पच्चीसवटा निबन्धहरूको सँगालो शब्दशिविर लिएर निबन्धकार मुकुन्दराज शर्मा देखा परेका छन् । प्रस्तुतिका दृष्टिले यस सङ्ग्रहका धेरैजसो निबन्धले संस्मरणको रूप धारण गरेको देखिन्छ ।
सामान्य विषयप्रसङ्गदेखि गहन चिन्तन गर्नुपर्ने सन्दर्भलाई निबन्धकारले यहाँ सङ्कलित कतिपय निबन्धमा उठाएका छन् । संस्मरणात्मक निबन्धमा निबन्धकारको इमानदार अभिव्यक्ति अपेक्षित हुन्छ । निबन्धकार शर्माले यहाँ आफ्नो निजत्वलाई सरल एवं स्पष्ट रूपमा अभिव्यक्त गर्ने प्रयास गरेको भेटिन्छ ।
अति गहनभन्दा सामान्य विषयवस्तुलाई आफ्नो साथ पाठकवर्गलाई पनि विभिन्न कोणबाट घोत्लिन बाध्य पार्ने निबन्धकारको कलालाई ‘गुन्द्रुक भिसा’, ‘दुई दुना दुई’, ‘लाहुरेको रेलिमाई’, ‘कन्फेसन’, ‘मम्मी म स्कुल जान्नँ’ आदि निबन्धले स्पष्ट पारेका छन् । अग्रज पुस्ताप्रति आफ्नो दृष्टिकोणलाई निबन्धकारले ‘बा, म र काठमाडौँ’, ‘डा. ईश्वर बरालसँगको त्यो भेट’, ‘रामलाल अधिकारी ः अन्तरङ्ग संस्मरण’जस्ता निबन्धबाट प्रकट गरेका छन् । त्यसो त उनले आफ्नो परिवेशका कतिपय नमिल्दा प्रसङ्गहरूलाई मीठै भाषामा आफ्नो असहमति साङ्केतिक रूपमा सबैजसो निबन्धमा व्यक्त गरेका छन् तापनि उनको यो प्रवृत्ति ‘गरिबी भर्सेस् राजनीति’, ‘अनि तपाईं को ?’, ‘जनताको कान’, ‘जिन्दाबाद ! मुर्दाबाद !!’ जस्ता निबन्धमा ज्यादा मुखरित भएको पाउन सकिन्छ । नेपाली समाजको रोगग्रस्त चाकडी, चाप्लुसीजनक प्रवृत्तिलाई समेत उनले ‘बधाई छ हजुर’ निबन्धमार्फत उदाङ्गो पार्न छाडेका छैनन् । जीवन जिउने क्रममा भोग्न परेका निजी अनुभूतिहरूलाई उनले ‘गुन्द्रुक भिसा’, ‘सपना !’, ‘ए बूढी ! भोक लाग्यो’, ‘कन्फेसन’, ‘सात दिन, सयौँ मरण’, ‘हे ईश्वर ! म गरिब भएँ’ जस्ता निबन्धमा खुलस्त पारेको भेटिन्छ । आफू शिक्षाक्षेत्रसँग सम्बन्धित भएकाले निबन्धकार शर्माले ‘मम्मी म स्कुल जान्नँ’, ‘कफी सपको पाठशाला’, ‘कि पढेर जानिन्छ कि परेर’, ‘के तपाईं शिक्षक हो मान्यवर ?’ जस्ता निबन्धमार्फत नेपालको शिक्षापद्धतिप्रति पनि चिन्तन प्रस्तुत गर्न भ्याएका छन् । जीवन जिउने क्रममा जेजति घटनाबाट अनुभूति, अनुभूतिबाट बन्न पुगेका अनुभव, शिक्षासँगको सङ्गतबाट प्राप्त चेतना र चेतनाको सुझबुझबाट प्राप्त ज्ञानलाई उनले ‘डाक्टर छोरालाई बाबुको पत्र’ निबन्धमा सविस्तार पस्केका छन् ।
आफ्नो चिन्तन गर्ने स्वभावलाई समयको उपयोगसँगै उनले ससाना विषयवस्तुलाई पनि क्षणिकी नाम दिई निबन्धको छिन्द्रवेषीका रूपमा ‘मनको बिगुल’, ‘विश्रान्ति’ नामका रचना यहाँ समाविष्ट गरेका छन् ।
यहाँ समाविष्ट सम्पूर्ण निबन्धहरूलाई विचार गर्दा जीवनजगत्, विज्ञान, सामाजिक स्वरूप, शिक्षाजगत् जस्ता विविध विषयवस्तुमा निबन्धकारले निम्न पक्षहरू खोतलेको दृष्टिगोचर हुन्छ – समकालीन नेपाली समाज, समकालीन नेपाली मानसिक धरातल, परम्परादेखि चल्दै आएको सामाजिक प्रवृत्ति, सांस्कृतिक चेतको पतनोन्मुख स्थिति, परम्परा र आधुनिकताबीचको द्वन्द्व, समकालीन बिब्ल्याँटाहरूप्रतिको चिन्तन ।
सर्जकका दृष्टिले यस्ता पक्षहरूप्रतिको जाँचपडताल लेखकीय धर्म पनि हो । यहाँ उठान गरिएका कतिपय सन्दर्भहरूमा पाठकलाई अन्य कोणबाट पनि चिन्तन गर्न बाटाहरू खुला छाडिदिने प्रवृत्ति अँगालिएको पाइन्छ । निबन्धकार शर्माको शिविरबाट निस्केका शब्दहरूले रहरैरहरको घररूपी निबन्ध मात्र खडा गरेका छैनन्, न्यायपूर्ण एवं समतामूलक समाजको चाहनालाई पनि व्यक्त गरेका छन् ।
कृति : शब्दशिविर
विधा : निबन्ध सङ्ग्रह
निबन्धकार : मुकुन्दराज शर्मा
प्रकाशक : कामना न्यूज पब्लिकेशन प्रा.लि.
प्रकाशन : २०७९
पृष्ठ : २१२
मूल्य : ४००।–