• १७ माघ २०७९, मङ्गलबार

बिहेमा बाजा बजाउन भ्याइनभ्याइ

blog

काठमाडौँ, मङ्सिर १४ गते । विवाहको लगनगाँठो जोड्ने महिना हो मङ्सिर । यो महिनामा विवाहमा व्यस्त हुनेहरू बाजाको तालमा ननाच्ने कमै होलान् । विवाहको महिनामा बाजा त हुनैप-यो । ‘झ्याइँ.. झ्याइँं’को तालमा ताल दिँदै सहनाईको सुरिलो लय त्यसपछि ढोलकी, ट्याम्कोे, दमाहा, नरसिङ्गालगायतका बाजा बजाउँदै गरेका समूह देख्दा माहोल नै रमणीय हुन्छ ।

त्यसैले पनि होला पन्चै वा नौमती बाजा बजाउने समूहलाई यो सिजनमा भ्याइनभ्याइ छ, त्यसमाथि महिला पन्चै बाजा बजाउने समूहलाई त धेरै अगाडिदेखि बुकिङ गर्नुपर्छ । 

नेपाली समाजमा प्रायः बाजा बजाउने पेसामा पुरुष नै अगाडि देखिन्छन् । त्यसमाथि पनि प्रायः दलित समुदाय र त्यसमा पनि दमाई जातिको नै वर्चस्व छ ।

महिला बाजा समूहका अध्यक्ष जानुका पौडेलले भन्नुभयो, “केही आर्थिक उपार्जन गरी आत्मनिर्भर हुने विकल्पको खोजीमा बाजा बजाउन सुरु गरेका हौँ, अहिले यही कामको चापले भ्याइनभ्याइ छ, ३५ देखि ४८ वर्षसम्मका महिलाको बाजा बजाउने यो समूहमा ब्राह्मण, क्षेत्री, नेवार, तामाङ जातिमा महिला सम्मिलित छन् ।”

पौडेलका अनुसार ११/११ जनाको दुईवटा समूह छन्, यसले नभ्याएर अब देशैभर शाखा खोल्नुपर्ने अवस्था आएको छ । विवाहमा बाजा बजाउन नयाँ–नयाँ घरमा जाँदा महिलाले बाजा बजाएको देखेर अधिकांश मानिसले अनौठो मान्ने र खुसी हुने गरेको उहाँले बताउनुभयो । “बाजा बजाउने निम्ता आउँदा हामीलाई पनि आफ्नो तयारी गर्न खुब रमाइलो लाग्छ,” सहनाई बोकेर बस्नुभएकी इन्दिरा श्रेष्ठले भन्नुभयो, “घर परिवारबाट राम्रो सहयोग पाएकाले बाजा बजाउन सक्ने भएका छौँ ।”

“पहिला–पहिला महिलाले बाजा छुन पनि हुँदैन भन्थे,” गोरखाकी ज्ञानु बरालले बीचैमा कुरा काट्दै भन्नुभयो, “अहिले त हामीले बजाएको बाजाले सबैलाई मोहित बनाएका छौँ ।”

“आर्थिक उपार्जन गर्ने सोचले बाजा बजाउने अभियान थाल्दा प्रायःले मादकपदार्थ सेवन गरेर जिउ तताएपछि मात्रै बज्छ पनि भन्थे तर होइन रहेछ, पानीको बलमा पनि बजाउन सकिँदो रहेछ,” पौडेलले भन्नुभयो, “महिला भएकाले बल पुग्दैन भन्ने पनि थिए । हामीले गरेर देखाइदियौँ, अलिकता मेहनत ग¥यो भने सकिने रहेछ ।”

विवाहमा सबैभन्दा धेरै मङ्गल धुनको प्रयोग हुने गर्छ । सो समूहका सहनाई बजाउँदै गर्नुभएकी गीता थापाले भन्नुभयो, “बेहुलाको घरमा जानेबित्तिकै मङ्गल धुन, दुलाहा निकाल्ने बेलामा, दुलहीको घरमा पुगेपछि, सिन्दूर हाल्ने, गोडा धुने, कन्यादान गर्ने बेलामा र दुलही अन्माउँदा, भिœयाउँदा मङ्गल धुन बढी प्रयोग हुन्छ । अनि बिदाइ गर्ने बेलामा ख्याली, झ्याली, नरसिङ्गा, ढोलकी र सहनाई नै प्रयोग हुन्छ ।”

पन्चै बाजा, नौमती बाजामा के के ?

सहनाई : मुखले फुकेर बजाइने सहनाई पन्चै बाजामध्ये मुख्य स्वर बाजा हो । सहनाईलाई कतै सनही, सनई, सनाई र सहनै पनि भन्ने गरिन्छ । मानिसलाई हँसाउने, रुवाउने, नचाउने गरी सहनाईमा लोक धुनदेखि शास्त्रीय सङ्गीतसम्म बजाउन सकिन्छ । पन्चै बाजा बजाउन सिकाउँदै आउनुभएका रविन नेपाली भन्नुहुन्छ, “पुरानो चलनअनुसार विवाहमा चेलीको बिदाइमा सहनाईको विशेष भूमिका हुन्छ । माइती पक्षले छोरी अन्माएर दिनु विवाहको सबैभन्दा मार्मिक क्षण हो ।”

ढोलकी : पन्चै बाजामा संयोजन गरिने ढोलकी ढोल बाजा समूहको ताल वाद्य हो । आआफ्नो जाति वा समूहमा ढोल बाजाका बोल र बजाउने प्रक्रिया बेग्लै हुन्छन् । दुईमुखे ढोलकीलाई पन्चै बाजामा एकापट्टि गँजाले हानेर र अर्कोपट्टि बायाँ हातले ताल दिएर बजाइन्छ । नेपालीले भन्नुभयो, “पन्चै बाजा बज्दा ढोलकीको तालले मानिसलाई नाच्न प्रेरित गर्छ ।”

झ्याली : पन्चै बाजामा अर्को सहायक ताल बाजा हो, झ्याली । काँसबाट बनेको झ्यालीलाई विभिन्न आकार प्रकारमा विभिन्न जाति समुदायले बजाउँदै आएका छन् ।

दमाहा : पन्चै बाजामा चौथो आबद्ध तालबाजा हो, दमाहा । तामालाई छालाले मोडेर बनाइने यो बाजालाई एउटा गँजाले बजाइन्छ भने बजाउनुभन्दा एक दिनअघि पानी 

हालेर भिजाइन्छ । हिन्दु धर्मशास्त्र र साहित्यमा युद्धको प्रसङ्ग आएसँगै ‘दुन्दुभि’ बजेको चर्चा आउँछ । रामशरण दर्नालको पुस्तक ‘नेपाली सङ्गीत–संस्कृति’अनुसार नगराकै सानो स्वरूप दमाहा फारसी शब्दबाट आएको हो । दमाहाले पन्चै बाजाको ताललाई बलियो बनाउँछ ।

ट्याम्को : पन्चै बाजाको सबैभन्दा कान्छो र सानो सहायक बाजाको नाम हो, ट्याम्को । घाँटीमा झुन्ड्याएर दुई गँजाले बजाइने ट्याम्कोले तिखो स्वरमा ताललाई निरन्तरता दिन्छ ।

कर्णाल र नरसिङ्गा : धातुले बनेको कर्णाल/कर्नाल प्राचीन वाद्यमध्ये एक हो । यसलाई पहिले खासगरी विजयोत्सवमा बजाइन्थ्यो । विवाहका बेला बाटोमा अर्को जन्तीसँग जम्काभेट हुँदा कर्णाल र नरसिङ्गाले आआफ्नो बोलद्वारा परिचय दिने गरिन्छ ।