बर्सातको समयमा चट्याङ परेको हामीले देखेकै छौँ । यो एक प्राकृतिक प्रक्रिया हो । मनसुन वा वर्षा मौसममा आकाशबाट जमिनमा खस्ने एक प्रकारको विद्युतीय करेन्टलाई चट्याङ भनिन्छ । भाइबहिनीहरू, यस पटक हामी चट्याङ के हो र कसरी पर्छ भन्नेबारेमा केही जानकारी लिउँ है त ।
वर्षा याम वा मनसुन भित्रिएको समयमा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु वा बादल एक आपसमा ठोक्किँदा चर्को आवाजसहित विद्युतीय लहर उत्पन्न भई आकाशमा बाटो बनाएर पृथ्वीसम्म पुग्छ, यसलाई नै चट्याङ भनिन्छ । यो एक प्राकृतिक प्रक्रिया हो तर यो अचानक हुने विद्युतीय विस्फोट हो । यसमा बादलबाट बादल र त्यसपछि पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ । भाइबहिनीहरू, यो एक प्राकृतिक खतरा हो, जसले जनधनको विनाश गर्ने गर्छ । वैज्ञानिकका अनुसार चट्याङको आवाज २० किलोमिटरभन्दा टाढा सुनिँदैन तर अपवादका रूपमा ६० किलोमिटरसम्म चट्याङको आवाज सुनिएको रेकर्ड छ । एक पटक बिजुली चम्किँदा १२ करोड ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ भने ३० हजार डिग्री सेन्टिग्रेटसम्म तापक्रम फाल्छ, यो तापक्रम सूर्यको भन्दा बढी हुन्छ ।
त्यसो त चट्याङले सधैँ आवाज निकाल्छ भन्ने छैन, कहिलेकाहीँ आवाजविनाको चट्याङ पनि पर्ने गर्छ जसलाई ‘उष्ण बिजुली’ भन्ने गरिन्छ तर आवाज आउने होस् वा नआउने सबै चट्याङले विद्युत्को लहर उत्पन्न गराउँछन् । त्यसैले सबै खाले चट्याङ खतरनाक हुन्छन् । भाइबहिनीहरू, चट्याङ कहिले पर्छ भनेर पहिले नै भन्न सकिँदैन र अनुमान लगाउने प्रविधि अहिलेसम्म बनेको छैन । वैज्ञानिकका अनुसार यो वर्षा भएको ठाउँबाट १५ किलोमिटरभन्दा बढीसम्म पर्न सक्छ ।
चट्याङ कुनै पनि समयमा पर्न सक्छ, यो कुन समयमा पर्छ भन्न सकिँदैन । भाइबहिनीहरू, पृथ्वीमा बाह्रै महिना हरेक दिन हजारौँ चट्याङ परिरहेको हुन्छन् । मनसुनको समयअघि र पछि बादलको उचाइ धेरै हुने भएकाले अरू बेलाभन्दा धेरै चट्याङ पर्ने गर्छ । यस समयमा चट्याङ निकै खतरा हुन्छ । संसारको सबैभन्दा बढी चट्याङ पर्ने स्थानका रूपमा भेनेजुयलाको माराकाइबो ताल क्षेत्रलाई लिइन्छ । यहाँ प्रत्येक मिनेटमा करिब २८ पटक चट्याङ् पर्ने गर्छ ।
वैज्ञानिक कारण
भाइबहिनीहरू, चट्याङ एक प्रकारको ‘इलेक्ट्रिक चार्ज’ हो । बादलका विपरीत दिशा एक आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ । यसैलाई ‘बिजुली चम्केको’ भनिन्छ । यसरी दुई बादल जुध्दा ठूलो आवाज निस्किन्छ । आकाशमा बादलहरूको हलचल र एक आपसमा टकराव र घर्षणले एक किसिमको विद्युतीय करेन्ट उत्पन्न हुन्छ । यसरी उत्पन्न भएको करेन्टलाई वैज्ञानिक भाषामा विद्युतीय अणु प्रोटन भनिन्छ । उक्त प्रोटन अणुहरू पृथ्वीमा भएको न्युटल अणु प्राप्त गर्नका लागि जमिनतर्फ चुम्बकीय गतिले प्रहार हुन्छ । भाइबहिनीहरू, चट्याङ विशेष गरी खुला ठाउँमा पर्ने गर्छ । प्रायः सल्लो, साल, पैँयो, खडीक, टुनीजस्ता अग्ला ठूलो रुख छेउछाउ र अग्ला टावरहरूमा पर्ने गर्छ । रुखहरूका साथै अग्ला घरहरूमा न्युटलको सम्पर्कमा आएर आकाशीय प्रोटन अणुसँग सङ्घर्षणका कारण एक प्रकारको विद्युतीय करेन्ट उत्पन्न हुन्छ । यस कारण चट्याङ् पर्छ ।
सावधानी
भाइबहिनीहरू, अघि नै हामीले भनिसक्यौँ, चट्याङ प्राकृतिक प्रकोप हो, त्यसैले यसलाई रोक्न एवं नियन्त्रण गर्न सकिँदैन तर सावधानी भने पक्कै अपनाउन सकिन्छ । यसबाट बच्न के–कस्ता उपाय अपनाउने त, ।
(विभिन्न अनलाइन साइटको सहयोगमा)