• २ कात्तिक २०८२, आइतबार

तीन सय ७७ प्रहरी सहायक निरीक्षक दीक्षित

blog

चितवनको भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा प्रहरी सहायक निरीक्षक आधारभूत तालिम (२–१७९) को दीक्षान्त समारोहमा आइतबार दीक्षान्त कवाज प्रस्तुत गर्दै प्रहरी सहायक निरीक्षकहरू । तस्बिर : सनद अधिकारी/रासस

चितवन, कात्तिक २ गते । नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन् । प्रहरी सहायक निरीक्षक आधारभूत तालिम (२-१७९)औँ समूहलाई प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले आज एक कार्यक्रमबिच दीक्षित गर्नुभएको हो ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले प्रहरी सङ्गठनको गरिमा बढाउँदै कर्तव्य निष्ठ भएर काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “सङ्गठनको गरिमालाई जोगाउँदै तालिममा सिकेका विषयलाई पालन गरी कर्तव्यमा लाग्न निर्देशन गर्दछु ।” जनतासँग प्रत्यक्ष काम गर्नुपर्ने भएकाले सङ्गठनप्रति इमानदार हुँदै काम गर्नुपर्ने उहाँले बताउनुभयो । 

प्रहरीको उपस्थिति र इमानदारिताले मात्र पनि आमनागरिकले सुरक्षाको प्रत्याभूति गर्ने भन्दै प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरीको उपस्थितिलाई निश्चित समयको बसाइभन्दा पनि एक अवसरका रूपमा लिन आग्रह गर्नुभयो । प्रहरीको कर्म र धर्म नै नागरिकको सेवा हो भन्दै उहाँले देशका दुई हजार ६६० वटा युनिटमार्फत अभिछिन्न सेवा दिँदै आएको प्रहरी समाजका हरेक घटनाको पहिलो जवाफदेही भएकाले सोहीअनुसार काम गर्न उहाँले आग्रहसमेत गर्नुभयो ।

दीक्षान्त समारोहमा दीक्षित भएका विसं २०८१ मङ्सिर ७ गतेदेखि तालिममा सहभागी भएका थिए । ५३ जना महिलासहित ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका हुन् । 

कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसी, शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्री, प्रहरी नायब उपरीक्षक अर्जुन केसीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । दीक्षान्त समारोहमा दीक्षित भएका परिवारका सदस्यको उपस्थिति थियो । रासस