जीवछ यादव
लहान, असोज ३० गते । सिराहा नरहा गाउँपालिका बढडा नम्बर –४ का तत्मा (दास ) दलित समुदाय सनपाट (पटुवा) को डोरी बाह्रै महिना बेचेर गुजारा गर्थे । आफ्नो पुर्ख्यौली पेशामा नै गर्व गर्थे, तर केही दशक यता बजारमा प्लाष्टिकको डोरी छ्यापछ्याप्ती पाउन थालेपछि पेशा नै सङ्कटमा परेको दास समुदायले दुःखेसो पोखेका छन् ।
वर्षमा अरु महिना डोरी बेच्न नआए पनि दीपावलीमा गाउँगाउँ पुगेर रङ्गिन सनपाटको डोरी बिक्री गर्न आउने गर्दछ । देवीपुरका दिलचन्द्र दास र परशुराम दाससहित दर्जनौँ दास समुदायहरु सिराहाका लहान, गोलबजार, मिर्चैया, सिराहा र स्थानीय हाट बजारहरुमा दीपावलीको मुखमा गाई, भैँसी, बाख्रा र चौपायाका लागि डोरी बिक्री गरिरहेका छन् । देवीपुरका एक हजार दास समुदाय यही पेशा गरेर गुजारा गर्थे । प्लाष्टिकको डोरी बजारमा आएपछि र सनपाटको खेती हराएपछि पेशामा सङ्कट आएको उहाँहरुको गुनासो छ ।
अब नयाँ पुस्ताले सनपाटको डोरी बनाउन छाडिसके । हामी पुरानो पुस्ता वर्षमा एक पटक भए पनि पुर्ख्यौली पेशा बचाउनका लागि र सधैँ गर्दै आइरहेको काम भएकाले डोरी बिक्री गर्न आउने गरेको उहाँहरुले सुनाउनुभयो । दिलचन्द्र दासका अनुसार पहिले आफैँ सनपाटको खेती गरेर डोरी बनाउदा बढि फाइदा हुन्थ्यो । अहिले ऐलानी जग्गामा रहेको पानी जम्ने खाल्डो (खाता) नरहेकाले सनपाटको खेती छाडेर चाहिने सनपाट सप्तरीको कञ्चनपुरबाट ल्याएर डोरी बनाउने गर्छौं । ‘‘२० हजार पुँजी लगाएपछि ३५ चालिस हजार कमाइ हुन्छ । दुई महिनाको मेहनत गाउँगाउँमा गएर बिक्री गर्दा खासै आम्दानी हुँदैन, तर पुर्ख्यौली पेशा भएकाले यसलाई निरन्तरता दिएका छौँ ।’’ उहाँहरुको भनाइ छ ।
प्लाष्टिकको डोरीले सनपाटको डोरीको बजार नै खाइदिएकाले नयाँ पुस्ताहरु विदेश पलायन भइरहेको परशुराम दासले भन्दै हाम्रो पुर्ख्यौली पेशा जोगाइ दिन कुनै सरकारबाट प्रयास नहुँदा पीडा भएको सुनाउनुभयो । आधुनिक कृषि यन्त्रहरु ट्याक्टरको भरमा खेती गर्न थालेपछि किसानहरुले पशुपालन छाडेका कृषि ज्ञान केन्द्र सिराहाका प्रमुख नरेन्द्र महासेठले भन्दै डोरी व्यवसय सङ्कटमा पर्नु एउटा कारण हो भने जताततै सस्तोमा प्लाष्टिकको डोरी पाउनु अर्को कारण रहेको बताउनुभयो ।
कृषि र पशुपालनसँग जोडिएको डोरी व्यवसाय प्रोत्साहन गर्न स्थानीय सरकारले योजना बनाएर अघि बढ्न र स्थानीय स्तरमा सनपाटको खेती पशुपालनमा जोड र दलित दास समुदायले उत्पादन गरेको सनपाटको डोरीलाई प्रोत्साहन दिन आवश्यक रहेको लहान नगरपालिका पशु विकास कार्यालयका प्रमुख रामकृष्ण यादवले सुनाउनुभयो ।