छ भने विसङ्गतिवादी कथामा युद्धबाट अपाङ्ग भएर फर्केका सैनिकको एकाकीपन र विसङ्गत जीवन देखाइएको छ । प्रतीकात्मक र प्रयोगवादी कथामा युगीन समस्या, उत्पीडन, शोषण, विसङ्गति र विडम्बना प्रस्तुत गरिएका छन् । कतिपय कथा अमूर्त, अस्पष्ट, दुर्बोध र दुरूह पनि छन् । उनका कथामा विभिन्न साहित्यिक युक्ति जस्तैः चेतनप्रवाह पद्धति, पूर्वदीप्ति, प्रतीक आदिको प्रयोग भएको छ । यस्ता युक्तिको प्रयोगले कथा विशेष अर्थवाहक भएका छन् । कथामा दृश्य पद्धतिको भन्दा सङ्क्षेप पद्धतिको प्रयोग बढी देखिन्छ । त्यसैले कतिपय कथा निबन्धजस्ता लाग्दछन् । यस सङ्ग्रहका प्रायः सबै कथामा कथावाचक प्रथम पुरुष नै रहेको छ । त्यसैले ती कथाले वाचककै जीवनको चित्रण गरेका छन् ।

यस सङ्ग्रहका कथा न धेरै छोटा न धेरै लामा ठिक्कको रूपाकार भएका छन् । विष्ट कथानक निर्माण, चरित्रचित्रण र भौतिक परिवेश रचनामा भन्दा खास व्यक्तिका भित्री समस्याको उद्घाटन, पात्रको एकालाप, पात्रको मनस्थिति, अनुभूतिको विश्लेषण वा वर्णनमा विशेष अभिरुचि देखाउँछन्, त्यसैले उनका कथा घटनाप्रधान, चरित्रप्रधान र आञ्चलिक हुन सकेका छैनन् । उनका कथा वर्णनात्मक, विश्लेषणात्मक, चिन्तनपरक, वैचारिक छन् । उनको भाषाशैली कोमल, लयात्मक, कलात्मक भएर पनि कतिपय ठाउँमा घुमाउरो, अमूर्त, अस्पष्ट र दुर्बोध पनि भएको छ । यिनै निजी वैशिष्ट्यले उनी यस सङ्ग्रहमा अन्य समकालीन कथाकारभन्दा भिन्न र मौलिक भएर चिनिएका छन् ।