• १२ मंसिर २०८१, बुधबार

ह्विल चेयरबाट मोडिएको यात्रा

बास्केटबल कप्तानदेखि प्रदेश सभा सदस्यसम्म

blog

नवराज श्रेष्ठ

रामेछाप, पुस १० गते । सोह्र वर्षको उमेरमै भीरबाट लडेर मेरुदण्डको पक्षाघात भएपछि गोकुलगङ्गा गाउँपालिका–४ की लक्ष्मी घिमिरेको जीवनको बाटो मोडिएको छ। ११ कक्षामा पढ्दै गर्दा २०६६ सालमा गाउँको भीरबाट लडेर उहाँको मेरुदण्ड पक्षाघात भएको हो। 

ढाडको स्पाइनल नसा च्यापिएपछि उहाँको शरीरको कम्मरमुनिको भाग नचल्ने भयो। त्यसपछि ह्विल चेयरबाट उहाँले जीवनको यात्रा तय गर्नुभयो। त्यसपछि उहाँको जीवनको बाटो मोडियो। 

त्यसो त १२ कक्षा पूरा भएपछि नेपाली सेनाको जागिर खाने उहाँको सपनामा दुर्घटनापछि विराम लाग्यो। आज त्यही ह्विल चेयरबाट मोडिएको बाटोले उहाँलाई कानुन र नीति निर्माण गर्ने स्थान प्रदेश सभा सदस्यमा पु-याएको छ। 

उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक प्रणालीतर्फबाट बागमती प्रदेश सभा सदस्य बनाएको हो। राप्रपाबाट प्रदेश सभा सदस्य बन्नुभएकी लक्ष्मी बागमती प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेश सभाको ११० सदस्यमध्ये अपाङ्गताको क्षेत्रबाट प्रतिनिधित्व गर्ने एक मात्र प्रदेश सभा सदस्य हुनुहुन्छ। 

प्रदेश सभाको पहिलो कार्यकालमा समानुपातिक निर्वाचन प्रणालीबाट अपाङ्गताको क्षेत्रबाट नेपाली कांग्रेसका भीमसेन खत्री निर्वाचित हुनुभएको थियो। अपाङ्गतापछि यहाँसम्म पुग्न धेरै सङ्घर्ष गर्नुभएकी घिमिरेलाई समाजले हेर्ने दृष्टिकोण र धारण परिवर्तन गर्ने चिन्ताले सधैँ सताइ नै रहन्छ। 

यही चिन्ताको अन्तिम विकल्प भनेको उहाँलाई राजनीति नै हो। २०७४ सालमा साझा पार्टी स्थापना भयो र यही पार्टीबाट उहाँको राजनीतिक यात्रा सुरु भयो। यो पार्टीको युवा सङ्गठनको केन्द्रीय समितिमा रहेर उहाँले केही समय काम गर्नुभयो। यस बीचमा साझा पार्टी र विवेकशील पार्टीको एकता भयो। यसपछि उहाँले विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य हुँदै पार्टीको सदस्यता व्यवस्थापन विभागको प्रमुखको जिम्मेवारी निर्वाह गर्नुभयो। 

यसैबीचमा पार्टीभित्र आन्तरिक समस्या देखिएपछि उहाँ विवेकशील साझा पार्टी छाडेर एजेन्डा मिल्ने राप्रपामा गत असोज १२ गतेबाट लाग्नुभएको हो। “अझै पनि अपाङ्गता भएका व्यक्तिलाई हाम्रो समाजले बिचरा र दयाको दृष्टिले हेर्ने गर्छ, यही समाज र समाजका मान्छेको सोचाइलाई परिवर्तन गर्ने अन्तिम विकल्प राजनीति नै हो,” उहाँले भन्नुभयो। 

आफूलाई राजनीतिबाट यो परिवर्तन सम्भव छ भन्ने लागेर राजनीतिक यात्रा सुरु गरेको उहाँले बताउनुभयो। उहाँले अपाङ्गता भएका नागरिकको राजनीतिक अधिकारसँगै अपाङ्गतामैत्री संरचना निर्माणका लागि सदनबाट जोडदार आवाज उठाउने बताउनुभयो। 

उहाँले भन्नुभयो, “अझै सरकारी कार्यालय र अस्पतालसमेत अपाङ्गतामैत्री छैनन्। अब अपाङ्गतामैत्री संरचना निर्माणका लागि सदनबाट जोडदार आवाज उठाउँछु।” अपाङ्गता भएका व्यक्तिको गुणस्तरीय शिक्षा, स्वास्थ्य र दक्षताअनुसारको रोजगारीको जिम्मेवारी राज्यले लिनुपर्ने भएकाले यसलाई पनि सदनबाट जोडदार रूपमा उठाउने उहाँले बताउनुभयो। 

आफू खेल क्षेत्रबाटै आएकाले खेलकुद क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तिलाई पनि राज्यले समान लगानी गर्नुपर्ने आफ्नो माग रहेको उहाँले बताउनुभयो। उहाँ राष्ट्रिय ह्विल चेयर बास्केटबल टिमकी कप्तान पनि हुनुहुन्छ।

“१० वर्षदेखि ह्विल चेयरबाटै बास्केटबल, भारोत्तोलनलगायतका खेलमा सक्रिय छु, अपाङ्गता भएका व्यक्तिका लागि खेलकुद महत्वपूर्ण छ, त्यसैले उनीहरूका लागि पनि राज्यले समान लगानी गर्नुपर्छ,” उहाँले भन्नुभयो। 

देशले प्रदेश धान्न नसक्ने भएकाले प्रदेश सभाको पहिलो बैठकमा प्रदेश खारेजीको एजेन्डा जोडदारसँग उठाउने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “प्रदेश सभाको पहिलो बैठकमै प्रदेश खारेजीको एजेन्डा जोडदारसँग उठाउँछौँ। अर्को कुरा राप्रपा अहिले सरकारमा जाने तयारीमा छैन, प्रतिपक्षमा बसेर राम्रो कामको समर्थन र नराम्रो कुराको विरोध गर्छ।”

अपाङ्गतामैत्री प्रदेश सभा हल 

यसैबीच अपाङ्गता भएका प्रदेश सदस्यको हकमा सभामुखले निश्चित स्थान र क्रम तोकी निजको एक जना सहयोगी व्यक्तिसमेतलाई बस्ने अनुमति दिने बागमती प्रदेश सभा नियमावलीमा व्यवस्था रहेको छ। 

अपाङ्गता भएका व्यक्ति प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उक्त व्यवस्थाअनुसार प्रदेश सभा सदस्य हललाई अपाङ्गमैत्री बनाइएको छ। बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले प्रदेश सभाको बैठक बस्ने हललगायत संरचना अपाङ्गतामैत्री बनाइएको जानकारी दिनुभयो। 

उहाँले अपाङ्गता भएका प्रदेश सभा सदस्यका लागि छुट्टै बस्ने व्यवस्था मिलाइएको बताउँदै अपाङ्गता भएका प्रदेश सभा सदस्यको अवस्थाअनुसार उहाँको एक जना सहयोगीलाई दर्शक दीर्घामा बस्नेसमेत व्यवस्था मिलाइने बताउनुभयो।