• ७ वैशाख २०८१, शुक्रबार

भारतसँग कूटनीतिक समाधान खोजिने

blog

काठमाडौँ, मङ्सिर २० गते । सरकारले महाकाली नदीको धार परिवर्तन हुनेगरी बनाइरहेको संरचनाका सन्दर्भमा सरकारले भारतसँग कूटनीतिक संवाद अघि बढाउने प्रस्ट पारेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीमा भारतीय पक्षले बनाइरहेको संरचनाको सन्दर्भमा द्विपक्षीय छलफल हुने बताउनुभएको हो। उहाँले भन्नुभयो, “केही समस्या छन् भने तिनीहरूलाई हामीले कूटनीतिक ढङ्गले हल गर्नुपर्छ, सरकारको धारणा त्यही नै हो।”

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले भारतीय पक्षबाट महाकाली नदीको बहाव नै प्रभावित हुनेगरी संरचना निर्माण गरिरहेको प्रधानमन्त्री शेरबहादुर देउवासँग राय माग्नुभएको थियो। डा. भुसालले भन्नुभयो, “प्रधानमन्त्रीले महाकाली नदीमा संरचना निर्माण भइरहेको विषयमा भारतसँग कुरा हुँदैछ भन्नुभएको छ।”

सरकारमा अन्य दल पनि

मन्त्री कार्कीले सत्ता साझेदार चार दलसँगै अन्य दललाई पनि सहभागी गराएर नयाँ सरकार गठन हुने बताउनुभयो। उहाँले समानुपातिक नतिजा आएपछि सरकार गठनका लागि अन्य दलहरूसँग औपचारिक संवाद हुने बताउनुभयो। उहाँले अब बन्ने सरकारले स्थायित्व विकास र समृद्धिको पक्षमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउँदै अरू दलको समेत सहभागितामा गठबन्धनकै सरकार बन्ने प्रस्ट पार्नुभयो।