लक्ष्मी तिमिल्सेना
जमुनाह, कात्तिक २ गते । राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती आइतबार नेपालगन्जमा मनाइएको छ । सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको आयोजनामा र योग समिति नेपाल तथा पतञ्जली योग समितिको सहकार्यमा राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती मनाइएको हो ।
पछिल्लो समय समुदायमा नसर्ने रोगको प्रकोप बढ्दै जाँदा आयुर्वेद र आयुर्वेदको महत्त्व बढ्दै गएको कार्यक्रमका सहभागीले जोड दिएका थिए । राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती–२०८२ को अवसरमा समाजमा नसर्ने रोगको उपचार र निदानमा आयुर्वेदको अतुलनिय योगदान रहेको चर्चा गरिएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेका प्रमुख डा. आलोककुमार पाण्डेले पछिल्लो तथ्याङ्क अनुसार ७० प्रतिशत मृत्युको कारण नसर्ने रोग भएको पाइएको उल्लेख गर्दै यसको उपचार योग र आयुर्वेदबाट मात्र संभव हुने कुरामा जोड दिनुभयो ।
नेपालगन्ज उपमहानगर आयुर्वेद शाखा प्रमुख डा. सुरेश पुनले आयुर्वेद उपचार पद्धतीमा योग र ध्यानका माध्यामबाट उपचार गरिँदा नसर्ने रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, बाथ, मृगौलालगायतका रोगमा उपचार संभव भएकोले यसको बारेमा जनचेतना जनस्तरसम्म पुराउन आवश्यक रहेको औँल्याउनुभयो ।
आयुर्वेदमा व्यक्तिको स्वास्थ्य रक्षा गरी रोगको निवारण गर्ने मुख्य उदेश्य भएकोले पनि यसको महत्त्व बढ्दो रहेको नेपालगन्ज सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा कार्यरत डा. शिवराज सुवेदीले बताउनुभयो।
बाँकेमा एक वर्षमा करिब ९० हजारले आयुर्वेद सेवा लिनुभएको पाइएको छ । धनवन्तरी दिवसको अवसरमा आयुर्वेदको उपदेयिता जनस्तरसम्म पुराउन सके नसर्ने रोग निराकरण गर्न सजिलो हुने दाबी गरिएको छ ।