• ३० असोज २०८२, बिहिबार

सभ्य र सुसंस्कृत समाज निर्माणका लागि प्रशासनको छ बुँदे परिपत्र

blog

जिल्ला प्रशासन कार्यालय दैलेख

दैलेख, असोज ३० गते । जिल्ला प्रशासन कार्यालय दैलेखले सभ्य र सुसंस्कृत समाज निर्माण गर्नका लागि ११ वटै स्थानीय तहलाई छ बुँदे परिपत्र गरेको छ । पछिल्लो समय समाजमा हिंसा अपराध, लागुऔषध दुर्व्यसनी, नकारात्मक सोचका कारण आत्महत्या बढ्दै गएको भन्दै त्यसको न्यूनीकरण गरी सभ्य र सुसंस्कृत समाज निर्माण गर्नका लागि स्थानीय तहलाई बुधबार परिपत्रमा गरिएका जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले हस्ताक्षर गरी पठाएको परिपत्रमा भनिएको छ, ‘‘शिक्षाको गुणस्तर सुधारका लागि स्थानीय तहले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखको सहभागी हुने गरी विद्यालय व्यवस्थापन समिति, अभिभावक र प्रधानाध्यापकसहितको बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरिनुपर्ने, नियमित पठनपाठन सँगसँगै अपराध न्यूनीकरणका लागि मनोसामाजिक परामर्श तथा नैतिक एवम् नागरिक शिक्षासँग सम्बन्धित विषयवस्तुहरू समेटेर कार्य योजना बनाएर कक्षा सञ्चालन गरिनु पर्ने, माध्यमिक तहमा सामाजिक विषय अध्यापन गर्ने शिक्षकलाई अपराध तथा विकृति न्यूनीकरणका सम्बन्धमा कक्षा सञ्चालन गर्ने गरी प्रहरी शिक्षकमा रूपमा विकास गर्न स्थानीय प्रशासन र प्रहरीको सहकार्यमा तालीम सञ्चालन गरिनुपर्नेछ ।’’

यस्तै स्थानीय स्तरमा शान्ति सुरक्षा अपराध न्यूनीकरण विकृति विसङ्गति नियन्त्रण विपद् व्यवस्थापन लगायतका कार्यमा सहजीकरण गर्नका लागि स्थानीय वडा स्तरका जनप्रतिनिधि प्रधानाध्यापक तथा अन्य शिक्षक, प्रहरी चौकीका प्रमुख, व्यवसायी, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूको सञ्जाल निर्माण गर्ने, विद्यालय शान्ति क्षेत्र भएको हुँदा विद्यालयहरूमा नियमित पठनपाठन, विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रम र अतिरिक्त क्रियाकलाप बाहेक अन्य कुनै किसिमका राजनीतिक कार्यक्रम मेला तथा जात्रा लगायतका अन्य गतिविधि नियन्त्रणका लागि पहल गरिनु पर्ने, विद्यालयको नियमित अनुगमन नभएको व्यापक गुनासो आएका कारण नियमित र प्रभावकारी अनुगमनको व्यवस्था गरिदिनु भन्दै छ बुँदे परिपत्र गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गैह्रेले स्थानीय तहले जिल्ला प्रशासन कार्यालयले जारी गरेको परिपत्र कार्यान्वयन गरेको खण्डमा समाजमा हुने हिंसा अपराध, लागुऔषध दुर्व्यसनी, नकारात्मक सोचका कारण आत्महत्या रोकथाममा निकै टेवा पुग्ने बताउनुभयो । उहाँले सभ्य समाज निर्माणका लागि स्थानीय तहले परिपत्र अनुसार कार्यक्रमको आयोजना गर्ने र प्रशासन तथा जिल्ला प्रहरी कार्यालयले त्यसको सहजीकरण  गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘समाजमा दिनानुदिन अपराधिक क्रियाकलाप, बाल विवाह, बहुविवाह, जबरजस्तीकरणी, लागुऔषध दुर्व्यसनी बढ्दै गएको अवस्थामा स्थानीय तहको समन्वयमा अभिभावक, विद्यार्थी, नागरिक समाजका अगुवा, व्यवसायीलाई सचेतना जगाएर सभ्य समाज निर्माण गरिनुपर्दछ ।

भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले जिल्ला प्रशासन कार्यालयले गरेको परिपत्र प्राप्त गरेको भन्दै त्यस अनुसारका कार्यक्रम आयोजना, समन्वय र सहकार्य गर्न गाउँपालिका तयार रहेको बताउनुभयो । उहाँले परिपत्रमा उल्लेख गरिएका विषयमा गाउँपालिकाले काम गरेको भए पनि प्रभावकारी हुन नसकेको बताउँदै अब प्रशासन, प्रहरी र अन्य निकायसँग समन्वय गरी कार्यक्रम प्रभावकारी बनाउने बताउनुभयो ।