• ३० असोज २०८२, बिहिबार

सडक दुर्घटनामा घाइते एक महिलाको उपचारका क्रममा मृत्यु

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), असोज ३० गते ।
सप्तरीको विष्णुपुर गाउँपालिका १ जमुनीस्थित हुलाकी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । सुरुङ्गा नगरपालिका वडा नम्बर १० सिस्वाकी ४० वर्षीया विमलादेवी यादवको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो ।

बुधबार सोही ठाउँ बस्ने ३५ वर्षीय प्रमोद यादवले चलाइराखेको स ९ प ९०३९ नम्बरको मोटरसाइकलमा पछाडि सवार भई सिस्वाबाट राजविराजतर्फ जाँदै गर्दा विष्णुपुर गाउँपालिका १ जमुनीस्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते यादवलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएकोमा अवस्था गम्भीर बन्दै जाँदा उपचार खर्चको अभावमा परिवारजनले पुनः बिहीबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक प्रमोदको उपचार भइरहेको र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।