ललित बसेल
सुर्खेत, असोज ३० गते । आर्थिक वर्ष २०८१/८२ मा सम्पादित कर्णाली प्रदेशका स्वास्थ्यका कार्यक्रमको समीक्षा थालिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले प्रदेशका १० वटा जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखलाई सहभागी गराएर कार्यक्रमको समीक्षा थालेको हो । तीन दिनसम्म हुने सो कार्यक्रममा कर्णालीको समग्र स्वास्थ्यको अवस्था, भोग्नु परेका कठिनाइ र नयाँ सिकाइबाट प्राप्त उपलब्धिका साथै आगामी दिनमा गरिने योजना तर्जुमा गरिने छ ।
समीक्षा कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीको स्वास्थ्य र शिक्षामा सुधार ल्याउन सके दिगो विकास लक्ष्य भेटाउन कठिन नहुने बताउनुभयो । उहाँले कर्णालीको स्वास्थ्यको तथ्याङ्क हेर्दा सुधार गर्नुपर्ने पक्ष धेरै भएको बताउँदै त्यसमा सुधार ल्याउन प्रदेश सरकारले पनि विभिन्न काम गरेको जानकारी दिनुभयो । प्रदेश सरकारले अहिले जनशक्ति पूर्ति गरेर स्थानीय तहमा खटाएको, नसर्ने रोग नियन्त्रणका लागि योजना बनाएको, सबै जिल्ला अस्पतालमा व्यवस्थापक पूर्ति गरेको जस्ता काम गरी स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउने प्रयास थालेको मन्त्री भण्डारीको भनाइ छ ।
सामाजिक विकास मन्त्रालयका सचिव धोलकराज ढकालले सरुवा भइसकेका स्वास्थ्यकर्मी तथा डाक्टरलाई यथाशीघ्र कार्य क्षेत्रमा जान निर्देशन दिनुभयो । उहाँले कर्णालीको स्वास्थ्यको तथ्याङ्क हेर्दा निरास हुनुपर्ने खालको नभएको पनि उल्लेख गर्नुभयो । कर्णालीको स्वास्थ्यको अवस्थामा सुधार ल्याउन आआफ्नो जिल्लामा नयाँ र फरक काम गर्न पनि उहाँले सुझाव दिनुभयो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले प्रत्येक वर्ष समीक्षा कार्यक्रम गरी कर्णालीको स्वास्थ्यमा सुधार गर्नुपर्ने योजना तर्जुमा गरिने बताउनुभयो । उहाँले तीन दिनसम्मको कार्यक्रममा स्वास्थ्यको अवस्थाको तथ्याङ्कहरू सार्वजनिक गर्दै सुधार गर्नुपर्ने क्षेत्रलाई प्राथमिकतामा राखी योजना बनाइने जानकारी दिनुभयो । साथै विगतको तुलनामा कर्णालीको स्वास्थ्यको क्षेत्रमा क्रमशः सुधार आउँदै गरेको दाबी उहाँले गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रशासक डा. अनु शाक्यले कर्णालीमा मातृ मृत्यु दरमा कमी ल्याउन, घरमा सुत्केरी हुने दरलाई पनि घटाउन जरुरी देखिएको सुझाव दिनुभयो ।
सो अवसरमा निर्देशनालयका पब्लिक हेल्थ नर्सिङ प्रशासक मानकुमारी गुरुङले कर्णालीको स्वास्थ्यको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । कर्णालीमा सबै खोपको कभरेज ९५ प्रतिशत, जिल्लाबाट स्वास्थ्यको रिपोर्टिङ ९० प्रतिशत, सुरक्षित स्तनपानको अवस्था ७१ प्रतिशत रहेको जनाइएको छ ।
यस्तै संस्थागत सुत्केरी ८५ प्रतिशत, २१ प्रतिशत २० वर्षमुनिका किशोरीको सुत्केरी, कर्णालीमा सुरक्षित गर्भपतनको अवस्था ७५ प्रतिशत, अघिल्लो वर्ष कर्णालीमा १७ जना आमाको मृत्यु भएको जानकारी गुरुङले दिनुभयो ।
यति हुँदाहुँदै पनि कर्णालीमा बर्थिङ सेन्टरको सेवा गुणस्तरीय हुन नसकेको, भौगोलिक विकटता, समयमै रिपोर्टिङ हुन नसक्नु, सीमित बजेट, जनशक्तिको कमीले आशा गरे अनुसार सुधार ल्याउन चुनौती थपिएको उहाँले बताउनुभयो ।