• ३० असोज २०८२, बिहिबार

अवकाशपछि व्यावसायिक फूलखेतीमा भण्डारी

blog

फूल खेतीमा चापाकोट–१ बेलडाँडाका तुलसीराम भण्डारी । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), असोज ३० गते ।
स्याङ्जाको चापाकोट नगरपालिका–१ बेलडाँडाका तुलसीराम भण्डारीले शिक्षण पेशाबाट अवकाशपछि व्यावसायिक फूलखेती गर्दै आउनुभएको छ ।  ३० वर्षको शिक्षण पेशबाबाट गत महिना मात्रै अनिवार्य अवकाश लिनुभएका ६० वर्षीय भण्डारीले विगत चार वर्षदेखि नै फूलखेती गर्न सुरु गर्नुभएको हो । उहाँले भन्नुभयो, “अवकाशपछि मैले के गर्ने भन्ने पहिले नै तय गरेको थिएँ र काम गर्न सुरु पनि गरिसकेको थिएँ ।”

शिक्षकका रुपमा कार्यरत रहँदा नै फुर्सदको समयमा व्यावसायिक बन्दै आत्मनिर्भर बन्ने प्रयास गर्नुभएका भण्डारीले गाउँमा नै रहेको आफ्नो तीन रोपनी जग्गामा फूलखेती गर्नुभएको हो । गएको वर्ष एक रोपनीमा खेती गर्दै आउनुभएका भण्डारीले यो वर्ष क्षेत्र बढाउनुभएको हो । बाँझो जमिनको सदुपयोग गर्दै खेतीका लागि थप क्षेत्रफल बढाउने योजना रहेको उहाँको भनाइ छ ।

भण्डारीले अर्गानिक घर तथा कृषि फर्म दर्ता गरी विगत चार वर्षदेखि व्यावसायिक रूपमा फूलखेती गर्दै आउनुभएको हो । उहाँ भन्नुहुन्छ, “शिक्षण पेसाबाट फुर्सद मिल्यो अब त पूर्णरूपमा फूलखेतीमा आफ्नो ध्यान केन्द्रित गर्छु ।”

तिहारमा मात्रै दुई हजार पाँच सय केजी फूल बिक्री गर्ने योजना रहेको बताउनुहुँदै भण्डारीले यो वर्ष १० लाखसम्म कमाइ हुने जानकारी दिनुभयो । गएको वर्ष फूल बिक्री गरेर झण्डै पाँच लाख आम्दानी गरेको उहाँको भनाइ छ । 

उहाँले दसैँ तिहारको बिचमा २८० रुपियाँ प्रतिकेजी बिक्री गर्नुभएको थियो । तिहारको समयमा भने धेरै लैजाने र व्यापारीका लागि प्रतिकिलो ३०० रुपियाँका दरले फूल बिक्री गर्ने कृषक भण्डारीले बताउनुभयो । खुद्रा मूल्य भने तीन सयदेखि ३५० सम्ममा बिक्री हुने भण्डारीको भनाइ छ ।

फूलको माग, बजार र आफ्नो खेतीलाई हेर्दा, आगामी माघ महिनासम्म सहज रुपमा फूल बेच्न सकिने भण्डारीको भनाइ छ । 
बीउ छनोट र खेती गर्ने तरिकाका बारेमा आफ्ना छोराहरुले सहयोग गर्दै आएको उहाँले बताउनुभयो । भण्डारीले म्यारिगोल्ड कर्मा ५५५ जातको फूलका बिरुवाहरू लगाएर उत्पादन गर्नुभएको हो ।

फूलको बीउ खरिदमा १० हजार जति खर्च भएको भए पनि अन्य काम परिवारका सदस्यहरु मिलेर गर्दै आएको छोरा देवीप्रसाद भण्डारीले बताउनुभयो ।

पछिल्लो समय खेतबारी बाँझो रहने क्रम बढेको भन्दै तुलसीरामले नगदेबालीका रुपमा जुनसुकै काम गरे पनि राम्रो आम्दानी गर्न सकिने बताउनुभयो । बाँझो जमिनको सुदपयोग गर्ने हो भने गाउँमा नै राम्रो आम्दानी गर्न सकिन्छ उहाँकाे अनुभव छ  ।