• ७ मंसिर २०८१, शुक्रबार

'कुभिन्डो'बाट मानव अवतार लिएकी 'खीमा'को कथा

blog

काठमाडौं, पुस २ गते । ‘मैले जित्ने सोचेकै छैन, म केवल बराबर हुन चाहन्छु । मलाई सहानुभूति हैन, साथ, सहयोग र माया चाहिन्छ । यो संसार सबैको हैन, के यो संसार तिम्रो मात्रै हो ।’’ ? 

नाटकको बीचमा नाटकको प्रमुख पात्र खीमाले बोलेकी यी शब्दले एकछिन सबै दर्शलाई भावुक बनाउँछ । 

नाटककार प्रनिश मगरले आफ्नो हजुरआमाबाट सुनेका कथामा तयार भएको यस नाटकमा खीमाको कथालाई नाटकमा रूपान्तरण गरिएको छ । खीमा अर्थात् कुभिन्डोबाट रूपान्तरण भएको सानी पात्र । जो होची छिन् र आफ्नो शरीरका कारण आफ्नै साथीभाइबाट हेपिएकी छन् । खीमा अरूभन्दा धेरै फरक छिन्, राम्ररी हिँड्न सक्दिनन् र आमाले सुनाएकी राजकुमार र जादुको बुटीको कथामा भुल्छिन् । 

नाटकमा खीमाको जन्म कसरी भयो होला त ? सन्तानको मायामा हराएकी, एक्ली भएकी एक आमाले बारीमा भेटिएकी एउटा कुभिन्डोलाई मानव अवतारमा प्रस्तुत गरिएको खीमा पात्र प्रतीकात्मक छ । नाटकको कथा एकदमै रोचक छ । 

यसरी, ‘कुभिन्डोको कथा’ नाटक मगरहरूको मारुनी नाचको तालमा अघि बढ्छ । सानेमा लोककथा सुने जसरी नै एक बोजुले सबैलाई कुभिन्डो पात्र खीमाको सङ्घर्षलाई लयबद्ध रूपमा सुनाउँदै जान्छिन् । सानी खीमा पात्रले सबै दर्शकको मन तान्न सफल छन् । 

मगर समुदायका नाचबाट सुरु भएको नाटकमा खिमाको हिमालप्रतिको मोहलाई समेत दर्साइएको छ । हिमाल चढेपछि सबैले आफूलाई बलियो र साहसी भन्ने गरेको व्यवहारलाई नाटकमा प्रतीकात्मकरुपमा प्रस्तुत गरिएको छ । 

नाटकमा गाउँमा पानीको बिगबिगी, खडेरीले पानीका मुहान सुकेपछि गाउँले पाएको दुःखलाई प्रस्तुत गरिएको छ । यसबाहेक नाटकमा गाउँमा खडेरी लागेपछि सबैलाई बचाउन कुभिन्डो अर्थात् सानी खीमाले हिमाल खोज्दै सबैलाई अघि बढ्न हौसला प्रदान गर्छिन् । आफू हिमालसँग ठोक्किएर सारा गाउँलेलाई पानीको मुहान खोलिदिने खीमाको यात्रा साँच्चिकै प्रशंसनीय छ । 

गाउँमा खडेरी लागेर मुहान सुकेपछि गाउँलेले प्रकृतिलाई खुसी पार्न सिमेभूमेको पूजा गर्छन् । मगर समुदायमा भूमिको पूजा गर्ने चलन रहेको छ जसलाई सिमेभूमे पूजा भनिन्छ । 

यसबाहेक समाजमा आजसम्म पनि जीवितै रहेको बहुविवाह र त्यसबाट जन्मेका दुई परिवारका विभिन्न समस्यालाई देखाइएको छ । नाटकमा जेठी श्रीमतीलाई छोडेर कान्छी श्रीमतीसँग जीवन सजाएका व्यक्तिको मृत्युपछि परिवारमा आउने कलह, समस्यालगायत अंशवण्डाका कुराहरू देख्न सकिन्छ । जसले समाजका कयौँ आमा, छोराछोरी, महिला र श्रीमतीहरूलाई पर्ने गरेको मनोवैज्ञानिक असरलाई समेटेका छन् । 

नाटकमा दुई वटा डोरीलेसमेत विभिन्न विम्ब प्रकट गरेको देखिन्छ । साथीभाइको साथ र सहयोग, सानी खीमाले साथी गुमाएको दुःख, आफूले साथीलाई बचाउन नसकेको दोष र हिमाल फुट्न प्रयोग गरिएको ती डोरी प्रतीकात्मक छन् । अन्त्यमा कसैले नगनेकी कुभिन्डो पात्रले समाजलाई पानीको मुहान खोलेर जीवन दान दिन्छिन् । 

कुभिन्डोको कथाको प्रस्तुति, सबै पात्रको मनोभाव र त्यसमा मिल्ने सङ्गीतले सबै दर्शकको ध्यान तान्न सफल भएको छ । यस्तै, ‘कुभिन्डो’ मानव जीवनमा आश्रित भएसँगै यो नाटकले मानव भावसमेत बोकेको छ । नाटकमा एक नैतिकता, मानवता र प्रकृतिका कुरा समेटिएका छन् । नाटकमा मगर समुदायको संस्कृति, घाटु, कौडा नाच र शैलीलाई पनि प्रस्तुत गरिएको छ जसले संस्कृति, प्रकृति र सम्पूर्ण प्राणीको पर्यावरण तथा अस्तित्व उजागर गरेको छ । 

एक घण्टा २० मिनेटको नाटकमा कलाकार पवित्र राई, सर्जम मगर, सङ्गीता थापा मगर, सम्झना जिम्बा, सागर भट्टराई, रेणु योगी, रञ्जना ओली, पुष्कर कार्की, पार्वती थापा, नीता राईलगायत १४ जना कलाकारको अभिनय देख्न सकिन्छ । नाटकमा रेडियोग्राफी प्रमिला खनालको रहेको छ ।

नाटकका निर्देशक कलाकार दयाहाङ राई, सहनिर्देशक विकास जोशी, कोरियोग्राफर प्रमिला खनाल हुनुहुन्छ । नाटक पुस १७ गतेसम्म मण्डला नाटक घरमा मञ्चन हुनेछ ।