• १० मंसिर २०८१, सोमबार

कर्मशील जीवनका भोगाइ

blog

नरजित राई नेपाली साहित्याकाशमा स्वच्छन्द उडानका लागि गन्तव्य खोज्दै गरेका साहित्यिक व्यक्तित्व हुनुहुन्छ । ‘आकाश खोज्दै जाँदा’, ‘समुद्रमाथिको सहर’, ‘मनोविम्ब’, ‘नसकिने बाटो’ तथा ‘मनका नदीहरू’जस्ता कृतिका सर्जक राईको जन्म खोटाङ, स्थायी बसोबास झापा र आजीविका हङकङमा रहेको छ । त्यसैले उहाँका सिर्जनामा जन्मस्थलको सुगन्ध, कर्मस्थलका रहर र कहर तथा बासस्थलको गौरव एकसाथ प्रतिविम्बित भएका छन् । 

हङकङ साहित्यिक साझा शृङ्खलाद्वारा प्रकाशित ‘मनका नदीहरू’ पुस्तकमा आवरण पृष्ठबाहेक १४८+१० पृष्ठ रहेका छन् । फुटकर कविता ७१ र केही छोटा कविता शीर्षकमा १५ टुक्रे कविता गरी कुल ८६ कविता सङ्गृहीत छन् । महेश प्रसाईंको सारपूर्ण भूमिका तथा डा. विष्णु राई र कुमारी कमला राईको सूत्रात्मक समीक्षा एवं कवि राईको सङ्क्षिप्त परिचय पुस्तकमा समेटिएका छन् ।

वास्तवमा कर्मशील जीवनका उहापोह नै राईको कविताका कथ्य बनेका छन्, जुन स्वाभाविक पनि छन् । कविको जीवन भोगाइ, वस्तु बुझाइ र जगत् हेराइका अन्तरगुञ्जन कविताका फाँकी बनेर उनिएका छन् । कविता सरल छन्, तुलनात्मक रूपमा कम प्रतीकात्मक र कम विम्बात्मक । तर यथार्थ बोल्न सक्षम र सबल । कवि राईकै शब्दमा उहाँका कविताहरू माया, ममता, स्नेह, बिछोड र प्रेमका दृश्यहरू हुन्; आफ्नो मातृभूमिको नोस्टाल्जिक अनुभूति र प्रवासी जीवनका कथाव्यथा तथा कोरोना कहरका अवर्णित परिदृश्य । यी र यस्तै कथ्यविधानमा संरचित सपाट प्रतिविम्ब हो, ‘मनका नदीहरू’ ।

कवि राईका कविताको एउटा कथ्य प्रणय–प्रेम हो । प्रणय–प्रेमका अनेकौँ स्वरूप कवितामा प्रस्तुत छन् । तथापि युवामनको विपरीत लिङ्गीप्रतिको स्वाभाविक आकर्षणजन्य प्रेमिल अनुभूति नै कविको विषय रहेको देखिन्छ । प्रणय सुखको सुन्दर कल्पनामा डुबुल्की मार्दै विदेशीभूमिमा आजीविकाका लागि सङ्घर्ष गर्नुपर्दाका अनुभूति कवितामा छन् । उहाँका कवितामा कतै प्रविधि र प्रेमको चर्चा छ त कतै प्रणयमा एकतर्फी आकर्षणको चर्चा छ । साथै कतै प्रेम वियोगको पीडा र पश्चात्ताप, कतै असफल प्रेमको आलाप, कतै प्रेममा समर्पणभाव र प्रेमी वा प्रेमिकाको खुसीका लागि सम्बन्धको त्याग, कतै प्रेमिल जीवनको सुखद स्मरण त कतै प्रेमको स्वार्थपूर्ण आवरणले कविता बुनिएका छन् । यस अर्थमा उहाँका कविता प्रेमिल अनुभूति र स्वप्नील जीवनको लालित्यमय अभिव्यक्ति प्रस्तुत गर्न सफल छन् ।

उहाँका कविताको अर्को कथ्य हो, प्रवासी जीवन र स्वदेशप्रेम । कवि स्वयं मनमा स्वदेशको माया बोकेर हङकङमा प्रवासी जीवन बाँचिरहेका पात्र हुनुहुन्छ । त्यसैले स्वदेशमा बस्ने आफन्तको खुसीका लागि प्रवासमा सङ्घर्ष गर्नुपर्दाका क्षणलाई कविले कवितामा बाँध्नु भएको छ । कविको कर्मस्थलको अनुभूति र जन्मस्थलको स्मृति ‘फेचाइ’, ‘बिरानो’ ‘देशमा’, ‘बाँचेछु भने कोक्रुवा’, ‘चिहानडाँडा’जस्ता कवितामा प्रतिविम्बित भएका छन् । श्रमशील, गतिशील तथा सिर्जनशील उमेर विदेशीभूमिमा खर्चनुपर्दाको पीडाबोध र स्वदेशसेवा गर्ने उत्कट चाहना कवितामा अभिव्यक्त भएका छन् । रोजगारीकै लागि विदेसिनुपर्दाको परिवार वियोगजन्य आँसु, पुनः भेट होला कि नहोला भन्ने सन्त्रास र विश्वजनीन सङ्क्रमणजन्य महामारीको त्रासले कविता मर्मस्पर्शी बनेका छन् । नेपाल बेरोजगार उत्पादन गर्ने कारखाना बनेको प्रति चिन्ता, रोजगारीका लागि खाडी पसेका युवाले रगतरूपी पसिना बगाएर सङ्घर्ष गर्नुपरेको यथार्थ र सपना बोकेर जहाज चढेका युवाको सपना लासका रूपमा बाकसमा कैद भएर फिर्ता हुँदाको क्षण कवितामा चित्रित छन् ।

उहाँका कविताको अर्को कथ्य प्रकृतिचित्रण हो । वास्तवमा प्रकृति सिर्जनाको मुहान पनि हो । प्रकृतिलाई हेरेर जीवनका सुन्दर विम्बहरूको खोजी गर्नु सर्जकको धर्म हो । यस धर्मलाई राईले अनुसरण गर्नुभएको छ । तथापि विम्बविधान कसिलो बन्न सकेको चाहिँ देखिँदैन । ‘असारको सम्झना’, ‘प्रकृतिमा’, ‘शिरीषको रुख’, ‘कुहिरोसँग’ जस्ता कवितामा कृषिकर्म र ग्रामीण जीवन, प्रकृतिमाथि प्राणीको निर्भरता र प्राकृतिक प्रकोपको प्रभाव तथा प्राकृतिक माधुर्यको चित्रण गरिएको छ ।

जीवन र जगत्लाई हेर्ने पृथक् दृष्टिकोण नै दर्शन हो । अर्थात् कविको विशिष्ट विचार नै कवितामा दर्शन हो । 

‘जिन्दगी’, ‘उत्तरार्धमा’, ‘म जिउँदो आगो’, ‘कस्तो जीवन’, ‘के हो जिन्दगी’जस्ता कविताहरू कविका जीवनदर्शन अभिव्यञ्जित गर्ने प्रतिनिधि कविता हुन् । समाजमा देखापरेका आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक विकृति विसङ्गतिको चित्रण गर्न पनि उहाँका कविता सफल छन् । उहाँले कवितामा आफ्नै मृत्युले समाजमा ल्याउने भावतरङ्गको पूर्वकल्पनासमेत गर्न भ्याउनुभएको छ । जिन्दगीका दुई सत्य जन्म–मृत्यु, संयोग–वियोग तथा नियति–कर्मलगायतको चर्चा पनि कवितामा सुन्दर ढङ्गले आएको छ । केही कवितामा जीवनप्रतिको असन्तुष्टि र विसङ्गतिबोध तथा समाज बिस्तारै कृतघ्न बन्दै गएको प्रति चिन्ता व्यक्त भएको छ । चरम निराशाबोध, बुढ्यौली उमेर र एकाकी जीवनको अनुभूति पनि कवितामा पाइन्छ । भित्र रोएर पनि बाहिर हाँसेको अभिनय गर्नुपर्ने विवशता र नियतिवादी–भाग्यवादी चिन्तन कवितामा अटाएका छन् । 

अख्तियारको दुरुपयोग, नातावाद, कृपावाद तथा कमिसनतन्त्र नेपाली राजनीतिको प्रतिनिधि प्रवृत्ति बन्न पुगेको छ । अधिकांश युवा मदिराप्रिय बन्दै गएका छन् । त्यसैले उहाँले कवितामा देखावटी र आडम्बरी जीवनशैलीप्रति विमति राख्नु भएको छ । 

जीवनका कतिपय मोडमा सिर्जना हुने द्विविधा, वैश्विक महामारी कोरोना तथा सार्स भाइरसजन्य सङ्क्रमणले मानव जीवनमाथि पारेको प्रभाव पनि कविताको कथ्य बनेर आएको छ । विज्ञान र प्रविधिको विकासले जीवन प्रविधि आश्रित बन्न पुगेको तर्फसमेत कवितामा सङ्केत गरिएको छ भने केही कवितामा राजनीतिक विकृतिमाथि सिधा पटाक्षेप गरिएको छ । 

सेवानिवृत्त जीवनका अनुभूति र स्वार्थी सम्बन्धले सिर्जना गरेका उल्झन दुवै कवितामा अटाएका छन् । विश्राम कवितामा किराँती मिथकको प्रयोग पनि छ । पदार्थ बन्न कण र कण बन्न अणु आवश्यक भएजस्तै समाज निर्माणमा पहिचानविहीन भनिएकाको पनि भूमिका रहेको हुन्छ भन्ने विचार पनि कवितामा अटाएका छन् ।

धूमपान तथा मद्यपानले समाजमा छरेका विकृति पनि कवितामा अटाएका छन् । आफैँलाई प्रश्न जस्तो कवितामा कविको अस्तित्ववादी चेत प्रस्फुटित हुन पुगेको छ । केही छोटा कविताहरू शीर्षकमा जीवन, समाज, सपना, आँसु, आशा, दुःख, विश्वास, हिँडाइ, गलाइ, सोच, ढुङ्गा, कर्म, पीडा, फूल र कष्ट विषयका काव्यात्मक झिल्का प्रस्तुत भएका छन् ।

अन्त्यमा, सरल सहज भाषाशैलीमा कवि राईले आफ्ना स्वच्छन्द भावनालाई कविताको स्वरूप दिन खोज्नुभएको छ । उहाँका अधिकांश कविताले आफ्ना कथ्यलाई विम्ब र प्रतीकको जालो नबुनी सिधा व्यक्त गरेका छन् । अर्थात् उहाँका कविताले विचारप्रधान निबन्धको साँधबाट काव्ययात्रा गरेका छन् । कवितामा कताकति भाषिक त्रुटि बिझाउन पुग्छ । सङ्गतिगत र वर्णविन्यासगत यस्ता त्रुटिको मूल कारण सामान्य परिष्कारको अभाव हो । ‘माफ’ शीर्षकको कविता हुबहु दोहोरिएको छ भने ‘थाकेछु’ शीर्षकको कवितामा पनि आवृत्ति दोष छ । यसअर्थमा चाहिँ उहाँका कविताका केही सीमा केलाउन सकिन्छ ।