• ३० असोज २०८२, बिहिबार

न्याय नपाएको द्वन्द्वपीडितको गुनासो

blog

दैलेखमा द्वन्द्वपीडितसँग छलफल कार्यक्रम । तस्बिर : कमल शर्मा

दैलेख समाचारदाता

दैलेख, असोज ३० गते । जिल्लाका द्वन्द्वपीडितले अझैसम्म पनि आफूहरूले न्याय पाउन नसकेको गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयले दैलेखमा सशस्त्र द्वन्द्वको समयका पीडितहरूसँग गरेको सामुदायिक छलफलमा उनीहरूले सो गुनासो गरेका हुन् । 

द्वन्द्वपीडितका जिल्ला अध्यक्षसमेत रहनुभएका तिलकप्रसाद अधिकारीले आफूहरूलाई राज्यका तर्फबाट कुनै सेवा सुविधा नपाएको बताउनुभयो । उहाँले बिर्सेको घाउलाई बल्झाउने कामबाहेक राष्ट्रिय मानव अधिकार आयोगले समेत काम गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “तत्कालीन विद्रोही पक्ष माओवादी पटक पटक सरकारमा गए पनि द्वन्द्वपीडितका पक्षमा काम गर्न सकेन ।” 

सरकारले द्वन्द्वपीडितको न्यायका लागि विभिन्न आयोग निर्माण गरे पनि आयोग कार्यकर्ता भर्ना गर्नेबाहेक अन्य काम केही हुन नसकेको अध्यक्ष अधिकारीको गुनासो छ ।  संविधान सभाका सदस्य भरतकुमारी रेग्मीले राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितसँग पटक पटक छलफल गर्ने र द्वन्द्वको घाउ फेरि बल्झाउनेबाहेक अन्य कामकारबाही अगाडि नबढेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “तत्कालीन द्वन्द्वको समयमा हत्या गरिएका आफ्नो श्रीमान् नारायण शर्माका विषयमा आयोगले कुनै छानबिनसमेत गर्न सकेन ।” 

पूर्वजनमुक्ति सेना तथा घाइते ओमप्रसाद रेग्मीले आफूहरूको त्यागबाट आएको परिवर्तनमा आफूहरूलाई नै बेवास्ता गरेको आरोप लगाउनुभयो । द्वन्द्वपीडित परिवारकी सदस्य कविता ढकालले द्वन्द्वपीडितका लागि सरकारले विशेष कोटाको व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका कार्यालय प्रमुख रमेशकुमार थापाले पीडितको न्यायको निम्ति आयोग सधैँ तत्पर रहेको बताउनुभयो । उहाँले आयोगमा आएका उजुरीमाथि अनुसन्धान गरी कारबाहीका लागि पठाएको भए पनि कारबाही नभएको दाबी गर्नुभयो । सशस्त्र द्वन्द्वको समयमा दैलेखमा तत्कालीन सशस्त्र माओवादी पक्षबाट पत्रकार डेकेन्द्र थापासहित ३९ जनाको हत्या भएको, राज्य पक्षबाट २८९ जना माओवादी आस्थाका कारण मारिएको र सशस्त्र भिडन्तलगायतका घटनामा झन्डै ३६ जना सुरक्षाकर्मीको हत्या भएको थियो ।