भाइबहिनीहरू, तुलसी निकै उपयोगी वनस्पति हो । तुलसीलाई हिन्दु धर्म र संस्कृतिमा महत्वपूर्ण वनस्पतिका रूपमा मानिएको छ । यो संसारका प्रायः सबै ठाउँमा पाइने वनस्पति हो । हामी तुलसीलाई निश्चित दिनमा रोप्ने, पानी चढाउने र पूजा पनि गर्ने गर्दछौँ । तुलसी औषधीको विभिन्न गुण भएको बिरुवा हो । रुघाखोकी, दम, मस्तिष्कसम्बन्धी समस्या, नाक, कान र घाँटीसम्बन्धी समस्यालगायत स्वास्थ्यसम्बन्धी समस्यामा औषधीका रूपमा तुलसीको प्रयोग गर्ने गरिएको आयुर्वेदिक चिकित्सक डा. मनोज चौधरीले बताउनुभयो ।
उहाँका अनुसार धेरै अक्सिजन दिने बिरुवामध्ये तुलसी पनि हो । उहाँले तुलसीको प्रयोग औषधी बनाउन, पफ्र्युम (अत्तर) र साबुन बनाउन प्रयोग हुने बताउनुभयो । तुलसीको पात, फूल, डाँठ, जरा, फल सबै प्रयोगमा आउँछ । लाभदायक भएकाले तुलसीको चिया पिउने चलन पनि बढ्दै गएको छ । तुलसीको चियाले मानव शरीरका कीटाणुनाश गरी स्वस्थ बनाउने भएकाले दैनिक सेवन गर्नु फलदायी हुन्छ । तुलसी, सुठो, पिप्ला, मरिच, त्रिकटुलाई काँडापानी बनाएर पिउने गरिन्छ ।
अत्यधिक चिसो स्थानमा यसको खेती सम्भव छैन । पानी नजम्ने स्थानमा खेती गर्न सकिने कृषि स्रोत वन केन्द्रका अनुसन्धानकर्ता किरण खरेलले बताउनुभयो । समुद्री सतहदेखि नौ सय मिटर उचाइ भएको भूभागमा तुलसी खेतीका लागि उपयुक्त मानिन्छ । तुलसी खेतीका लागि उच्च तापक्रम, अधिक वर्षा र सापेक्षिक आद्रता आवश्यक पर्दछ । यसको फलबाट छुट्टै आम्दानी लिन सकिन्छ । पातबाट पनि अलग आम्दानी लिन सकिन्छ । यसको खेतीबाट पाँचदेखि सात वर्षसम्म एउटै बिरुवाबाट आम्दानी लिन सकिन्छ । बहुगुणयुक्त वनस्पति तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने परम्परा छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राखिन्छ । आषाढ शुक्ल एकादशीका दिन दलबाट घरको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म विशेष पूजाआराधना गरिने पण्डित प्रमोद भट्टराईले बताउनुभयो ।
नेपाल, भारत, भुटान, बङ्गलादेश, म्यान्मार, थाइल्यान्डलगायतका देशका हिन्दुका हरेक घर घरमा मठ तयार गरी तुलसी लगाउने गरिन्छ । डा. चौधरीले तुलसीको प्रयोगले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडाबान्ता पनि रोक्ने बताउनुभयो । मानिस मृत्यु शय्यामा हुँदा प्राण त्याग्नुअघि तुलसीको बोटसँगै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मृत्युपछि मोक्ष पाउँछ भनी शास्त्रमा वर्णन गरिएको छ । तुलसी रोपेको चार सय मिटर वरपरको वातावरणलाई तुलसीको सुगन्धले शुद्ध पार्छ भन्ने पनि विश्वास छ । तुलसी र यसको छायाँ वरिपरि कुनै पनि विषाक्त कीटाणु टिक्न सक्दैनन् । दीर्घरोगीलाई तुलसीको सेवनले निकै लाभ पुगेको छ ।
तुलसीका विभिन्न प्रजाति रहेका छन् । ब्रह्मवैवर्तन पुराण अनुसार तुलसीका प्रसिद्ध आठ नामहरू– वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी हुन् । नेपालमा कृष्ण तुलसी (कालो तुलसी) र राम तुलसी (हरियो तुलसी) रोप्ने गरिएको छ ।