गत शैक्षिक सत्र २०८१ को सुरुमै हाम्रा कक्षा शिक्षक इन्द्रकुमार श्रेष्ठले हाम्रो सेक्सनका विद्यार्थीलाई भन्नुभएको थियो, “आफूले गरेको कुनै राम्रो काम कुरा छ भने त्यसको प्रचार गर्नु राम्रो हुँदैन । हामी यो सेक्सनका प्रत्येक विद्यार्थीले हल्लाखल्ला नगरिकन प्रतिमहिना १० रुपियाँका दरले रकम जम्मा गरौँ । दसैँ बिदा हुनुअघि त्यो पैसा जति हुन्छ त्यसमा म एक हजार रुपियाँ थपिदिउँला र यहाँ नजिककै आदर निकेतन (वृद्धाश्रम) मा जम्मा गरिदिऊँ । त्यसबाट थोरै भए पनि हाम्रा हजुरबा हजुरआमालाई दसैँ मनाउन सहयोग पुग्ने छ ।”
यसमा हामी सबैको तुरुन्तै सहमति भयो । महिनैपिच्छे १० रुपियाँ जम्मा गर्दै गयौँ । यो कुरा मैले घरमा ममीलाई सुनाउँदा उहाँ खुसी भएर “मेरोतर्फबाट पनि जम्मा गरिदेऊ है !” भन्दै एक सय रुपियाँ दिनुभयो । कक्षामा मैले सो रकम सरमार्फत जम्मा गरिदिँदा उहाँले मेरो र ममीको खुब प्रशंसा गर्नुभएको थियो । त्यसले ममा झन् खुसी बढायो । महिनैपिच्छे १० रुपियाँ उठाउने र त्यो जम्मा गर्ने काममा हाम्री साथी रोशिका भट्टको विशेष सक्रियता रह्यो । त्यसमा हामी सबै साथीले पनि साथ दिइरह्यौँ ।
दसैँ बिदा हुने अघिल्लो दिन अर्थात् २०८१ असोज १६ गते । त्यस दिन संयोगले ज्येष्ठ नागरिक दिवस पनि परेको रहेछ । कक्षामा रकमको हिसाब गर्यौँ । तीन हजार रुपियाँभन्दा थोरै बढी भएछ । सरले एक हजार रुपियाँ थपिदिनुभयो । वृद्धाश्रमलाई दिनका लागि हामीसँग धेरै रकम त थिएन तर हामीमा अरू कक्षाका साथीको भन्दा फरक भावना थियो । यही कुरा सम्झेर फुरुङ्ङ हुँदै हेडसरको अनुमति लिएर हामी अन्तिम घन्टी सकिनुभन्दा २० मिनेटअघि सरसँगै विद्यालयनजिकैको आदर निकेतन (ख्वपः अस्पतालको उत्तरतर्फ) गयौँ । हामीलाई समीर सरले पनि साथ दिनुभयो । विद्यालयबाट नजिकै (पाँच मिनेट पनि नलाग्ने) भए पनि उक्त निकेतनबारे हामी अधिकांशलाई थाहै थिएन ।
घाम विस्तारै डुब्दै गरेको बेलुकीपखको रमाइलो समयमा हामीहरू त्यहाँ पुग्दा हजुरबा तथा हजुरआमा खुसी हुनुभयो । कार्यव्यस्तताका कारण निकेतनका प्रमुख व्यवस्थापक भने हुनुहुन्न रहेछ त्यतिबेला । हामीमध्ये धेरै जसो भित्रै गयौँ । निकेतनको भित्री भागमा प्रशस्त ठाउँ नभएकाले कोही बाहिरै पनि उभियौँ । उहाँहरूसँग कुराकानी गर्यौँ । साथी लालवतीले नजिकैको आफ्नो कोठाबाट मोबाइल ल्याएपछि फोटो खिच्न थाल्यौँ । त्यत्तिकैमा निकेतनकै एक जना हँसिली र उज्याली अनुहारकी मिसले हामी ३०–३५ जनालाई मिठो चियाले स्वागत गर्नुभयो । उहाँको सेवा र सत्कार भावले हामी नतमस्तक भयौँ ।
भोलिदेखि दसैँ बिदा थियो । एकापसमा दसैँको शुभकामना साटासाट गर्दै हामी बिदा भयौँ । त्यो विशेष दिन हामी सबैका लागि अविस्मरणीय बनेको छ । अब त हामी कक्षा ९ बाट १० मा पुगिसकेका छौँ । अब यो कक्षामा पनि यस्तै केही उल्लेखनीय र स्मरणीय काम गर्ने हाम्रो योजना छ ।