• २० असार २०८१, बिहिबार

दक्ष जनशक्ति विकास गर्नेतर्फ शैक्षिक गतिविधि उन्मुख हुनुपर्छ : राष्ट्रपति भण्डारी

blog

बिहीबार मोरङको बेलबारी–९ बाहुनीस्थित जनता नमुना माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सवको अवसरमा विद्यालयको नवनिर्मित भवनको समुद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : गोकुल पराजुली

हरिप्रसाद कोइराला

उर्लाबारी, मङ्सिर २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले हाम्रो मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा सांस्कृतिक सम्पदाहरूमा आधारित उद्यमशीलता प्रवर्धन गर्न आवश्यक पर्ने दक्ष जनशक्ति विकास गर्नेतर्फ शैक्षिक गतिविधिहरू उन्मुख हुनुपर्ने बताउनु भएको छ । 

बिहीबार मोरङको बेलबारी–९ बाहुनीस्थित जनता नमुना माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सवको अवसरमा विद्यालयको नवनिर्मित भवनको समुद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । समकालीन विकासको अवधारणामा मानव विकासलाई पहिलो प्राथमिकतामा राखिएको बताउँदै उहाँले भन्नुभयो, “उपलब्ध स्रोत र साधनको पहिचान गरी राष्ट्रको समृद्धि हासिल गर्न त्यसको दिगो उपयोगका लागि आवश्यक पर्ने व्यवस्थापकीय क्षमताको विकास नै मानवीय विकासको आधारभूत पक्ष हो ।” 

शिक्षाले नै हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान गर्दै असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्नुभएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले मुलुकको सर्वाङ्गीण विकासका लागि शिक्षालाई पूर्वाधारको पनि पूर्वाधारका रूपमा लिइने गरिएको बताउनुभयो । 

गुणस्तरीय शिक्षाको खोजीमा विदेशिने युवा शक्तिलाई देशभित्रै प्राविधिक एवम् व्यवहारिक शिक्षा प्रदान गरी हाम्रो जनशक्ति र पूँजीलाई राष्ट्रको सेवामा लगाउन सक्नुपर्छ ।

विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउन बालबालिकाको ठूलो हिस्सालाई शिक्षा प्रदान गर्दैआएका सामुदायिक विद्यालयको भौतिक एवम् शैक्षिक पूर्वाधार विकासका निम्ति सङ्घीय तथा प्रदेश सरकार र स्थानीय तहले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले थप्नुभयो, “गुणस्तरीय शिक्षाको खोजीमा विदेशिने युवा शक्तिलाई देशभित्रै प्राविधिक एवम् व्यवहारिक शिक्षा प्रदान गरी हाम्रो जनशक्ति र पुँजीलाई राष्ट्रको सेवामा लगाउन सक्नुपर्छ ।” 

विद्यालयसँग व्यक्तिगत रूपमा आफ्नो भावनात्मक सम्बन्ध समेत रहेको बताउँदै उहाँले आफ्ना पिता स्वर्गीय रामबहादुर पाण्डेले सुरुवातीकालमा प्रधानाध्यापकको रूपमा शिक्षण कार्य गर्नुभएको संस्मरण गर्नुभयो । सार्वजनिक शिक्षाको क्षेत्रमा राज्यद्वारा भइरहेको लगानीको अनुपातमा प्रतिफल हासिल हुन नसकिरहेको गुनासोप्रति सबै पक्षको ध्यान जान आवश्यक रहेको चर्चा गर्नुभयो । 

गुणस्तरीय एवम् जीवनोपयोगी शिक्षा प्रदान गरी परिणामद्वारा सामुदायिक विद्यालयले यसखाले गुनासोलाई सम्बोधन गर्न सक्नुपर्ने उहाँको भनाइ छ । उहाँले २०१३ मा स्थापना भएको विद्यालयले २०३४ मा एसएलसी, २०६६ मा उच्च मा.वि., २०७३ मा प्राविधिक धार र २०७४ बाट नमुना विद्यालयको रूपमा छनौट भएर भौतिक एवम् शैक्षिक रूपमा फड्को मार्दै अघि बढेको बताउनुभयो । 

राष्ट्रपति भण्डारीले वीरपुर्खाको ठूलो त्याग र बलिदानबाट मुलुकको एकता, सार्वभौमसत्ता र राष्ट्रियताको जगेर्ना हुँदैआएको संस्मरण गर्दै हामीले आफ्नो त्यही महान् र गौरवपूर्ण इतिहासबाट शिक्षा लिँदै मुलुकको विकास र प्रगतिको यात्रालाई अगाडि बढाउनु पर्ने चर्चा गर्नुभयो ।  

गुणस्तरीय एवम् जीवनोपयोगी शिक्षा प्रदान गरी परिणामद्वारा सामुदायिक विद्यालयले यसखाले गुनासोलाई सम्बोधन गर्न सक्नुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रप्रेम र मुलुकप्रतिको अविचल निष्ठालाई जीवनको लक्ष्य बनाउने नागरिक तयार गर्न विद्यालय शिक्षाको अग्रणी भूमिका रहने विषयलाई जोड दिँदै  भण्डारीले विद्यालयलाई स्थापनाकालदेखि हालको अवस्थासम्म ल्याउन आ–आफ्नो क्षेत्रबाट योगदान गर्ने विद्यालय व्यवस्थापन समितिका पदाधिकारी‚ प्रधानाध्यापक‚ शिक्षक वर्ग‚ अभिभावक तथा विद्यार्थीलाई धन्यवाद दिनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रप्रसाद घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका सहयोगदातालाई सम्मान गरिएको थियो । १ करोड ६० लाख रुपियाँमा निर्माण भएको प्रशासनिक भवन र २ करोड ४१ लाख रुपियाँमा निर्माण भएको दुई वटा शैक्षिक भवन उद्घाटन गर्न राष्ट्रपति भण्डारी बिहीबार बेलबारीको बाहुनी आउनुभएको थियो ।