• १२ मंसिर २०८२, शुक्रबार

सडक मर्मत एम्बुलेन्स सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १२ गते । मुलुकको सडक पूर्वाधारको क्षेत्रमा पहिलो पटक ‘सडक मर्मत एम्बुलेन्स’ प्रयोगमा ल्याइएको छ । काठमाडौँका सडक खाल्टाखुल्टी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालन गरिएको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार सडक डिभिजन कार्यालय, काठमाडौँले प्रयोगमा ल्याएको ‘सडक मर्मत एम्बुलेन्स’ प्रयोगको आरम्भ गर्नुभयो । सडक डिभिजन कार्यालय, काठमाडौँको कार्यक्षेत्रमा पर्ने सामरिक महत्वका सडक तत्काल मर्मत गर्नका लागि एम्बुलेन्स प्रयोग गरिने छ ।

कार्यक्रममा मन्त्री घिसिङले सडक एम्बुलेन्स नेपालमा नमुनाका रूपमा प्रयोगमा ल्याइएको उल्लेख गर्दै त्यसलाई अन्य मुख्य सहरमा पनि विस्तार गरी सडक मर्मतसम्भारमा आउने गुनासोलाई सम्बोधन गरिने बताउनुभयो । विकसित देशमा जस्तै अत्याधुनिक उपकरण जडान गरी सडक मर्मतको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाइनुपर्नेमा उहाँले जोड दिनुभयो । 

सडक डिभिजन काठमाडौँका प्रमुख सुबोधकुमार देवकोटाले सडक एम्बुलेन्सको प्रयोगबाट ३६५ दिन र चौबिसै घण्टा तयारी अवस्थामा रहने र सडक तत्कालै मर्मतसम्भार गरी सहज अवागमन सुनिश्चित प्रदान गर्न सकिने उल्लेख गर्नुभयो । एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न गरिने छ । कामको समयमा ट्राफिक व्यवस्थापनका लागि चेतावनी बत्ती छन् । भिडभाडको समयमा समेत आकस्मिक मर्मत गर्न सकिने छ ।

मोबाइल एप सञ्चालन 

त्यसै गरी सडक विभागले सडकमा देखिएका खाल्टाखुल्टीको तत्काल जानकारी दिई मर्मत अगाडि बढाउन मोबाइल एप सञ्चालनमा ल्याएको छ । जसमा खाल्डोको अवस्थाको तत्काल फोटो खिची अपलोड गर्न सकिने व्यवस्थाका साथै मर्मतपछि त्यसको अद्यावधिक विवरणसमेत हेर्न सकिने जनाइएको छ ।