• २ कात्तिक २०८२, आइतबार

प्लास्टिकका मालाले भरिए दैलेख बजार

blog

तिहारका लागि दैलेख बजारको गणेश चोकको पसलमा बिक्री वितरणका लागी राखिएको प्लास्टिकका माला र भाइ मसला । तस्बिर : कमल शर्मा

कमल शर्मा

दैलेख, कात्तिक २ गते । दैलेखमा मुख्य बजारदेखि स्थानीय बजारमा प्लास्टिकले बनेका मालाको बिक्री बढेको छ । प्रशासनले प्रतिबन्ध लगाएको प्लास्टिकको माला जिल्ला सदरमुकाम दैलेख बजार, बेस्तडा, नौमुले, गैडाबाज, राकमकर्णाली, ठाटिकाँध लगायतका बजारमा बिक्री वितरण हुँदै आएको छ ।

जिल्लाका अधिकांश बजारमा गोदावरी, सयपत्री र मखमली फूलका मालाको साटो कृत्रिम प्लास्टिकको मालाले भरिएको हो । केही वर्षअघि जिल्लाका केही स्थानमा मात्र प्लास्टिकका कृत्रिम माला देखिने गरे पनि अहिले प्रत्येक मुख्य बजार देखी स्थानीय बजार सम्म प्लास्टिकका मालाको बिक्री वितरण हुने गरेको छ । 

पछिल्लो समय अधिकांश मानिसले घरमा फूल लगाउन (रोप्न) छाडेकाले पनि भारतीय प्लास्टिकका मालाको प्रभाव बढेको दैलेख बजारका व्यवसायी महेन्द्र राजपूतले बताउनुभयो । उहाँले आफूहरूले नेपालगन्जबाट मालाहरू ल्याएर बिक्री गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, अहिले दैनिक पाँच हजार देखी १० हजार सम्म प्लास्टिकका मालाहरू बिक्री वितरण भइरहेको छ । 

नारायण नगरपालिका–६ का गणेशकुमार बिसीले पहिले गाउँमा हरेकको घरमा मखमली, गोदावरी र सयपत्री फूल लगाउने गरेपछि पछिल्लो समय पुल लगाउने प्रचलन नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, अहिले धेरै मानिस सहरमा बस्ने प्रचलन बढ्यो, यसले प्लास्टिकका माला प्रयोग गर्ने प्रचलन बढेको छ ।

यसैगरी, अर्का स्थानीय पूर्ण थापाले गाउँघरमा पाइने फूलका मालालाई सुरक्षित राख्न असहज हुने भएकाले पनि प्लास्टिकका माला प्रयोगकर्ता बढेको बताउनुभयो । उहाँले भन्नुभयो, मखमली र सयपत्री फूलका माला नै पाइँदैन, भएका पनि सुरक्षित राख्न पनि गाह्रो छ । भारतीय नाकाबाट भित्रिएका प्लास्टिकका प्रतिमाला २५–३० रुपियाँदेखि दुई, तीन सयसम्ममा बिक्री हुने गरेको छ । तर यसले स्वास्थ्यमा पार्ने असरका बारेमा भने प्रयोगकर्ता अनभिज्ञ छन् । 

प्लास्टिकको माला देखिँदा आकर्षक भए पनि यसको माला लगाउँदा स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने कतिपयको बुझाइ छ । दैलेखको डुगेश्वर गाउँपालिका–६ का पुष्प व्यवसायी दीपेन्द्र गोदारले अघिल्लो वर्षदेखि फुलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । उहाँले फूलको खेती गरे पनि बजारमा भने अनुसार पुर्‍याउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, फूलको खेती गर्ने व्यवसायी नै नभएका कारण पनि बजारमा प्लास्टिकका माला बजारमा आउने गरेको छ। 

जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत गणेशबहादुर शाहले बजारमा प्लास्टिकका माला बिक्री वितरण गर्न नपाइने निर्णय भइसकेको हुँदा प्लास्टिकका मालाहरू जफत गरिने बताउनुभयो । उहाँले अहिले पनि बजार अनुगमन गरिएको बताउँदै सबै मालाहरू जफत गर्ने बताउनुभयो ।