• १२ मंसिर २०८१, बुधबार

रुपन्देहीका किसानले जिल्ला प्रशासन घेराउ गर्ने

सरकारले मूल्य तोकेर धान नकिनेपछि किसान सङ्गठनको आन्दोलन

blog

आन्दोलनबारे जानकारी दिन बुटवलमा आयोजित पत्रकार सम्मेलन। तस्बिर : कपिल ज्ञवाली।

कपिल ज्ञवाली 

सिद्धार्थनगर, मङसिर २८ गते। सरकारले धानको समर्थन मूल्य तोकेर पनि धान नकिनेपछि किसान आक्रोशित भएका छन्। सरकारले धान किन्नमा आलटाल गर्नुका साथै मल सहज आपूर्ति नभएपछि किसान लगातार संर्घषरत छन्। 

कांग्रेस-एमाले समर्थित किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ र नेपाल किसान महासङ्घले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्न बुटवलमा पत्रकार सम्मेलन गरेको हो। 

दुई वटै महासङ्घका लुम्बिनी प्रदेश समितिको संयोजकत्वमा रुपन्देहीमा आन्दोलनका कार्यक्रम थप चर्काउने निर्णय भएको छ।

बुधबार बुटवलमा भएको संयुक्त भेलाबाट गत मङ्सिर २० गते जिल्ला प्रशासन  कार्यालयमा बुझाइएको ज्ञापन पत्रको विषयमा भए गरेका प्रगतिको विषयमा बिहीबार  जिल्ला प्रशासन कार्यालयमा धर्ना सहितको कार्यक्रम तय गरिएको अखिल नेपाल किसान  महासङ्घ लुम्बिनी प्रदेश संयोजक तथा पूर्व मन्त्री आरती पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार पहिलो चरणमा मङ्सिर २९ गते जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई भेटेर पहिला प्रदान गरिएको ज्ञापन पत्रको विषयमा थप ध्यानाकर्षण गराउने र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरिएको छ। करिब पाँच सय किसानको सहभागिमा जिल्ला प्रशासन कार्यालयमा धर्ना  दिने पूर्व मन्त्री पौडेलको भनाइ रहेको छ।

यस्तै नेपाल किसान महासङ्घ लुम्बिनी प्रदेशका संयोजक बेगबहादुर कुँवरका अनुसार गत मङ्सिर २५ गते धानको समर्थन मूल्य अनुसार धान खरिद गर्नको लागि दबाब स्वरूप प्रदेशको खाद्य व्यवस्था तथा आपूर्ति कम्पनीमा गरिएको तालाबन्दी गरिएकोमा किसानको मागलाई बेवास्ता गरेपछि आन्दोलन गर्नु परेको उल्लेख गर्नुभयो। 

अखिल नेपाल किसान महासङ्घ लुम्बिनी प्रदेश महासचिव महेन्द्र गिरीका अनुसार संयुक्त बैठक पश्चात् विभिन्न १३ बुँदे मागसमेत प्रस्तुत गरिएको छ।  जस अनुसार मलको आपूर्ति सहज बनाउनको लागि सहकारी भन्दा पनि किसान समूहमार्फत वितरणको व्यवस्थापन मिलाउन माग गरिएको छ भने  उत्पादनमा आधारित अनुदानको व्यवस्थापन गर्न सरकारसँग माग गरिएको छ।